भयावह बन्यो त्रिकोणात्मक प्रेमः भगाएर विवाह गरेकी प्रेमिकालाई फर्काएर लाने परिवारसँग बदला लिन प्रेमिकाकै हत्या

काठमाडौँ– जेठ २८ गते बाँकेको चिसापानी सामुदायिक वनभित्र एउटा युवतीको शव रूखको फेदमा भेटियो। सलले पछाडिबाट हात बाँधिएको थियो। यही एउटा दृश्यले युवतीको सामान्य मृत्यु होइन, हत्या–त्यो पनि योजनाबद्ध अपराधको संकेत पाउन प्रहरीलाई धेरै समय लागेन। तर प्रहरी अनुसन्धान अघि बढ्दै जाँदा यो घटनाले प्रेम र धोकाको भयावह रुप उजागर गर्‍यो।

प्रेम र धोकापछिको बदला र पूर्वनियोजित षड्यन्त्रको यो घट्नाको केन्द्रमा थिए– २६ वर्षीय अजय माउत। बाँकेको बैजनाथ गाउँपालिका–५ हिरमनियाका अजय एकै समयमा गाउँकै दुई युवतीसँग प्रेम सम्बन्धमा थिए। सम्बन्धको यही त्रिकोणीय सञ्जाल अन्ततः ०८२ असोज १५ गतेबाट अपराध यात्रातर्फ मोडियो।

अजयले १७ वर्षीया किशोरीलाई भगाएर लगे। केही समयपछि परिवारले ती किशोरी फेला पारेर घर फर्कायो। तर त्यसपछि यो घटनाले कानुनी मोड लियो— ०८२ मंसिर २८ गते इलाका प्रहरी कार्यालय कोहलपुरमा अजयविरुद्ध अपहरण तथा शरीर बन्धक र जबर्जस्ती करणी उद्योगको किटानी जाहेरी दर्ता भयो। त्यसपछि प्रहरीको नजरमा उनी फरार भए।

प्रहरीका अनुसार यही मुद्दाले अजयभित्र बदला र प्रतिशोधको बीउ रोप्यो। किशोरी आफनैँ इच्छाले गएको भए पनि आफूलाई झूठा आरोप लगाएर फसाइएको निष्कर्षमा पुगेका उनले कानुनी प्रतिरक्षा होइन, अपराधमार्फत बदला लिने बाटो रोजे। त्यसैबीच, उनकी अर्की प्रेमिका २० वर्षीया अवसना बानुले अजयले अर्की किशोरीसँग भागेको थाहा पाएपछि सम्बन्ध तोडिन् र पछि कैलालीमा विवाह गरिन्।

यता, अजय भने बास्तवमा फरार थिएनन्, उनी कोहलपुरमै लुकेर बसेका थिए। बाँके प्रहरीका एसपी अंगुर जिसीका अनुसार उनी कहिले नाइट बस चलाउने, कहिले पहिचान लुकाएर बस्ने गरेर प्रहरीको नजर छलिरहेका थिए। त्यहीबीच उनले सामाजिक सञ्जालमार्फत अवसनासँग पुनः सम्पर्क बढाए। प्रेम, भरोसा र पुराना सम्झनाको बहाना वहाना बनाएर फकाउने प्रयास गरे।

प्रहरी अनुसन्धानले देखाएको छ— यो सम्पर्क भावनात्मक पुनर्मिलन थिएन, योजनाबद्ध षड्यन्त्रको पहिलो चरण थियो। अजयले आफूविरुद्ध मुद्दा हाल्न भूमिका खेलेको ठानेका व्यक्तिहरू किशोरीका दाजु र उनका एक साथीलाई हत्या अभियोगमा फसाउने योजना तयार गरिसकेका थिए। उनीहरूको फेसबुक प्रोफाइलबाट तस्बिर निकालेर छपाइ समेत गरिएको थियो।

जेठ २३ गते अवसना कैलालीबाट बाँके पुगिन्। परिवारलाई माइती जान्छु भनेर हिँडेकी उनी माइतीघर पुगिनन्। अजयको कोठामा बसिन्। त्यसको दुई दिनपछि, जेठ २५ गते उनी सम्पर्कविहीन भइन्। त्यर, सम्पर्क विहिन हुन पूर्व नै उनले परिवारलाई फोन गरेर आफू अपहरणमा परेको बताएकी थिइन् र अजयले पहिलै तयार राखेका फोटासमेत पठाएकी थिइन। जसमा निर्दोष रहेका व्यक्तिहरूलाई अपराधीको रूपमा प्रस्तुत गरिएको थियो।

यस आधारमा प्रहरीले तत्काल तीन जनालाई नियन्त्रणमा लियो, तर अनुसन्धानपछि उनीहरू निर्दोष ठहरिए। यही बीच कल डिटेल रेकर्ड (सीडीआर) विश्लेषणले प्रहरीलाई अजयसम्म पु¥यायो। एक नम्बर बारम्बार सम्पर्कमा देखियो, र जेठ २६ गते सोही नम्बरमा सम्पर्क गर्दा अजयसँग जोडिएको पुष्टि भयो। लोकेसन ट्रयाकिङपछि साँझ उनलाई पक्राउ गरियो।

त्यसपछि घटनाले भयावह मोड लियो। जेठ २८ गते दिउँसो बाँकेको चिसापानी सामुदायिक वनभित्र अवसनाको शव फेला प¥यो। हात पछाडिबाट बाँधिएको, एकान्त जंगल, र घटनास्थलमा पर्सभित्र छापिएका फोटोहरु फेला परे। यी सबै दृष्यले योजनाबद्ध अपराधको संकेत गरिसकेका थियो।

प्रहरीले प्रारम्भमा अजयलाई नै शंका गरे पनि उनले उल्टै अन्य व्यक्तिहरूलाई हत्यामा दोषी देखाउने प्रयास गरे। तर लामो सोधपुछपछि उनले स्वीकार गरे— अवसनालाई घुम्न भन्दै जंगल पु¥याएर घाँटी थिचेर हत्या गरिएको थियो। हत्या पछि शवलाई ‘अपहरण र अन्य समूहको अपराध’ जस्तो देखाउने प्रयास गरिएको थियो।

एसपी जिसीका अनुसार अजयले बयानमा भनेका छन्, ‘मलाई मुद्दा हाल्ने र केटी खोसेर लैजानेहरूलाई हत्या अभियोगमा फसाएर जेल पठाउने योजना थियो। त्यसैका लागि मैले अवसनाको हत्या गरेको हुँ।’

प्रहरीका अनुसार अजयले हत्या गरेको करिब दुई घण्टाभित्रै उनी पक्राउ परिसकेका थिए, तर वास्तविकता त्यतिबेला बाहिर आएको थिएन। उनले दुई दिनसम्म अपराध लुकाएर प्रहरी अनुसन्धानलाई गलत दिशातर्फ मोड्ने प्रयास गरेका थिए।

अनुसन्धानले थप प्रमाण पनि भेट्टायो। जेठ २६ गते अजय अवसनासँग एउटै मोटरसाइकलमा चिसापानी जंगलतर्फ गएको सीसीटीभी र चेकपोस्ट अभिलेखबाट पुष्टि भयो। फर्किंदा उनी एक्लै थिए। यो घटनाले युवतीको हत्या मात्र होइन, प्रेम, प्रतिशोध र झूटा मुद्दाको डरबीच कसरी एक व्यक्तिले योजनाबद्ध हत्या गरेर निर्दोषलाई फसाउने प्रयास गर्न सक्छ भन्ने भयावह चित्र उजागर गरेको छ।

तर अन्ततः, जसलाई फसाउन खाडल खनिएको थियो, त्यसै खाडलमा अजय आफैँ परे। अजयविरुद्ध कर्तव्य ज्यान, अपहरण तथा शरीर बन्धक लगायतका मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट