चितवनमा बाढीका शव थामिनसक्नुः ३० क्षमताको शवगृहमा २ सयबढी शव, फरेन्सिक विज्ञ पनि चार जना मात्रै

चितवन— भोटेकोशी–त्रिशूली बाढीपछि सबैभन्दा धेरै शव भेटिएको चितवनमा अहिले शव व्यवस्थापन र पहिचान दुवै ठूलो चुनौती बनेको छ। जिल्लाका सबै शवगृहको कुल क्षमता ३० शव मात्रै रहेको अवस्थामा २०० भन्दा बढी शव भेटिएपछि शव राख्ने ठाउँदेखि पहिचान र स्वास्थ्य परीक्षणसम्मको व्यवस्थापनमा समस्या देखिएको हो।

त्यसमाथि जिल्लाभर फरेन्सिक विशेषज्ञ चिकित्सक चार जना मात्रै रहेकाले पहिचान प्रक्रिया थप जटिल बनेको अधिकारीहरूले बताएका छन्। भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. विश्वबन्धु बगालेका अनुसार अस्पतालमा दुई र चितवन मेडिकल कलेजमा दुई गरी जिल्लाभर चार जना फरेन्सिक विशेषज्ञ छन्। बाढीपछि एकैपटक ठूलो संख्यामा शव आएपछि उपलब्ध जनशक्तिले सबै शवको आवश्यक परीक्षण गर्न तत्काल सम्भव नभएको उनले बताए।

बगालेका अनुसार समय र स्वास्थ्यकर्मीको अभावका कारण सुरुमा सग्ला अवस्थामा रहेका शवको मात्रै परीक्षण गर्न सकिएको थियो। ती शवबाट सम्भावित पहिचानका संकेत अभिलेख गर्ने, फोटो तथा भिडियो खिच्ने र त्यसपछि चिस्यान केन्द्रमा राख्ने व्यवस्था गरिएको उनले बताए।

शवको संख्या उपलब्ध क्षमताभन्दा धेरै भएपछि भरतपुर अस्पतालले देशका विभिन्न अस्पतालमा कार्यरत फरेन्सिक विशेषज्ञलाई चितवन आएर सहयोग गरिदिन आग्रह गर्दै पत्र पठाएको थियो। अन्य अस्पतालका स्वास्थ्यकर्मी र स्वयंसेवकलाई समेत सहयोगका लागि बोलाइएको र केही स्वास्थ्यकर्मी तथा स्वयंसेवक चितवन आइपुगेको बगालेले जानकारी दिए।

उनका अनुसार आग्रहपछि थप दुई जना फरेन्सिक विशेषज्ञ चितवन आइपुगेका छन्। यसले पहिचान र परीक्षणको काममा केही सहजता हुने अपेक्षा गरिएको छ।

३० शव राख्ने ठाउँ, २०० भन्दा बढी शव
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार जिल्लामा रहेका सबै शवगृहको संयुक्त क्षमता करिब ३० शव मात्रै हो। तर बाढीपछि २०० भन्दा बढी शव भेटिएपछि शव राख्ने स्थानको अभावसमेत गम्भीर समस्या बनेको उनले बताए।

क्षमता नपुगेपछि एउटा सरकारी कार्यालयलाई अस्थायी शवगृहका रूपमा प्रयोगमा ल्याइएको छ। त्यहाँ शव सुरक्षित राख्न आवश्यक तापक्रम कायम गर्ने प्रयास गरिएको छ। बाहिरबाट हावा प्रवेश नहोस् भनेर व्यवस्था मिलाउनुका साथै भित्र एसी र ड्राइ आइस प्रयोग गरिएको अर्यालले बताए।

शवको पहिचानका लागि प्रशासनले छुट्टै हेल्प डेस्क समेत स्थापना गरेको छ। बेपत्ता आफन्तको खोजीमा आउने परिवारका सदस्यलाई त्यहाँबाट शव देखाउने र कसैले आफ्ना आफन्तको शव पहिचान गरेपछि आवश्यक प्रशासनिक प्रक्रिया पूरा गरी अभिलेख राखेर शव हस्तान्तरण गर्ने व्यवस्था गरिएको अर्यालले बताए।

तर अहिलेसम्म दुई वटा शवको मात्रै सनाखत भएको अधिकारीहरूले बताएका छन्। बाँकी शवमध्ये करिब ४० प्रतिशत शव पहिचान गर्न नसकिने गरी सडेको अवस्थामा भेटिएको उनीहरूको भनाइ छ।

यसले शवको वैज्ञानिक पहिचानमा थप चुनौती सिर्जना गरेको छ। फरेन्सिक परीक्षणका लागि आवश्यक जनशक्ति सीमित हुनु र शवको अवस्था बिग्रँदै जानुले पहिचान प्रक्रिया थप जटिल बनाएको अधिकारीहरूको भनाइ छ।

शवबाट दुर्गन्ध, आसपासका कार्यालयसमेत प्रभावित
अस्थायी शवगृहमा ठूलो संख्यामा शव राखिएपछि दुर्गन्ध फैलिन थालेको छ। आफ्ना बेपत्ता भाइको खोजीमा बाँकेको कोहलपुरबाट भरतपुर पुगेका सुग्रीव थारूले शवगृहमा तीव्र दुर्गन्ध फैलिएको र कतिपय शवबाट पानी बगेजस्तो देखिएको बताएका छन्।

अस्थायी शवगृहसँगै चितवन उद्योग संघको भवन जोडिएको छ। शवबाट निस्किएको दुर्गन्ध कार्यालयसम्म आउन थालेपछि संघले पनि चिन्ता व्यक्त गरेको छ। चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले शवलाई लामो समयसम्म यसरी राख्न सम्भव नहुने भन्दै राज्यले जिम्मेवारी लिएर आवश्यक व्यवस्थापन गर्नुपर्ने बताएका छन्।

उनले भने, ‘शवको दुर्गन्ध कार्यालयभित्र पनि आउन थालेको छ। अब यसरी राखेर हुँदैन, राज्यले अपनत्व लिएर सामूहिक दाहसंस्कार गर्नुपर्ने हुन्छ।’

पूर्वी नवलपरासीमा पनि शव राख्ने ठाउँको अभाव
शव व्यवस्थापनको समस्या चितवनमा मात्र सीमित छैन। चितवनसँग सीमा जोडिएको पूर्वी नवलपरासीमा भेटिएका शव व्यवस्थापनमा पनि क्षमताअनुसारका शवगृह नहुँदा समस्या भएको छ।

पूर्वी नवलपरासीमा भेटिएका १३४ शवमध्ये ४१ वटा पोखराका अस्पताल र आठ वटा पाल्पाका अस्पतालमा पठाइएको छ। सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाका अनुसार बाँकी शव जिल्लाभित्रै रहेका अस्पतालमा व्यवस्थापन गरिएको छ।

पश्चिम नवलपरासीमा पनि बाढीपछि ३१ वटा शव भेटिएका छन्। ती शवमध्ये केहीलाई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल, कपिलवस्तुको पिपरा अस्पताल, भैरहवाको भीम अस्पताल तथा स्थानीय जिल्ला अस्पतालमा व्यवस्थापन गरिएको छ।

भोटेकोशी–त्रिशूली बाढीपछि ठूलो संख्यामा शव भेटिएसँगै प्रभावित जिल्लामा उद्धारपछि अर्को चुनौती शवको सुरक्षित भण्डारण, वैज्ञानिक पहिचान र परिवारलाई हस्तान्तरण बनेको छ। सीमित शवगृह, फरेन्सिक विशेषज्ञको अभाव र कतिपय शवको बिग्रिएको अवस्थाले यो प्रक्रिया थप कठिन बनाएको अधिकारीहरूको विवरणले देखाउँछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट