सांसद भएर पनि सुध्रिएनन् खगेन्द्र सुनारः ‘मास्टरलाई उत्तानो पारेर पैतालामा भाटा हान्नुपर्छ’ भनेपछि आलोचना

काठमाडौँ— बाबुआमापछिको मार्गदर्शक मानिने शिक्षकप्रति तुच्छ र अपमानजनक टिप्पणी गरेको भिडियो सार्वजनिक भएपछि नवनिर्वाचित प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनार विवादमा परेका छन्। रास्वपाक नेता तथा बाँके निर्वाचन–३ बाट निर्वाचित सुनारले शिक्षकलाई ‘उत्तानो पारेर पैतालामा भाटा हान्नुपर्ने’ अभिव्यक्ति दिएको भिडियो सार्वजनिक भएको हो।

योसँगै सामाजिक सञ्जालमा तीव्र आलोचना सुरु भएको हो। केही युट्युबरसँग गरिएको अनौपचारिक कुराकानीमा सुनारले आफू विद्यार्थी जीवनमा शिक्षकबाट पाएको सजायलाई उदाहरण बनाउँदै प्रतिशोधपूर्ण टिप्पणी गरेका थिए। उनले भनेका थिए, ‘जसरी हिजो हामीलाई पढाउँदा कन्चटको रौँ समातेर डस्टरले टाउकोमा ट्वाक्क हान्थे, त्यो मास्टरलाई उत्तानो पारेर त्यसको पैतालामा भाटा हान्नुपर्छ।’

उनले आफू शिक्षा संकाय पढेको भन्दै कसरी पढाउनुपर्छ भन्ने कुरा आफूलाई थाहा रहेको दाबीसमेत गरेका थिए। सुनारको यो अभिव्यक्तिलाई धेरैले शिक्षकको गरिमामाथि प्रहारका रूपमा लिएका छन्। शिक्षालाई जीवनको आधार मान्ने समाजमा शिक्षकलाई अपमानित गर्ने भाषण सार्वजनिक रूपमा दिने व्यक्ति संसदसम्म पुगेको विषयले गम्भीर चिन्ता जन्माएको प्रतिक्रिया सामाजिक सञ्जालमा व्यापक रूपमा देखिएको छ।

धेरै शिक्षकहरूले तीव्र असन्तुष्टि व्यक्त गर्दै ‘तिमीचाहिँ आमाको पेटबाट फुत्त निस्किएर माननीय भएका हौ?’ भन्दै आक्रोश पोखेका छन्। झण्डै दुई दशकदेखि अध्यापन गर्दै आएका शिक्षक बालाराम खड्काले सुनारको अभिव्यक्तिलाई अत्यन्तै गैरजिम्मेवार र अशोभनीय भन्दै कडा प्रतिक्रिया दिएका छन्।

उनका अनुसार सुशासन र परिवर्तनको नारा दिने युवापुस्ताले यदि यस्तो सोच बोकेको नेतृत्व स्वीकार गर्छ भने त्यो परिवर्तनको नाममा विडम्बना मात्र हुनेछ। उनले व्यंग्य गर्दै भनेका छन्, ‘जेनजीले सुशासन चाहेको हो भने पहिले यस्ता अभिव्यक्ति दिनेहरूको टाउकोमा घण्टी बजाउनुपर्छ।’

शिक्षक आन्दोलनको सन्दर्भ उल्लेख गर्दै उनले राजनीतिक नेतृत्वले शिक्षकप्रति सम्मानको भावना राख्नुपर्ने चेतावनीसमेत दिएका छन्। सामाजिक सञ्जालमा अन्य शिक्षक र नागरिक समाजका प्रतिनिधिहरूले पनि सुनारको अभिव्यक्तिप्रति कडा टिप्पणी गरेका छन्। शिक्षक जेएम पराजुलीले ‘यस्ता निकृष्ट सोच भएका मानिस पनि संसदमा पुगे’ भन्दै चिन्ता व्यक्त गरेका छन्।

हालै शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गरेकी छायाँ पौडेलले भने आफ्नो अनुभव सुनाउँदै यस्तो सोचप्रति आपत्ति जनाएकी छन्। उनले भनेकी छन्, ‘हामीले पनि पढ्दा कुटाइ खायौँ, तर कहिल्यै शिक्षकलाई कुट्नुपर्छ भन्ने सोच आएन। त्यो हाम्रो भविष्यका लागि थियो भन्ने बुझ्थ्यौँ।’

यो विवाद चर्किँदै गएपछि नेपाल शिक्षक महासंघले पनि औपचारिक रूपमा प्रतिक्रिया दिएको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोरी सुवेदीले विज्ञप्ति जारी गर्दै सांसद सुनारको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। विज्ञप्तिमा पदको गरिमासमेत बिर्सेर गरिएको यस्तो टिप्पणीले शिक्षक समुदायको सम्मानमा ठेस पुगेको उल्लेख गर्दै सुनारलाई सार्वजनिक रूपमा माफी माग्न र भविष्यमा बोल्दा जिम्मेवारी बोध गर्न चेतावनी दिइएको छ।

सुनार विवादमा तानिएको यो पहिलो घटना भने होइन। निर्वाचनअघि पनि उनले ‘गाई काटेर खान पाउनुपर्छ’ भन्ने अभिव्यक्ति दिएपछि तीव्र आलोचना भएको थियो। उक्त विवादपछि पार्टीले उनलाई सचेत गराएको जनाएको थियो। त्यसबाहेक चुनाव प्रचारका क्रममा दिएको अर्को अभिव्यक्तिले पनि उनी आलोचनाको केन्द्रमा परेका थिए। मतदातासँग संवाद गर्दै उनले ‘राम्रो इष्ट आएको बेला छोरी दिनुपर्छ, नदिए झ्यालबाट हाम्फालेर खलाँसीसँग भागेपछि पीर हुन्छ’ भन्ने शैलीमा दिएको भाषण सार्वजनिक भएपछि महिलामाथि अपमानजनक र श्रमिक वर्गमाथि हेप्ने सन्देश दिएको भन्दै व्यापक विरोध भएको थियो।

उनको उक्त टिप्पणीले महिला र मजदुर समुदायप्रति अपमानजनक दृष्टिकोण झल्किएको भन्दै सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया आएको थियो। धेरैले यसलाई चुनावी भाषणको नाममा गरिने असंवेदनशील राजनीतिक संस्कृतिको उदाहरणका रूपमा व्याख्या गरेका थिए।

सार्वजनिक जीवनमा रहेका व्यक्तिहरूले प्रयोग गर्ने भाषा र विचारले समाजमा गहिरो प्रभाव पार्ने भएकाले जिम्मेवार अभिव्यक्ति आवश्यक हुने विश्लेषकहरूको भनाइ छ। विशेषगरी संसदमा पुगेका प्रतिनिधिहरूबाट समानता, सम्मान र सामाजिक उत्तरदायित्व झल्किने अपेक्षा गरिन्छ। तर सुनारका पछिल्ला अभिव्यक्तिहरूले राजनीतिक नेतृत्वको भाषिक संस्कार र नैतिक जिम्मेवारीबारे नयाँ बहस सुरु गराएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट