देवानगञ्ज गोलीकाण्डमा दोस्रो मृत्यु, तनाव सिरहासम्म फैलियोः गोलबजारमा अनिश्चितकालीन कर्फ्यु, दोहोरो झडप

राजविराज– सुनसरीको देवानगञ्ज–कप्तानगञ्जमा गत आइतबार भएको साम्प्रदायिक झडपका क्रममा सशस्त्र प्रहरीको गोली लागेर घाइते भएका अर्का युवकको उपचारकै क्रममा मृत्यु भएको छ।

देवानगञ्ज–३ का जयप्रकाश मेहताको बिहीबार विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएसँगै गोलीकाण्डमा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ। मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार २२ वर्षीय जयप्रकाश मेहताको बिहीबार दिउँसो करिव साढे १ बजे उपचारकै क्रममा मृत्यु भएको हो।

गोली लाग्दा उनको पेटमा गम्भीर चोट लागेको थियो र आन्द्रा बाहिर निस्किएको अवस्थामा उनलाई अस्पताल पु¥याइएको थियो। सोमबार शल्यक्रिया गरिए पनि स्वास्थ्यमा सुधार नआएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

यसअघि आइतबार राति सोही घटनामा गोली लागेर गम्भीर घाइते भएका देवानगञ्ज–४ का ३० वर्षीय ओमप्रकाश मेहताको उपचारका लागि अस्पताल पुर्‍याइएलगत्तै मृत्यु भएको थियो। दुवै शव हाल विराटनगरस्थित न्युरो अस्पतालमै राखिएको प्रहरीले जनाएको छ।

आइतबार राति देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समुदायबीच भएको हिंसात्मक झडप नियन्त्रणमा लिन सशस्त्र प्रहरीले गोली चलाएको थियो। उक्त घटनामा गोली लागेर १० जना घाइते भएका थिए। हाल आठ जना विराटनगरस्थित न्युरो अस्पताल, विराट नर्सिङ होम र नोबेल शिक्षण अस्पतालमा उपचाररत छन्।

प्रहरीका अनुसार उपचाररतमध्ये रवीन्द्रकुमार मेहता र अमित यादवको अवस्था अझै गम्भीर छ। गोलीकाण्डपछि सुनसरीका विभिन्न स्थानमा आगजनी, तोडफोड, लुटपाट तथा आक्रमणका घटना भएपछि जिल्ला प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो।

सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काका अनुसार बुधबारदेखि जिल्लाको अवस्था क्रमशः सामान्य बन्दै गए पनि सुरक्षा सतर्कता यथावत् राखिएको छ।

यही घटनाको विरोधमा सिरहाको गोलबजार क्षेत्रमा बिहीबार प्रदर्शन चर्किएपछि अवस्था तनावग्रस्त बनेको छ। दुई पक्षबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय सिराहाले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम दिउँसो २ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु लागू गरेको हो।

सीडीओ सुरेन्द्र पौडेलद्वारा जारी आदेशअनुसार कर्फ्युको क्षेत्र पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वतर्फ गोलबजार नगरपालिका–३ को कसहा खोलादेखि पश्चिमतर्फ चोहर्वा चोकसम्म तथा उत्तरतर्फ गोलबजार–६ को सैनिक चोकदेखि दक्षिणतर्फ गोलबजार–४ स्थित रामप्रसाद तामाङ जनता बहुमुखी क्याम्पस आसपासको क्षेत्रसम्म तोकिएको छ।

प्रशासनले कर्फ्यु आदेशको पूर्ण पालना गर्न सबैसँग आग्रह गर्दै आदेश उल्लंघन गर्ने जो–कोहीमाथि प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ।

सुनसरीको देवानगञ्जमा भएको गोलीकाण्डपछि सुरु भएको तनाव अब छिमेकी जिल्लासम्म फैलिएको छ। एकातिर गोली लागेर मृत्यु हुनेको संख्या बढिरहेको छ भने अर्कोतर्फ साम्प्रदायिक संवेदनशीलता थप बढेकाले सुरक्षा निकायले दुवै जिल्लामा उच्च सतर्कता अपनाएका छन्। घटनाको कारण, गोली चलाउने अवस्था तथा समग्र घटनाक्रमबारे सरकारी छानबिन जारी रहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट