इनारमा खसेको बाख्रा निकाल्न पसेका युवकको निसासिएर मृत्यु

जनकपुर— धनुषाको गणेशमान चारनाथ नगरपालिका–१ मा इनारमा खसेको बाख्रा निकाल्न पसेका ३५ वर्षीय रामचन्द्र रौनियारको मृत्यु भएको छ। गोलघरनजिक रहेको सार्वजनिक इनारमा बाख्रा खसेपछि निकाल्न इनारभित्र पसेका रौनियार करिब एक घण्टासम्म बाहिर ननिस्किएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

प्रहरी पुगेर उद्वारको प्रयास गर्दा रौनियार इनारभित्रै मृत अवस्थामा भेटिएका थिए। उनी गणेशमान चारनाथ नगरपालिका–१ निवासी राजकुमार रौनियारका ३५ वर्षीय छोरा हुन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता ओमप्रकाश खनालका अनुसार बाख्रा निकाल्ने क्रममा रौनियार इनारभित्र पसेका थिए।

लामो समयसम्म बाहिर नआएपछि स्थानीयले उनको अवस्थाबारे प्रहरीलाई जानकारी गराएका थिए। प्रहरीको प्रारम्भिक अनुमानअनुसार इनारभित्र अक्सिजनको कमीका कारण निसासिएर रौनियारको मृत्यु भएको हुनसक्छ।

घटनाको वास्तविक कारण यकिन गर्न प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट