सुनसरी झडपको क्षति: ११२ घर–संरचना र ६१ सवारीसाधनमा तोडफोड तथा आगजनी

सुनसरी — देवानगन्ज गाउँपालिका–३, कप्तानगन्जमा तीनजनाको ज्यान जाने गरी भएको झडपपछि सुनसरीका विभिन्न स्थानमा फैलिएको हिंसात्मक घटनाले ठूलो भौतिक क्षति पु¥याएको प्रारम्भिक प्रहरी विवरणले देखाएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार तोडफोड र आगजनीबाट ११२ वटा घर तथा भौतिक संरचना र ६१ वटा सवारीसाधन प्रभावित भएका छन्। प्रहरीले संकलन गरेको विवरणअनुसार क्षतिग्रस्त संरचनामध्ये २३ वटा पक्की घर पूर्ण रूपमा ध्वस्त भएका छन्। ३४ वटा कच्ची घरमा पनि क्षति पुगेकोमा २५ वटा आगजनीबाट पूर्ण रूपमा नष्ट भएका छन्।

त्यसबाहेक ५० वटा घरटहरा, दुईवटा मन्दिर, पाँचवटा अन्य संरचना र एउटा इँटाभट्टामा तोडफोड तथा आगजनीबाट क्षति पुगेको प्रहरीको प्रारम्भिक अभिलेखमा उल्लेख छ। सवारीसाधनतर्फ ४४ वटा दुईपांग्रे र पाँचवटा चारपांग्रे सवारीसाधन पूर्ण रूपमा नष्ट भएका छन्।

घटनापछि उत्पन्न तनावका क्रममा प्रदर्शनकारीले जिल्लाका विभिन्न स्थानमा ५२ वटा मोटरसाइकल तथा स्कुटर, आठवटा सिटी सफारी र चारवटा चारपांग्रे सवारीसाधनमा आगजनी तथा तोडफोड गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी प्रमुख एसपी पुष्पराज मल्लका अनुसार क्षतिको विवरण संकलन अझै जारी छ। पीडित तथा सम्बन्धित पक्षबाट क्षतिसम्बन्धी उजुरी आउने क्रम जारी रहेकाले प्राप्त विवरणको यकिन गर्ने काम पनि भइरहेको उनले बताए।

डिजेको विवादबाट सुरु भएको झडप
कप्तानगन्जको नयाँ हटियामा गत १० साउन साँझ बोलबम यात्राका लागि बजाइएको डिजेबाजाको विषयलाई लिएर सुरु भएको विवाद दुई समूहबीचको झडपमा परिणत भएको थियो। झडपका क्रममा गोली लागेर स्थानीय युवा ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रवीन्द्र मेहताको मृत्यु भएको थियो।

घटनापछि कप्तानगन्जमा मात्रै सीमित नरही सुनसरीका विभिन्न स्थानमा तनाव फैलिएको थियो। त्यसक्रममा तोडफोड, आगजनी र हिंसात्मक प्रदर्शन भएका थिए। प्रहरीले अहिले संकलन गरिरहेको क्षतिको विवरण त्यही घटनापछि सिर्जित तनाव र हिंसात्मक गतिविधिको प्रारम्भिक तस्वीर हो।

गोलीकाण्डमा ४० जना घाइते भएका थिए। तीमध्ये १२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने २५ जना उपचारपछि घर फर्किसकेका छन्। उपलब्ध विवरणअनुसार मृतक तीनजनासहित घटनाको मानवीय क्षति पनि उल्लेख्य रहेको छ।

छानबिन समितिको म्याद थप
घटनाको वास्तविक कारण, झडपको क्रम, हिंसा फैलिनुको अवस्था तथा त्यसक्रममा भएका क्षतिसहितका विषयमा छानबिन गर्न गृह मन्त्रालयले सहसचिव भूपेन्द्र थापाको नेतृत्वमा समिति गठन गरेको थियो।

गृह मन्त्रालयले समितिलाई सुरुमा एक साताको समय दिएको थियो। ११ साउनमा गठन गरिएको समितिको म्याद बिहीबार थप १५ दिनका लागि बढाइएको हो। समितिले घटनाको पृष्ठभूमि, झडपको कारण, त्यसपछि उत्पन्न हिंसात्मक अवस्था तथा क्षतिको समग्र विवरण अध्ययन गरिरहेको छ। उता, प्रहरीबाट भने भौतिक क्षतिको विवरण संकलन र यकिन गर्ने काम जारी रहेको छ।

प्रहरीको प्रारम्भिक तथ्यांकले घटनापछि भएको क्षति केवल झडपमा संलग्न दुई समूहबीचको विवादमा सीमित नरहेको देखाएको छ। घर, व्यवसायिक तथा धार्मिक संरचनादेखि निजी तथा सार्वजनिक आवागमनमा प्रयोग हुने सवारीसाधनसम्म ठूलो संख्यामा क्षति पुगेको विवरण सार्वजनिक भएको हो।

यद्यपि, क्षतिको अन्तिम विवरण भने पीडितका उजुरी, स्थलगत विवरण र अन्य प्रमाणका आधारमा थप यकिन हुन बाँकी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट