रास्वपाको अधिवेशनमा कुटाकुट, नचिनेकी र अर्कै पार्टीको संगठन हाँकिरहेकी युवती वडा सभापति
काठमाडौँ– ‘जान्नेलाई छान्ने’ नारासहित पुराना दलको विकृति, भागबण्डा र गुटबन्दीविरुद्ध जन्मिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यतिबेला आफ्नै घोषणापत्रको ऐनामा उभिएको छ। जिल्ला अधिवेशन चलिरहेका बेला एकातिर प्रतिनिधि छनोटको विवादमा कार्यकर्ताहरू हेलमेट बोकेर एकअर्कामाथि जाइलागेका छन् भने अर्कोतिर आफूलाई थाहै नदिई एक युवतीलाई वडा सभापति बनाइएको घटना सार्वजनिक भएको छ।
पार्टीभित्र देखिएका यी दृश्यले एउटा गम्भीर प्रश्न उठाएको छ—रास्वपा वास्तवमै नयाँ राजनीतिक संस्कृतिको वाहक हो कि पुरानै रोगको नयाँ प्याकेज ? पर्सामा शनिबार भएको घटनाले रास्वपाको आन्तरिक अवस्था सार्वजनिक रूपमा उदाङ्गो बनाइदिएको छ। जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा प्रतिनिधि छनोटलाई लिएर चर्किएको विवाद अन्ततः कुटाकुटमा परिणत भयो।
वीरगन्जस्थित गेटवे होटलमा निर्वाचन प्रक्रिया चलिरहेका बेला दुई पक्षबीच विवाद बढ्दै जाँदा कार्यकर्ताहरू हात हालाहालमा उत्रिए। प्रत्यक्षदर्शीका अनुसार विवाद यति चर्कियो कि होटलभित्र सुरु भएको झडप सडकसम्म फैलियो। केहीले हेलमेटसमेत प्रहार गरेका थिए। स्थिति नियन्त्रणबाहिर जान थालेपछि प्रहरीले हस्तक्षेप गर्दै लाठीचार्जसमेत गर्नुपरेको थियो।
घटनामा महादेवप्रसाद कुर्मी, गौतम श्रेष्ठसहित केही कार्यकर्ता घाइते भए। विवादको जरो प्रतिनिधि छनोटमा थियो। असन्तुष्ट पक्षले जिल्ला सभापति तथा पर्सा–१ का सांसद हरि पन्त निकट समूहले पार्टीको विधान र पद्धति मिचेर आफू अनुकूल व्यक्तिलाई मात्र प्रतिनिधि बनाएको आरोप लगाएको छ। उनीहरूले अधिवेशन स्थगित गर्न माग गर्दै निर्वाचन समितिलाई ज्ञापनपत्रसमेत बुझाएका थिए।
तर विवाद केवल पर्सामा सीमित छैन। पार्टीको महाधिवेशन नजिकिँदै जाँदा देशका विभिन्न जिल्लाबाट आएका तस्वीर र भिडियोहरूले रास्वपाभित्र गुटगत टकराव तीव्र बनेको संकेत दिएका छन्। सुनसरी, बारा र अन्य जिल्लामा पनि नेतृत्व चयनलाई लिएर विवाद चर्किएको चर्चा छ।
विशेष गरी पार्टीभित्र सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र साह (बालेन) निकट मानिने समूहबीच शक्ति संघर्ष बढ्दै गएको विश्लेषण भइरहेका बेला पर्साको घटना सार्वजनिक भएको हो। पुराना दलमाथि गुटबन्दी, भागबण्डा, हिंसा र आन्तरिक अराजकताको आरोप लगाउँदै आएको रास्वपा अहिले आफैं त्यही आरोपको घेरामा परेको देखिन्छ।
तर पर्साको कुटाकुटभन्दा पनि जाजरकोटबाट सार्वजनिक भएको अर्को घटनाले पार्टी संगठन निर्माण प्रक्रियामाथि थप गम्भीर प्रश्न खडा गरेको छ। बारेकोट गाउँपालिका–३ की तारा सेन्चुरीलाई केही दिनअघि एक नेताले फोन गरेर बधाई दिइन्। कारण थियो—उनी रास्वपाको वडा सभापति बनेकी रहिछन्।
तर समस्या के थियो भने तारा स्वयंलाई आफू वडा सभापति बनेको थाहा नै थिएन। पेशाले विद्यार्थी रहेकी तारा नेकपा निकट अनेरास्ववियु (क्रान्तिकारी) की सचिव हुन्। उनले आफू रास्वपासँग कुनै सम्बन्ध नरहेको, न त त्यस्तो इच्छा नै रहेको स्पष्ट पारेकी छन्।
सामाजिक सञ्जालमा बधाई आउन थालेपछि मात्रै आफ्नो नाम रास्वपाको वडा सभापतिमा राखिएको थाहा पाएकी उनले पार्टी नेतृत्वलाई लिखित पत्र नै पठाएकी छन्। उनले आफ्नो अनुमतिबिना नाम प्रयोग गर्ने व्यक्तिमाथि कारबाहीको माग गर्दै आवश्यक परे कानुनी बाटो अपनाउने चेतावनीसमेत दिएकी छन्।
यो घटनाले रास्वपाको संगठन निर्माण प्रक्रिया, सदस्यता व्यवस्थापन र आन्तरिक अभिलेख प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ। किनकि कुनै व्यक्तिलाई जानकारी नै नदिई पार्टीको जिम्मेवारीमा राखिनु सामान्य प्रशासनिक त्रुटि मात्र होइन, राजनीतिक रूपमा पनि संवेदनशील विषय हो। यता पार्टीले भने घटनाबारे आन्तरिक छानबिन भइरहेको जनाएको छ।
तर आलोचकहरू भन्छन्, समस्या एउटा नाम गलत पर्यो वा एउटा जिल्लामा कुटाकुट भयो भन्ने मात्र होइन। समस्या त्यो पार्टीभित्र देखिएको प्रवृत्तिको हो, जसले आफूलाई वैकल्पिक राजनीति र नयाँ संस्कृतिको प्रतीक दाबी गर्दै आएको थियो। रास्वपाले स्थापना कालदेखि नै ‘जान्नेलाई छान्ने’ नारा अघि सारेको थियो। तर अहिले उठेका प्रश्न फरक छन—जान्नेलाई छानिएको हो कि चिनेकालाई ? पद्धति स्थापित गरिएको हो कि गुट ?
अधिवेशनको संघारमा देखिएका हेलमेट प्रहार, प्रतिनिधि विवाद, आरोप–प्रत्यारोप र थाहै नदिई पद बाँडिएका घटनाले रास्वपाको सबैभन्दा ठूलो चुनौती बाहिरका प्रतिद्वन्द्वी होइन, आफ्नै संगठनभित्र रहेको देखाइदिएको छ। नयाँ राजनीतिक शक्तिको असली परीक्षा चुनाव जित्नुमा होइन, आफूले अरूलाई सिकाएको मूल्य आफैंले पालना गर्न सक्नुमा हुन्छ। रास्वपा अहिले त्यही परीक्षाको कठिन मोडमा उभिएको छ।
