भोटेकोशी बाढीमा बगेका ७२ शव नारायणीबाट सेनाले निकाल्यो

काठमाडौँ– भोटेकोशी बाढीमा बगेर नारायणी नदीसम्म पुगेका ७२ शव चितवन राष्ट्रिय निकुञ्जभित्रबाट नेपाली सेनाले निकालेको छ। भदौ १० गतेको बाढीपछि खोजी तथा उद्धारमा खटिएको श्री नयाँ गोरख गणले निकुञ्जको आफ्नो जिम्मेवारी क्षेत्रमा फेला परेका शव नदीबाट निकालेर प्रहरीलाई बुझाउँदै आएको छ।

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ परिचालित सेनाको टोलीले नारायणी नदीको किनार तथा नदी क्षेत्रमा फेला परेका शव जोखिम मोलेर बाहिर निकालिरहेको जनाएको छ। निकुञ्ज क्षेत्र भएकाले सर्वसाधारणको सहज प्रवेश नहुने स्थानमा समेत सेनाको टोली नै पुगेर शव निकाल्ने गरेको हो।

सेनाका अनुसार नदीबाट शव निकालिएपछि प्रहरीलाई खबर गरी मुचुल्का तयार पार्ने प्रक्रियाका लागि जिम्मा लगाउने गरिएको छ। यसरी निकालिएका शवको पहिचान तथा अन्य कानुनी प्रक्रिया भने सम्बन्धित प्रहरी निकायमार्फत अघि बढाइन्छ।

नदीको बहाव र भौगोलिक अवस्थाका कारण शव निकाल्ने काम जोखिमपूर्ण रहेको सेनाले जनाएको छ। टोलीले बोटको प्रयोग गरी नारायणी नदी वारपार गरेर शव निकाल्दै आएको छ। नदीको बहाव बढेका बेला भने उद्धार टोलीलाई नदी पार गर्नसमेत कठिनाइ हुने गरेको छ।

विशेषगरी आइतबार नदीको पानीको बहाव बढेपछि शव खोजी तथा उद्धारमा थप चुनौती देखिएको सेनाको भनाइ छ। तीव्र बहावका कारण बोट सञ्चालन तथा नदीको अर्को किनारसम्म पुग्न कठिन हुँदा फेला परेका शव निकाल्ने काम प्रभावित हुने गरेको छ।

भोटेकोशी बाढीमा बगेका मानिसहरू नदीको बहावसँगै तलतिर पुगेका कारण नारायणी नदी आसपासका क्षेत्रमा समेत ठूलो संख्यामा शव फेला परेको हो। रसुवाबाट सुरु भएको बाढीले भोटेकोशी हुँदै त्रिशूली र त्यसपछि नारायणी नदीको जलप्रवाह क्षेत्रमा असर पु¥याएको थियो।

बाढीपछि नदीको किनार, बगर तथा जलप्रवाहको क्षेत्रमा शव खोज्ने काम सुरक्षा निकायले निरन्तर गरिरहेका छन्। नारायणी नदीसम्म शव आइपुगेपछि चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने दुर्गम तथा प्रतिबन्धित क्षेत्रसमेत खोजीको दायरामा परेको छ।

निकुञ्जभित्र सर्वसाधारणको आवतजावत र गतिविधि नियन्त्रित हुने भएकाले त्यस्ता क्षेत्रमा फेला परेका शव निकाल्ने जिम्मेवारी सेनाको टोलीले सम्हाल्दै आएको छ। उद्धारका क्रममा सेनाका जवानहरूले नदीमा बोटमार्फत आवतजावत गरी जोखिमपूर्ण स्थानबाट शव बाहिर निकाल्ने गरेका छन्।

भदौ १० गते आएको विनाशकारी बाढीपछि भोटेकोशी र त्रिशूली नदी आसपासका क्षेत्रमा बेपत्ता भएकाहरूको खोजी जारी छ। बाढीले ठूलो जनधनको क्षति पु¥याएपछि नदीको तल्लो तटीय क्षेत्रमा समेत बेपत्ता तथा मृतकको खोजी तीव्र पारिएको छ।

चितवनमा भेटिएका शवमध्ये कति रसुवा तथा भोटेकोशी क्षेत्रमा बेपत्ता भएका व्यक्तिका हुन् भन्ने पहिचान प्रक्रिया पूरा भएपछि मात्र यकिन हुने भए पनि नदीको बहावअनुसार शवहरू नारायणीसम्म पुगेको देखिएको छ।

सेनाले निकुञ्ज क्षेत्रमा खोजीलाई निरन्तरता दिइरहेको जनाएको छ। नदीमा पानीको बहाव, भूगोल र पहुँचको कठिनाइका बाबजुद सम्भावित स्थानमा खोजी गरी फेला परेका शव प्रहरीको जिम्मा लगाउने क्रम जारी छ।

भोटेकोशी बाढीपछि हराइरहेका नागरिकको संख्या ठूलो रहेकाले नारायणी नदीमा शव भेटिने क्रमले तल्लो तटीय क्षेत्रमा समेत खोजीको दायरा विस्तार गर्नुपर्ने देखाएको छ। नदीको बहावसँगै शव टाढासम्म पुग्न सक्ने भएकाले सम्भावित स्थानमा सुरक्षा निकायको निगरानी र खोजी आवश्यक बनेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट