मापसे गरेर मोटरसाइकल चलाउँदा दुर्घटनामा परी २८ वर्षीय युवकको मृत्यु

विराटनगर— मोरङको रतुवामाई नगरपालिका–४ भद्रचोकस्थित हुलाकी सडकमा मादक पदार्थ सेवन (मापसे) गरेर मोटरसाइकल चलाउँदा भएको दुर्घटनामा झापाका एक युवकको मृत्यु भएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार मोटरसाइकल चालकले मापसे गरेका कारण सवारी अनियन्त्रित भई दुर्घटना भएको हो।

दुर्घटनामा झापाको गौरीगन्ज गाउँपालिका–६ आठमोजाका २८ वर्षीय वरुणकुमार राजवंशीको मृत्यु भएको मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले जानकारी दिए। प्रहरीका अनुसार बा ७३ प ४२१६ नम्बरको मोटरसाइकल विराटनगरबाट झापाको गौरीगन्जतर्फ जाँदै थियो। बिहीबार राति करिब साढे १० बजे रतुवामाई–४ भद्रचोकस्थित हुलाकी सडकमा मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको थियो।

दुर्घटनापछि गम्भीर घाइते भएका राजवंशीलाई तत्काल उपचारका लागि रतुवामाई नगर अस्पताल, झुर्किया पु¥याइएको थियो। तर उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

प्रहरीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पताल पठाएको छ। घटनाबारे इलाका प्रहरी कार्यालय सिजुवाका इन्स्पेक्टर कैलाश लिम्बूको नेतृत्वमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले प्रारम्भिक अनुसन्धानबाट चालकले मादक पदार्थ सेवन गरेको पुष्टि भएको उल्लेख गर्दै मापसे गरी सवारी चलाउँदा दुर्घटनाको जोखिम अत्यधिक बढ्ने भएकाले त्यस्तो कार्य नगर्न सबै चालकलाई आग्रह गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट