किशोरीहरुलाई पठाएका अश्लिल म्यासेज सार्वजनिक भएपछि गायक चापागाईँ विवादमा
काठमाडौँ — नेपाली सांगीतिक क्षेत्रमा स्थापित नाममध्ये एक मानिने गायक सुजन चापागाईं यतिबेला विवादको केन्द्रमा छन्। तर, उनि आफ्नो गीतका कारण होइन, सामाजिक सञ्जालमा सार्वजनिक भएका केही अश्लिल र विवादास्पद च्याटका कारण चर्चाको केन्द्रमा तानिएका हुन्।
केही दिनअघिसम्म मञ्चमा हजारौं दर्शकको साथ पाइरहेका चापागाईं अहिले भने सामाजिक सञ्जालमा उठेका गम्भीर आरोपहरूको जवाफ दिन बाध्य बनेका छन्। टिकटक, इन्स्टाग्राम र रेडिटजस्ता प्लेटफर्महरूमा पछिल्ला दिनहरूमा चापागाईंसँग सम्बन्धित भनिएका विभिन्न स्क्रिनसट, भिडियो र दाबीहरू ब्यापक रूपमा भाईरल भईरहेका छन्।
ती सामग्रीहरूमा किशोरीहरूसँग गरिएको भनिएको निजी संवाद, दोहोरो अर्थ लाग्ने अभिव्यक्ति तथा अश्लील प्रकृतिका शब्दहरूको प्रयोग भएको दाबी गरिएको छ। आरोपहरू सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा व्यापक बहस सुरु भएको छ।
विवादको केन्द्रमा रहेको अर्को विषय इन्स्टाग्रामको ‘भ्यानिस मोड’ हो। यो यस्तो सुविधा हो जसमा पठाइएका सन्देशहरू हेरेपछि स्वतः मेटिन्छन्। सामाजिक सञ्जालमा केही प्रयोगकर्ताहरूले चापागाईंले यही सुविधा प्रयोग गरेर आफूसँग अनुचित संवाद गरेको आरोप लगाएका छन्। यद्यपि ती दाबीहरूको स्वतन्त्र पुष्टि भने सार्वजनिक रूपमा भएको छैन।
विवाद चर्किँदै गएपछि चापागाईंले फेसबुकमार्फत औपचारिक प्रतिक्रिया दिएका छन्। सार्वजनिक वक्तव्यमा उनले विगतमा आफू नजिक रहेका र आफूले पनि नजिक ठानेका केही व्यक्तिहरूसँग सन्देश आदानप्रदान भएको स्वीकार गरेका छन्। ती संवादका कारण उत्पन्न परिस्थितिप्रति दुःख व्यक्त गर्दै उनले माफीसमेत मागेका छन्।
तर उनले सामाजिक सञ्जालमा फैलिएका सबै सामग्रीको सत्यताबारे आफू अनभिज्ञ रहेको बताएका छन्। उनका अनुसार सार्वजनिक भएका सम्पूर्ण स्क्रिनसट, भिडियो वा सामग्रीहरू आफ्नो प्रत्यक्ष संलग्नतासँग सम्बन्धित छन् भन्ने निष्कर्षमा पुग्न नसकिने अवस्था छ।
चापागाईंले आफ्नो सामाजिक सञ्जाल एकाण्ट विभिन्न समयमा आफूले मात्र नभई सामाजिक सञ्जाल व्यवस्थापकहरूले पनि सञ्चालन गर्दै आएको बताएका छन्। त्यसै कारण कुनै चरणमा एकाउण्टको दुरुपयोग भएको हुन सक्ने आशंका उनले व्यक्त गरेका छन्। उनले यसलाई आफ्नो प्रारम्भिक अनुमान मात्र भएको उल्लेख गरेका छन्।
हाल सांगीतिक कार्यक्रमका लागि अस्ट्रेलियामा रहेका चापागाईंले विवादित सामग्री र गतिविधिलाई ‘अनैतिक तथा अनुचित’ भनेका छन्। साथै, घटनासम्बन्धी आवश्यक छानबिन प्रक्रिया सुरु गरिसकेको जानकारी दिँदै नेपाल फर्किएपछि कानुनी उपचारको बाटो अपनाउने बताएका छन्।
यो विवादले एउटा कलाकारको व्यक्तिगत आचरणबारे मात्र होइन, डिजिटल युगमा सामाजिक सञ्जाल, निजी संवाद र सार्वजनिक छविबीचको सम्बन्धबारे पनि प्रश्न उठाएको छ। विशेष गरी सार्वजनिक व्यक्तित्वहरूको अनलाइन व्यवहार, सामाजिक सञ्जालको जिम्मेवारीपूर्ण प्रयोग र डिजिटल प्रमाणको विश्वसनीयताबारे बहस पुनः चर्किएको छ।
यस्तै घटनाहरूमा अर्को महत्वपूर्ण पक्ष भनेको आरोप र प्रमाणबीचको सन्तुलन हो। सामाजिक सञ्जालमा भाइरल भएका सामग्रीहरू जनमत निर्माणका लागि पर्याप्त हुन सक्छन्, तर कानुनी र तथ्यगत निष्कर्षका लागि औपचारिक अनुसन्धान, प्राविधिक परीक्षण र प्रमाणको आवश्यकता रहन्छ।
अहिलेसम्म सार्वजनिक भएका तथ्यहरूले एउटा कुरा भने स्पष्ट पारेका छन्— केही स्क्रिनसट र दाबीहरूबाट सुरु भएको यो विवाद अब व्यक्तिगत प्रतिष्ठा, डिजिटल गोपनीयता, सामाजिक जिम्मेवारी र सार्वजनिक विश्वाससँग जोडिएको बहसमा रूपान्तरण भइसकेको छ। अब यस विषयको अन्तिम निष्कर्ष सार्वजनिक धारणा होइन, उपलब्ध प्रमाण, सम्भावित अनुसन्धान र सम्बन्धित पक्षहरूको आधिकारिक प्रक्रियाबाट नै स्थापित हुनेछ।

