मुख छोप्दा पराग्वेका खेलाडी मिगुएल अल्मिरोनलाई सिधै रातो कार्ड ! १० खेलाडीमै पनि पराग्वे विजयी

काठमाडौँ– विश्व फुटबलले शनिबार एउटा यस्तो दृश्य देख्यो, जसले खेलको नतिजाभन्दा बढी नियम र अनुशासनबारे बहस जन्मायो। पराग्वेले टर्कीलाई १–० ले पराजित गर्दै नकआउट चरण पुग्ने आशा जीवित राख्दा खेलको सबैभन्दा चर्चित क्षण भने मिगुएल अल्मिरोनको निष्कासन बन्यो।

समूह ‘डी’ अन्तर्गत क्यालिफोर्नियाको सान्टा क्लारामा भएको खेलको सुरुवात पराग्वेका लागि सपनाजस्तै रह्यो। खेल सुरु भएको मात्र ६५ सेकेन्डमा माटियस गालार्जाले बक्सबाहिरबाट गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएपछि पराग्वेले अग्रता लिएको थियो। जारी प्रतियोगिताकै सबैभन्दा छिटो गोल बनेको उक्त प्रहार अन्ततः खेलको निर्णायक गोल सावित भयो।

तर पहिलो हाफको इन्जुरी समयमा खेलले अप्रत्याशित मोड लियो। टर्कीका डिफेन्डर मर्ट मुल्डुरसँग भनाभन भइरहेका बेला पराग्वेका स्टार मिडफिल्डर मिगुएल अल्मिरोनले केही क्षणका लागि आफ्नो हातले मुख छोपे। मैदानमा सामान्य देखिएको त्यो गतिविधि नयाँ नियमअन्तर्गत गम्भीर उल्लङ्घन ठहरियो।

मुल्डुरले तत्काल रेफ्रीको ध्यानाकर्षण गराएपछि भिडियो असिस्टेन्ट रेफ्रीमार्फत घटना पुनः समीक्षा गरियो। त्यसपछि रेफ्री इभान बार्टोनले अल्मिरोनलाई सिधै रातो कार्ड देखाउँदै मैदानबाट बाहिर पठाए। मुख छोपेर विवादमा संलग्न भएको कारण सिधै निष्कासित हुने उनी प्रतियोगिताको पहिलो खेलाडी बने।

अल्मिरोन बाहिरिएसँगै दोस्रो हाफभर पराग्वे १० खेलाडीमा सीमित भयो। त्यसपछि टर्कीले लगातार आक्रमणको वर्षा ग¥यो। एकपछि अर्को अवसर सिर्जना भए पनि टर्कीका खेलाडीहरू निर्णायक क्षणमा चुके।

मुल्डुरको हेडर क्रसबार र पोस्ट दुवैमा ठोक्किएर फर्कियो भने मेरिह डेमिरल र क्यान उजुनका प्रयासलाई गोलकिपर ओर्लान्डो गिलले शानदार बचाउ गरे। वैकल्पिक खेलाडी डेनिज गुलले नजिकबाट पाएको सुनौलो अवसर पनि खेर फाले।

पहिलो खेलमा अस्ट्रेलियाविरुद्ध ३० र पराग्वेविरुद्ध ३२ प्रहार गरेको टर्कीले प्रतियोगितामा एउटा पनि गोल गर्न नसक्नु उसको सबैभन्दा ठूलो विफलता बन्यो। पर्याप्त अवसर सिर्जना गरे पनि फिनिसिङको कमजोरीले टर्कीलाई लगातार दोस्रो हार बेहोर्न बाध्य बनायो।

अन्तिम सिटी बज्दा स्कोरबोर्डमा पराग्वेको १–० को अग्रता यथावत् रह्यो। १० खेलाडीमा सीमित भएर पनि प्राप्त गरेको यो जितले पराग्वेको नकआउट यात्राको ढोका खुला राखेको छ। अब अन्तिम खेलमा अस्ट्रेलियालाई पराजित गर्न सके पराग्वे अन्तिम ३२ मा प्रवेश गर्नेछ।

उता लगातार दुई हारसँगै टर्कीको विश्वकप यात्रा समूह चरणमै टुंगिएको छ। तर यो खेलको चर्चा लामो समयसम्म नतिजाका कारण होइन, बरु एउटा नयाँ नियम र त्यसको पहिलो चर्चित सिकार बनेका मिगुएल अल्मिरोनका कारण हुने निश्चित देखिन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट