कप्तानगञ्ज घट्नामा प्रधानमन्त्रीको एउटै चासो– ‘गोली कसले चलायो?’
इटहरी– सुनसरीको देवानगञ्ज–कप्तानगञ्जमा चर्किएको साम्प्रदायिक तनाव र प्रहरीको गोलीकाण्डले राष्ट्रिय सुरक्षा र राजनीतिक नेतृत्वको भूमिकामाथि गम्भीर प्रश्न उठाइरहेका बेला प्रधानमन्त्री बालेन्द्र साह (बालेन) को सबैभन्दा ठूलो चासो भने ‘गोली कसले चलायो?’ भन्ने विषयमा केन्द्रित देखिएको छ।
बुधबार सुरक्षा निकायका शीर्ष अधिकारीसँग भएको उच्चस्तरीय छलफलमा प्रधानमन्त्रीले पटक–पटक यही प्रश्न दोहोर्याए, तर नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखबाट स्पष्ट जवाफ पाएनन्। यहीबीच सरकारभित्र नेतृत्वको सक्रियता र जिम्मेवारीलाई लिएर नयाँ बहस सुरु भएको छ।
सिंहदरबारमा बुधबार प्रधानमन्त्री साहले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेलसँग सुनसरीको पछिल्लो अवस्थाबारे छुट्टाछुट्टै ब्रिफिङ लिए। छलफलमा गृहमन्त्री सुधन गुरुङ पनि सहभागी थिए। बैठकमा मिटरब्याज पीडित आन्दोलन, दुर्गा प्रसाईंको मार्चपास, चिकित्सक आन्दोलन र एजुकेशन कन्सल्टेन्सी सञ्चालकहरूको आन्दोलनलगायत समसामयिक सुरक्षा चुनौतीबारे चर्चा भए पनि प्रधानमन्त्रीको ध्यान भने सुनसरी घटनामा प्रयोग भएको गोलीतर्फ मात्रै केन्द्रित रहेको सहभागी स्रोतहरूले बताएका छन्।
स्रोतका अनुसार प्रधानमन्त्रीले सुरक्षा प्रमुखतर्फ हेर्दै बारम्बार ‘गोली किन चल्यो?’, ‘कसले चलायो?’ भन्ने जिज्ञासा राखे। तर दुवै सुरक्षा प्रमुखले त्यसबारे कुनै प्रत्यक्ष जवाफ दिएनन्। प्रहरी महानिरीक्षक कार्कीले गोली चल्नु, नागरिकको मृत्यु हुनु, आगजनी र अभद्र व्यवहारजस्ता घटनामाथि अनुसन्धान भइरहेको जानकारी दिए पनि प्रधानमन्त्री त्यसमा सन्तुष्ट देखिएनन्। उनी गोली चलाउने व्यक्तिको पहिचान र आदेश प्रक्रियाबारे थप स्पष्टता खोजिरहेका थिए।
सुरक्षा स्रोतका अनुसार भिड नियन्त्रणका क्रममा आदेशअनुसार बल प्रयोग गर्ने प्रक्रिया र त्यसका लागि आदेश दिने तथा कार्यान्वयन गर्ने अधिकारीको नाम–दर्जा राजनीतिक नेतृत्वले यसरी सोधखोज गर्नु उचित नभएको धारणा सुरक्षा निकायका उच्च अधिकारीहरूले बैठकमा व्यक्त गरेका थिए।
प्रधानमन्त्रीको सचिवालयले भने बैठकपछि जारी जानकारीमा सुनसरीको अवस्था तत्काल नियन्त्रणमा लिन, नागरिकको सुरक्षा सुनिश्चित गर्न र सामाजिक सद्भाव बिथोल्ने गतिविधिमाथि कडा निगरानी राख्न प्रधानमन्त्रीले निर्देशन दिएको जनाएको छ। साथै शान्ति–सुरक्षामा कुनै सम्झौता नगर्न र गृह मन्त्रालय मातहतका सुरक्षा निकायलाई उच्च सतर्कतामा परिचालन गर्न निर्देशन दिइएको उल्लेख गरिएको छ।
उता, सुनसरी संकट समाधानमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भने दिनभर सक्रिय देखिए। मंगलबार सरकारको ध्यानाकर्षण गराउँदै विज्ञप्ति जारी गरेका उनले बुधबार बिहान सिंहदरबारमा सर्वदलीय बैठक बोलाए। बैठकपछि सामूहिक वक्तव्य जारी गर्दै सबै राजनीतिक दलले सामाजिक सद्भाव कायम राख्न, संयम अपनाउन र हिंसात्मक गतिविधिबाट टाढा रहन नागरिकसँग अपिल गरे।
सर्वदलीय बैठकपछि लामिछाने राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास पुगे। राष्ट्रपतिको सचिवालयका अनुसार उनले बैठकमा भएका छलफल र सुनसरीको अवस्थाबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए। यही क्रममा प्रधानमन्त्री बालेन्द्र साह र गृहमन्त्री सुधन गुरुङको निष्क्रियताबारे सार्वजनिक रूपमा प्रश्न उठिरहेका बेला लामिछानेको सक्रिय भूमिकाले राजनीतिक वृत्तमा छुट्टै चर्चा पाएको छ।
सर्वदलीय बैठकमा कांग्रेस सभापति गगन थापा, नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका महासचिव शंकर पोखरेललगायत नेताहरूले प्रधानमन्त्री र गृहमन्त्रीले घटनाप्रति अपेक्षित सक्रियता नदेखाएको भन्दै असन्तुष्टि व्यक्त गरेको स्रोतको दाबी छ।
यसैबीच गृहमन्त्री सुधन गुरुङ भने सुनसरी घटनाबारे सार्वजनिक रूपमा कमै देखिएका छन्। उनले मंगलबार कोशी प्रदेश तथा सुनसरीका प्रहरी–प्रशासन प्रमुखको जिम्मेवारी हेरफेर गराउने निर्णयबाहेक थप कुनै प्रत्यक्ष राजनीतिक पहल नगरेको टिप्पणी भइरहेको छ। प्रधानमन्त्री साहले पनि मंगलबार मध्यराति सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गरेपछि बुधबार दिनभर औपचारिक सार्वजनिक प्रतिक्रिया दिएका थिएनन्।
बुधबार बिहान सभामुख डोलप्रसाद अर्याल प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका थिए। उनले समसामयिक घटनाक्रमबारे प्रतिनिधिसभामा प्रधानमन्त्रीले सम्बोधन गर्न सुझाव दिएका थिए। तर प्रधानमन्त्रीले त्यसबारे ‘विचार गरौँला’ भन्ने जवाफ मात्रै दिएको बताइएको छ। भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख अर्यालले पनि प्रधानमन्त्री संसदमा बोल्ने–नबोल्नेबारे कुनै निश्चित जानकारी दिन सकेनन्।
घटनाको अनुसन्धानका लागि गृह मन्त्रालयले सोमबार सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिसकेको छ। बुधबार सचिवस्तरीय निर्णयबाट ब्यालिस्टिक तथा फरेन्सिक परीक्षणका लागि प्रहरी निरीक्षक दिपेश अवस्थी र प्रहरी उपरीक्षक मोहनसिंह धामीलाई समितिमा थपिएको छ।
समिति संयोजक थापाका अनुसार साउन ११ गते विराटनगरमा उपचाररत घाइतेहरूको अवस्था बुझिएको थियो भने साउन १२ गते जिल्ला सुरक्षा समितिसँग छलफल गरी घटनाको समग्र जानकारी लिइएको थियो। बुधबार टोलीले घटनास्थल पुगेर प्रत्यक्षदर्शीसँग बयान लिने, भौतिक प्रमाण संकलन गर्ने र घटनाको क्रमबारे अनुसन्धान अघि बढाइरहेको छ। समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।
यहीबीच गृह मन्त्रालयले घटनास्थलको निगरानीका लागि नयाँ रणनीति पनि अपनाएको छ। गृहमन्त्री गुरुङका स्वकीय सचिव जेम्स कार्की मंगलबार नै सुनसरी पुगेका छन्। मन्त्रालयका एक अधिकारीका अनुसार घटनास्थललाई ड्रोनमार्फत निगरानी गर्ने योजना मन्त्रालयमै तयार पारिएपछि कार्की साँझ सुनसरी गएका हुन्।
समिति संयोजक थापाले भने जेम्स कार्कीको टोली आफूहरूको अनुसन्धानसँग सम्बन्धित नरहेको स्पष्ट पारे। उनका अनुसार छानबिन समिति आफ्नै कार्ययोजनाअनुसार स्वतन्त्र रूपमा अनुसन्धान गरिरहेको छ।
गृह मन्त्रालयका अर्का अधिकारीका अनुसार प्रधानमन्त्री कार्यालयमा सूचना प्रविधि हेर्ने अनुप मगर र सुयसा साहसँगको समन्वयमा ड्रोनमार्फत संकलित दृश्यहरू सिधै प्रधानमन्त्रीको सचिवालयमा पठाइँदै आएको छ। मन्त्रालयभित्र भएको छलफलपछि ड्रोन लिएर सुनसरी पुगेका कार्कीले त्यहाँबाट प्राप्त दृश्य तथा अवस्थाबारे नियमित रूपमा प्रधानमन्त्री कार्यालयलाई जानकारी गराइरहेको स्रोतको दाबी छ।
मंगलबार साँझ उनले नेपाली सेनाको हेलिकोप्टरमा यात्रा गरिरहेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए। गृह मन्त्रालयका एक सहसचिवले भने राजनीतिक नेतृत्वले घटनाको समाधान खोज्ने शैलीबारे असन्तुष्टि व्यक्त गरे। उनका अनुसार गृहसचिव र सुरक्षा निकायका प्रमुखहरूले राजनीतिक संवाद, स्थानीय समुदायबीच विश्वास निर्माण र प्रशासनिक समन्वयमार्फत समाधान खोज्नुपर्ने सुझाव दिँदै आएका छन्। तर राजनीतिक नेतृत्व भने तत्काल नियन्त्रणमुखी शैलीबाट समस्या समाधान गर्न सकिन्छ भन्ने मनस्थितिमा देखिएको उनको टिप्पणी छ।
सुनसरीको देवानगञ्ज–कप्तानगञ्जमा सुरु भएको हिंसात्मक घटनाक्रम अहिले सुरक्षा, प्रशासन, राजनीतिक नेतृत्व र सरकारी संयन्त्रको समन्वय क्षमतामाथिको परीक्षणमा परिणत भएको छ। गोली कसले चलायो भन्ने प्रश्नको उत्तर अझै सार्वजनिक भएको छैन। छानबिन समितिको प्रतिवेदन, फरेन्सिक परीक्षणको निष्कर्ष र फरक–फरक सुरक्षा निकायको विवरणले मात्रै घटनाको वास्तविक तस्वीर स्पष्ट पार्ने अपेक्षा गरिएको छ। अहिले भने देशको ध्यान एउटै प्रश्नमा केन्द्रित छ— सुनसरीमा चलेको गोलीको जिम्मेवारी कसले बहन गर्ने?

