घर फर्किने सपना एथेन्स ट्रान्जिटमै टुट्योः राजकुमारको मृत्युसँगै ढल्यो दुई छोरीको भविष्य र परिवारको आधारस्तम्भ
काठमाडौँ— नौ महिनाअघि परिवारको भविष्य सजाउने सपना बोकेर युरोप पुगेका ओखलढुङ्गाका राजकुमार राई अन्ततः जीवित होइन, शव बनेर नेपाल फर्किदैछन्। श्रीमती, दुई छोरी र परिवारसँग पुनर्मिलनको आशामा नेपाल फर्कने यात्रामा निस्किएका राईको ग्रिसको एथेन्स अन्तर्राष्ट्रिय विमानस्थलको ट्रान्जिटमै मृत्यु भयो। अब उनको शव मंगलबार कतार एयरवेजमार्फत नेपाल पठाइएको छ।
ओखलढुङ्गाको मोलुङ गाउँपालिका–८ स्थायी घर भई ललितपुरको गोदावरी नगरपालिका–१४, ठैवमा अस्थायी बसोबास गर्दै आएका ३७ वर्षीय राईको मे १६ मा एथेन्स विमानस्थलमा मृत्यु भएको थियो। चेक रिपब्लिकबाट एथेन्स हुँदै मे १७ मा नेपाल आइपुग्ने उनको टिकट थियो। तर परिवारले विमानस्थलमा स्वागत गर्न पाउने आशा राखेका व्यक्ति अन्ततः शव बनेर फर्किदैछन्।
घटनाको विवरण झन् दर्दनाक छ। एथेन्स अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान क्षेत्र नजिक रहेको शौचालयमा एक सफाइ कर्मचारीले राईलाई बेहोस अवस्थामा फेला पारेका थिए। त्यसपछि प्रहरीलाई खबर गरियो। घटनास्थलमा पुगेको आपतकालीन चिकित्सा टोलीले स्वास्थ्य परीक्षण गरेपछि उनलाई मृत घोषणा गरेको थियो।
ग्रिससमेत कार्यक्षेत्र रहेको अस्ट्रियास्थित नेपाली दूतावासका प्रथम सचिव अनिल लम्सालले राईको मृत्यु पुष्टि गर्दै शव नेपाल पठाउने प्रक्रिया पूरा गरिएको जानकारी दिएका छन्। उनका अनुसार शव कतारको दोहा हुँदै बुधबार अपराह्न काठमाडौं आइपुग्ने तालिका छ र त्यसबारे परिवारलाई जानकारी गराइसकिएको छ।
राईको मृत्यु भएको खबर सार्वजनिक भएपछि परिवार लामो समयसम्म अन्योलमा थियो।
‘वाइफाइ जोडेर फोन गर्छु’ भनेका पति कहिल्यै फर्किएनन्
नेपालमा रहेकी उनकी श्रीमती भावना नेपाल राई अझै पनि त्यो अन्तिम संवाद सम्झेर भावविह्वल छिन्। उनका अनुसार एथेन्स पुग्नुअघि पटक–पटक श्रीमानसँग फोन सम्पर्क भएको थियो। ट्रान्जिटमा पुगेपछि वाइफाइ जोडेर फेरि फोन गर्ने आश्वासन दिएका राजकुमार त्यसपछि कहिल्यै सम्पर्कमा आएनन्।
‘एअरपोर्ट पुगुन्जेल धेरै पटक कुरा भएको थियो। उहाँले ग्रिस पुगेपछि वाइफाइ जोडेर फोन गर्छु भन्नुभएको थियो। त्यसपछि फोन नै लागेन। अहिले यस्तो खबर सुन्नुपर्ला भन्ने कल्पना पनि गरेको थिइनँ,’ उनले भनेकी थिइन्। भावनाका लागि यो केवल श्रीमानको मृत्यु होइन, दुई साना छोरीको भविष्य र परिवारको आधारस्तम्भ नै एकाएक ढलेको पीडा हो। राजकुमारका १२ वर्षीया र ४ वर्षीया दुई छोरी छन्।
रोजगारीको सपना, अवैधानिक श्रम र दुखद अन्त्य
राजकुमार २०२४ डिसेम्बर १४ मा रोजगारीको सिलसिलामा नेपालबाट रोमानिया पुगेका थिए। तर उनले अपेक्षा गरेको काम र पारिश्रमिक नपाएपछि केही समयपछि चेक रिपब्लिक पुगेका थिए।
परिवार र आफन्तका अनुसार मेनपावर कम्पनीले दिएको आश्वासन र वास्तविक अवस्थाबीच ठूलो अन्तर थियो। रोमानियामा परिस्थितिले निराश बनाएपछि उनी राम्रो अवसरको खोजीमा चेक रिपब्लिक पुगे। तर त्यहाँ उनको बसाइ कानुन विपरित थियो।
अवैधानिक रूपमा काम गरिरहेका राईलाई स्थानीय प्रशासनले नियन्त्रणमा लिएपछि नेपाल फर्किने प्रक्रिया सुरु भएको थियो। अन्ततः घर फर्किने यात्रामा निस्किएका उनी नेपालको भूमिमा पाइला टेक्नुअघि नै संसारबाट बिदा भए।
शव फर्कियो, तर प्रश्न अझै बाँकी छन्
राजकुमारको शव एक महिनापछि नेपाल पठाइएको छ। तर राजकुमारको मृत्युले फेरि एकपटक वैदेशिक रोजगारीको कठोर यथार्थ उजागर गरेको छ। राम्रो भविष्यको सपना बोकेर विदेश जाने हजारौँ नेपालीमध्ये कतिपय कानुनी जटिलता, श्रम शोषण, असुरक्षित काम र मानसिक तनावको चक्रमा फस्ने गरेका छन्।
राजकुमार राईको मृत्युको अन्तिम कारण पोस्टमार्टम प्रतिवेदनले जे दखाएपनि उनको जीवनकथा भने एउटा ठूलो सामाजिक प्रश्न छोडेर गएको छ— विदेश जाने नेपालीहरूलाई सपनाको नाममा कस्तो यात्रामा पठाइँदैछ? घर फर्किने टिकट काटेका एक श्रमिक अन्ततः आफ्ना प्रियजनलाई भेट्न होइन, काठको बाकसमा बन्द भएर नेपाल फर्किरहेका छन्। र त्यो दृश्यले फेरि सम्झाइदिएको छ— वैदेशिक रोजगारीका चम्किला कथाभित्र कति अन्धकार लुकेको हुन्छ।
