उदयपुरको बेलकामा अटो र स्कुल बस ठोक्किँदा दुई महिलाको मृत्यु, तीन जना घाइते
गाईघाट— उदयपुरको बेलका नगरपालिका–५ जहडामा अटो र स्कुल बस ठोक्किँदा दुई महिलाको मृत्यु भएको छ। आइतबार बिहान करिब पौने १० बजे भएको दुर्घटनामा अटोमा सवार पाँच जना घाइते भएका थिए। घाइतेमध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
सुपाडेबाट लालबजारतर्फ जाँदै गरेको को.प्र.०५–००१ ह ०६१३ नम्बरको अटो र विपरीत दिशाबाट आउँदै गरेको को.१ ख ३५१६ नम्बरको सफल आदर्श इङ्लिस बोर्डिङ स्कुलको बस जहडामा एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा गम्भीर घाइते भएकी बेलका नगरपालिका–५ की ३४ वर्षीया मन्दिरा मगर र परिचय खुल्न नसकेकी अर्की एक महिलालाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको थियो। दुवैलाई चिकित्सकले पौने १२ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी राजन चापागाईले जानकारी दिए।
दुर्घटनामा अटो चालक बेलका–५ का करिब २८ वर्षीय इन्द्र थापा गम्भीर घाइते भएका छन्। विराटनगर महानगरपालिका–१२ का १९ वर्षीय अजित गुरुङ सामान्य घाइते छन् भने बेलका–५ का १८ वर्षीय रोशन मगर गम्भीर घाइते भएका छन्।
घाइते तीनै जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमै उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाएको जनाएको छ।
दुर्घटनामा संलग्न स्कुल बस र त्यसका चालक बेलका नगरपालिका–५ का ३६ वर्षीय विक्रम थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटना कसरी भयो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

