प्रहरीले वयानका लागि बोलाएर यसरी पक्राउ गर्यो जीबी राईकी ‘प्रेमिका’

काठमाडौँ– सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको बचत रकम अपचलन गरेको आरोपमा सोमबार पक्राउ परेकी लिला पछाई जीबी राई (गितेन्द्र बाबु राई) की प्रेमीका भएको खुलेको छ।
गुल्मीको मुसिकोट घर भइ ललितपुर बस्दै आएकी ३२ वर्षीया लिलालाई कास्की प्रहरीले बयानका लागि बोलाएर पक्राउ गरेको हो। लिलालाई जीबीले सहकारीको रकमबाट पोखरामा २ वटा घर खरिद गरेको फेला परेको छ। लिलाका नाममा सहकारीको कुल ३ करोड रुपैयाँ गएको देखिएको छ।
जिबी राईसँग मिलेमतो गरी सहकारीबाट बैंक खातामा करिव ३ करोड लगेको खुलेपछि प्रहरीले उनलाई दिन बोलाएको थियो। त्यसै बेला उनी पक्राउ परेकी हुन। उनलाई अहिले जिल्ला अदालत कास्कीबाट ४ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।
प्रहरी स्रोतकाअनुसार लिला जीबीको एक कम्पनीको सामान्य कर्मचारी थिइन्। तर, सामान्य कर्मचारीको रुपमा रहेकी लिलाको नाममा सहकारीबाट ३ करोड रकम गएको देखेपछि प्रहरीले वयानका लागि पोखरा बोलाएको थियो।
अनुसन्धानका क्रममा उनी जिबीकी ‘प्रेमिका’ भएको खुल्न आएको छ। जिल्ला सरकारी वकिल कार्यालयले एक अर्ब ११ करोड १९ लाख ४३ हजार ४५ रुपैयाँ अपचलन भएको भन्दै जिबी राईसहित १९ जनाविरुद्ध गत वर्षको असोज १८ गते मुद्दा दर्ता गराएको थियो।
पोखरा महानगरपालिकाको विज्ञ टोलीले तयार गरेको प्रतिवेदनले भने सहकारीमा १८ हजार ७ सय बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८ सय ९८ रुपैयाँ बचत रहेको उल्लेख गरेको थियो।