बाराका ११ वर्षीय बालकको बिहारमा हत्या, १७ वर्षीय किशोर पक्राउ
जनकपुर— बाराको बिश्रामपुर गाउँपालिका–३ मुसहर्वाका ११ वर्षीय राजेशकुमार साहको भारतको बिहारमा हत्या भएको खुलेको छ। ९ भदौदेखि हराइरहेका साह दुई दिनपछि ११ भदौमा बिहारको मोतिहारी जिल्ला नुनियाडी पञ्चायत–१ स्थित सिंहदा नदी किनारमा मृत भेटिएका थिए।
घटनाको अनुसन्धान गर्दा उनलाई नेपालबाट अपहरण गरी सीमापार भारत पु¥याएर हत्या गरिएको खुलेको प्रहरीले जनाएको छ। साह ९ भदौ बिहान करिब ९ बजेतिर घरबाट हराएका थिए। परिवारले बालक सम्पर्कविहीन भएको भन्दै सोही दिन प्रहरी चौकी मुसहर्वामा निवेदन दिएका थिए।
खोजीका क्रममा भारतको बिहारस्थित सिंहदा नदी किनारमा उनको शव फेला परेपछि प्रहरीले घटनालाई शंकास्पद मानेर अनुसन्धान अघि बढाएको थियो। नेपाल प्रहरी र भारतीय प्रहरीबीचको समन्वय तथा सीसीटीभी फुटेजको विश्लेषणबाट बालकलाई बिश्रामपुरबाट अपहरण गरेर बिहार लगिएको र त्यहाँ हत्या गरिएको तथ्य खुलेको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार घटनाबारे जानकारी बाहिर नआओस् भन्ने उद्देश्यले बालकलाई सीमापार भारत पु¥याएर हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १७ वर्षीय एक किशोरलाई पक्राउ गरेको छ।
बारा प्रहरीका प्रवक्ता मिन घलेका अनुसार पक्राउ परेका किशोरविरुद्ध अपहरण तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ। पक्राउ परेका किशोरलाई जिल्ला अदालत बाराबाट पाँच दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनामा बालकको अपहरणदेखि भारत पु¥याएर हत्या गरिनेसम्मको घटनाक्रम तथा त्यसमा अन्य व्यक्तिको संलग्नता भए–नभएको विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ।


