इनिशाको हत्यामा धुरुधुरु रुईन आशिका तामाङः ‘बलात्कारीलाई फाँसी नदिए यस्ता अपराध रोकिन्न’
काठमाडौँ— सुर्खेतकी १६ वर्षीया किशोरी इनिशा विकको बलात्कारपछि भएको भनिएको हत्या प्रकरणमा प्रतिनिधिसभा सदस्य आशिका तामाङ भाबुक भएर रुएकी छिन्। सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडियोमा धरधरी रुँदै उनले इनिशामाथि भएको क्रूर अत्याचारलाई मानवता नै लज्जित पार्ने अपराध भन्दै दोषीलाई फाँसीको सजाय दिनुपर्ने माग गरेकी छन्।
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा धादिङ–१ बाट निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुगिरहेकी तामाङले यस पटक भने जनताको फूलमाला र अबिर स्वीकार गर्न नसकेको बताइन्। देशभर चुनावी परिणामपछि राजनीतिक दलहरूले विजय उत्सव मनाइरहेका बेला इनिशा विकको पीडादायी मृत्यु सम्झिँदा आफूले कुनै उत्सव मनाउन नसकेको उनको भनाई छ।
भिडियोमा उनले भावुक हुँदै भनिन्, ‘इनिशा विकलाई नरपिचासहरूले बलात्कार गरेर जंगलमा फालिदिए। त्यस्ता नरपिचासहरूलाई फाँसीको सजाय दिनुपर्छ। जबसम्म यस्तो अपराध गर्नेहरूलाई कठोर सजाय हुँदैन, तबसम्म यस्ता घटना रोकिन्न।’
आफूलाई मत दिएर संसदमा पठाएका जनताको माया र सम्मानप्रति आभारी भए पनि यस्तो दर्दनाक घटनाले मन भक्कानिएको उनले बताइन्। ‘जनताले यहाँ मलाई फूलमाला र अबिर लगाइदिनुहुन्छ, तर आज मैले लगाएको छैन। मलाई सम्झँदा मात्र पनि यति गाह्रो भइरहेको छ भने त्यो बहिनीलाई कति पीडा भएको थियो होला,’ भन्दै रुँदै भनेकी छिन।
‘जंगलमा उनले कति चिच्याइन् होलिन्, सहयोगका लागि कति गुहार मागिन् होलिन्। तर उनको सहयोगका लागि कोही पनि समयमै पुग्न सकेन।’ उनले भनेकी छिन्। उनका अनुसार अहिले देशमा चुनावी परिणामपछि उत्सवको माहोल देखिए पनि एउटा किशोरीले न्यायका लागि ज्यान गुमाएको वास्तविकता भुल्न नहुने समय आएको छ।
गत फागुन २३ गते बिहान घरबाट ट्युसन पढ्न भन्दै निस्केकी इनिशा विक सुर्खेतको वीरेन्द्रनगर क्षेत्रमा रहेको सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी थिइन्। गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भएकी उनी हाल वीरेन्द्रनगर–१ मा बस्दै आएकी थिइन्। घटनास्थलमा उनको शरीरमा निलडाम र अत्यधिक रक्तस्राव भएको अवस्थामा भेटिएको थियो। उनलाई अस्पताल पु¥याइए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए।
घटनापछि प्रहरीले बलात्कारपछि हत्या गरेको आरोपमा चार जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको जनाएको छ।
