सप्तरीमा नेपाल बैंकका सुरक्षा गार्डकै बन्दुक चोरी, २० वर्षीय युवक पक्राउ

राजविराज — सप्तरीको खडक नगरपालिका–७ कल्याणपुरस्थित नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको बन्दुक चोरी भएको छ।
सुरक्षागार्ड बस्ने कोठामा १२ बोरको एकनाले बन्दुक, २० राउन्ड गोली, दुई थान मोबाइल र डिजिटल तराजुसहितका सामान चोरी भएको हो।
सप्तरीका एसपी ढकेन्द्र खतिवडाका अनुसार बिहीबार राति कोठामा भएको दराजबाट हतियार र गोली चोरी भएको हो। उक्त कोठामा सुरक्षा गार्डहरु सप्तरीकै शम्भुनाथ नगरपालिका–७ भंगाहाका ३९ वर्षीय प्रमोद चौधरी र कञ्चनरुप नगरपालिका–५ का ४४ वर्षीय पर्शुराम चौधरी बस्ने गरेका थिए।
दुवैजना कोठामै सुतेका बेला चोरी भएको प्रहरीले जनाएको छ। घटनाबारे बिहान साढे ३ बजे इलाका प्रहरी कार्यालय कल्याणपुरमा जानकारी गराईएको थियो।
प्रहरीले खोजतलास सुरु गरेपछि बिहान पौने ४ बजे सिराहाको लहान नगरपालिका–३ हस्पिटल चोकबाट चोरीमा संलग्न सप्तरीकै खडक नगपालिका–६ विसनपुरका २० वर्षीय अपसाद अन्सारीलाई पक्राउ गरेको छ।
उनको साथबाट हतियार र चोरी भएका अन्य सामानसहित ल्यापटप, कम्प्युटर स्क्यानर, खुकुरी र घडी दुई÷दुई थान, मोबाइल ५ थान, सिमकार्ड, स्पिकरलगायतका सामान बरामद भएको छ। अन्सारीले हतियार भने बैंकको ५ सय मिटर पश्चिम झाडीमा लुकाएका थिए।