दुर्घटना गराउने ट्याक्टर बचाउन पूर्वप्रदेश सांसदद्वारा प्रहरीमाथि आक्रमणः भाञ्जा र भतिज पक्राउ
जनकपुर– सर्लाहीमा ट्रकलाई ठक्कर दिएको ट्याक्टरलाई नियन्त्रणमा लिएर कारवाही गर्न खोज्दा प्रहरीमाथि आक्रमण भएको घट्नामा मधेस प्रदेशका पूर्वप्रदेश सांसद अशोककुमार यादव मुछिएका छन्।
प्रहरीका अनुसार दुर्घटनापछि घटनास्थलमा पुगेका यादव नेतृत्वको समूहले प्रहरीलाई घेराउ गर्दै गालीगलौज र दुव्र्यवहार गर्दै नियन्त्रणमा रहेको ट्याक्टरसमेत भगाएको छ। घटनापछि यादव फरार छन् भने उनी निकट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
सर्लाही प्रहरीका अनुसार जेठ २५ गते राति करिब ९ बजेतिर कविलासी नगरपालिका–८ अगर्वामा रोकेर राखिएको ना.६ ख. ७६२३ नम्बरको ट्रकलाई ज.१ त. २५५० नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो। दुर्घटनापछि भाग्न खोजेको ट्याक्टरलाई प्रहरी टोलीले रोकेर दुवै पक्षबीच छलफलमार्फत समस्या समाधान गर्ने वा आवश्यक परे कानुनी प्रक्रियामा जाने प्रस्ताव गरेको थियो।
तर ट्याक्टर चालकले ट्याक्टरका मालिक तथा पूर्वप्रदेश सांसद यादवलाई खबर गरेपछि घट्नाले अप्रत्यासित मोड लिएको हो। केही समयमै यादव आफ्ना समर्थकसहित घटनास्थलमा पुगेको प्रहरीको भनाइ छ।
एसपी रवीन्द्र पौडेलका अनुसार घटनास्थलमा पुगेपछि यादवसँगै रहेका व्यक्तिहरूले प्रहरीलाई घेरेर दबाब सिर्जना गरेका थिए। प्रहरीको दाबीअनुसार उक्त समूहले प्रहरीमाथि तथानाम गालीगलौज गर्नुका साथै आक्रमणसमेत गरेको थियो। त्यसपछि नियन्त्रणमा रहेको ट्याक्टर घटनास्थलबाट भगाइएको आरोप छ।
एसपी पौडेलले पूर्वप्रदेश सांसद यादवविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको पुष्टि गरेका छन्। प्रहरीले उनलाई पक्राउ गर्ने प्रयास गरिरहेको भए पनि हालसम्म उनी सम्पर्कविहीन रहेको जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमा यादवका १९ वर्षीय भतिज विक्रमकुमार यादव र भारतीय नागरिक २१ वर्षीय प्रियाङ्शु यादव छन्। प्रियाङ्शु यादव पूर्वसांसदका भाञ्जा हुन्। दुवैविरुद्ध अभद्र व्यवहार कसुरमा म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
अशोककुमार यादव २०७४ सालको निर्वाचनमा मधेसी जनअधिकार फोरमको तर्फबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए। हाल उनी नेपाल कम्युनिस्ट पार्टीसँग आबद्ध रहेको बताइएको छ।
