खाना खाँदै गरेका होटल कर्मचारीको अचानक मृत्यु, अनुसन्धानका लागि होटल सञ्चालक पक्राउ
जनकपुर— महोत्तरीको जलेश्वर नगरपालिका–३ मलिवारास्थित एक होटलमा खाना खाइरहेका २६ वर्षीय कर्मचारीको अचानक मृत्यु भएको छ। प्रहरीले घटनाको कारणबारे अनुसन्धान गर्न होटल सञ्चालकलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार संगम वाइन होटलमा कार्यरत स्थानीय सन्जय यादव बिहीबार राति करिब ११ बजे खाना खाइरहेका बेला एक्कासि बेहोस भएका थिए। उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल जलेश्वर पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार हालसम्म सन्जयको मृत्युको यथार्थ कारण खुल्न सकेको छैन। घटनाको प्रकृति र मृत्युको कारण पत्ता लगाउन अनुसन्धान अघि बढाइएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले होटलका सञ्चालक विमल कुमार चौधरीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जनाएको छ।
घटनास्थितिबारे थप प्रमाण संकलन तथा आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीले पोस्टमार्टम प्रतिवेदन र अन्य वैज्ञानिक परीक्षणपछि मात्रै मृत्युको वास्तविक कारण खुल्ने जनाएको छ।

