‘पाथीभरा माता’ बनेर विवादमा तानिएका समीर थापा पक्राउ, धार्मिक भ्रम फैलाएको आरोप
काठमाडौँ– आफूलाई ‘पाथीभरा माता’का रूपमा प्रस्तुत गर्दै सामाजिक सञ्जालमा धार्मिक आस्था प्रभावित हुने र आम नागरिकमा भ्रम फैलाउने सामग्री सार्वजनिक गरेको आरोपमा सुर्खेतका २४ वर्षीय समीर थापालाई प्रहरीले पक्राउ गरेको छ।
केही साताअघि फेसबुक लाइभमै विष सेवन गरेर चर्चामा आएका थापालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले साउन १३ गते राति नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका सई कविन्द्र सिंह बोहराका अनुसार वीरेन्द्रनगर नगरपालिका–३ निवासी थापाले सामाजिक सञ्जालमार्फत आफूलाई ‘पाथीभरा माता’ भनेर चिनाउँदै विभिन्न भिडियो प्रसारण गरेका थिए।
ती सामग्रीले धार्मिक आस्थामा असर पुर्याउने, आम नागरिकमा भ्रम सिर्जना गर्ने तथा अनावश्यक विवाद उत्पन्न गर्ने देखिएपछि पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। समीर थापा यसअघि पनि सामाजिक सञ्जालमार्फत चर्चामा आएका थिए। गत असार २६ गते उनले फेसबुक लाइभ प्रसारणकै क्रममा विष सेवन गरेका थिए।
थापाले विष सेवन गरेको घटना त्यसअघि सार्वजनिक भएको विवादसँग जोडिएको थियो। ‘प्रकाश सुवेदी शो’ कार्यक्रममा अतिथिका रूपमा सहभागी समाजसेवी बेदिका केसीले समीर थापाबारे विभिन्न आरोप सार्वजनिक गरेकी थिइन्। उनले थापा जैविक रूपमा पुरुष भएको, विवाह गरिसकेको व्यक्ति भएर पनि आफूलाई ‘माता’का रूपमा प्रस्तुत गरेको, सामाजिक सञ्जालमा स्विमसुट लगाएको तथा मदिरा सेवन गरेको देखिने सामग्री सार्वजनिक भएको दाबी गर्दै धर्म र आस्थाको नाममा भ्रम फैलाइएको आरोप लगाएकी थिइन्।
साथै, थापाले आफूविरुद्ध अपमानजनक सामग्री तयार गरेको आरोपसमेत उनले लगाएकी थिइन्। ती आरोप सार्वजनिक भएपछि समीर थापाले सामाजिक सञ्जालमार्फत लगातार भिडियो सन्देश जारी गर्दै आरोपको प्रतिवाद गरेका थिए। त्यसैक्रममा उनले फेसबुक लाइभकै क्रममा विष सेवन गरेका थिए।
घटनापछि थापाका आफन्तले बेदिका केसी र सञ्चारकर्मी प्रकाश सुवेदीमाथि सार्वजनिक रूपमा लगाइएका आरोप पुष्टि गर्न चुनौती दिएका थिए। उनीहरूले सुर्खेतमै आएर आरोपको प्रमाण प्रस्तुत गर्न आग्रह गरेका थिए। थापाकी श्रीमतीले पनि प्रमाणविना चरित्रहत्या गर्ने र आधारहीन आरोप लगाउने व्यक्तिमाथि कानुनी कारबाही हुनुपर्ने माग गरेकी थिइन्। साथै, समीर थापाको स्वास्थ्यमा कुनै अप्रिय अवस्था आए त्यसको नैतिक जिम्मेवारी आरोप लगाउने पक्षले लिनुपर्ने परिवारको धारणा सार्वजनिक भएको थियो।
यता, प्रहरीले भने पछिल्लो पक्राउ विष सेवन प्रकरणसँग नभई सामाजिक सञ्जालमा सार्वजनिक गरिएका विवादित सामग्रीसँग सम्बन्धित रहेको जनाएको छ। अनुसन्धानका क्रममा सामाजिक सञ्जालमार्फत प्रसारित भिडियो, डिजिटल सामग्री तथा अन्य प्रमाणहरूको विश्लेषण भइरहेको प्रहरीको भनाइ छ। समीर थापाविरुद्धको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। साथै, यसअघि सार्वजनिक भएका आरोप तथा प्रत्यारोपको सत्यता पनि प्रमाण, डिजिटल अभिलेख र कानुनी प्रक्रियाका आधारमा मात्रै टुंगो लाग्ने प्रहरीले स्पष्ट पारेको छ।

