अभिषेक गिरी पक्राउ प्रकरणमा नयाँ खुलासाः कारागारभित्र उठेको पैसा तरकारीवालामार्फत गरिन्थ्यो असुली
विराटनगर– मोरङ कारागारका कैदीबन्दीबाट अवैध रूपमा रकम असुली गरेको आरोपमा पक्राउ परेका अभिषेक गिरी प्रकरणमा नयाँ तथ्य बाहिर आएको छ। प्रारम्भिक अनुसन्धानबाट गिरीले कारागारभित्र संकलन गरिएको नगद रकम बाहिर निकाल्न मेसका लागि तरकारी आपूर्ति गर्ने व्यक्तिहरूलाई माध्यम बनाएको आशंका गरिएको छ।
सुरक्षा निकायका अनुसार कारागारभित्र रहेका कैदीबन्दीबाट विभिन्न शीर्षकमा संकलन गरिएको रकम तरकारी लिएर भित्र–बाहिर गर्ने व्यक्तिमार्फत ओसारपसार हुने गरेको प्रारम्भिक प्रमाण फेला परेको छ। अनुसन्धानमा संलग्न एक उच्च सुरक्षा अधिकारीका अनुसार गिरीले मेसका लागि तरकारी पु¥याउने व्यक्तिहरूको सञ्जाल प्रयोग गरेर नगद रकम बाहिर पठाउने गरेको देखिएको छ। उनले कारागारभित्र उत्पादन हुने गलैँचा र मुडा बिक्रीबाट प्राप्त आम्दानीको विषयमा समेत सूक्ष्म अनुसन्धान भइरहेको जानकारी दिए।
यसै प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले तरकारी ओसारपसार गर्ने दुई जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मकेन्द्रकुमार मिश्रले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको पुष्टि गरे। अनुसन्धान प्रभावित हुन सक्ने भन्दै उनीहरूको परिचय सार्वजनिक गरिएको छैन।
प्रहरी अनुसन्धानका अनुसार गिरीमाथि कैदीबन्दीले पाउने सरकारी सुविधा तथा उनीहरूको श्रमबाट प्राप्त हुने आम्दानीसमेत जबरजस्ती असुली गर्ने गरेको आरोप छ। हाल मोरङ कारागारमा एक हजार ९२ पुरुष र १०७ महिला गरी कुल एक हजार १९९ कैदीबन्दी रहेका छन्। सरकारले प्रत्येक कैदीबन्दीलाई दैनिक ८० रुपैयाँका दरले भत्ता उपलब्ध गराउँदै आएको छ। यस आधारमा कारागारमा दैनिक करिब ९५ हजार ९२० रुपैयाँ बराबरको भत्ता वितरण हुने गरेको छ।
त्यसैगरी, सरकारले प्रत्येक कैदीबन्दीलाई जाडो र गर्मीका लागि वार्षिक २५–२५ सय रुपैयाँ गरी कुल पाँच हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था छ। कारागारभित्र करिब ५०० जना कैदीबन्दी मुडा बुन्ने र करिब १०० जना गलैँचा उत्पादन गर्ने काममा संलग्न रहेको सुरक्षा स्रोतले जनाएको छ। ती सामग्री बिक्रीबाट प्राप्त आम्दानी र सरकारी भत्तासमेत विभिन्न माध्यमबाट संकलन गरी बाहिर पठाइने गरेको आशंका अनुसन्धानको केन्द्रमा रहेको छ।
यसैबीच, अनुसन्धानको सिलसिलामा प्रहरीले कारागारका नाइके राकेश यादवसँग पनि बयान लिएको छ। कैदीबन्दीलाई अनुचित प्रभावमा पारेर रकम असुली गरिएको सूचनाका आधारमा शनिबार बिहान विराटनगर महानगरपालिका–८ मधुमारास्थित निवासबाट गिरीलाई नियन्त्रणमा लिइएको थियो।
प्रहरीले नाइके यादवलाई बयानका लागि जिल्ला प्रहरी कार्यालय ल्याएपछि कारागारभित्र केही समय तनावको अवस्था सिर्जना भएको थियो। कैदीबन्दीहरूले नाइकेको सरुवा गर्न खोजिएको भन्दै विरोध जनाएका थिए भने केही समय नाराबाजीसमेत गरेका थिए।
डीएसपी मिश्रका अनुसार पक्राउ परेका गिरीविरुद्ध अदालतबाट म्याद थप गरी विस्तृत अनुसन्धान अघि बढाइनेछ। अनुसन्धानका क्रममा कारागारभित्रको आर्थिक गतिविधि, कैदीबन्दीको श्रमबाट हुने आम्दानी, सरकारी सुविधा वितरण प्रक्रिया तथा बाह्य व्यक्तिसँगको सम्भावित आर्थिक सम्बन्धबारे समेत परीक्षण भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनासम्बन्धी थप तथ्य संकलन भइरहेकाले अनुसन्धानको निष्कर्ष आउन बाँकी छ। हालसम्म प्राप्त विवरण प्रारम्भिक अनुसन्धानमा आधारित रहेको र थप प्रमाणका आधारमा थप व्यक्तिहरू अनुसन्धानको दायरामा आउन सक्ने सम्भावना रहेको सुरक्षा स्रोतले जनाएको छ।

