५ जनाले सामुहिक बलात्कार गरी १६ वर्षीया किशोरीको हत्या, आरोपित किशोरीका आफन्त पनि

काठमाडौँ– सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ की १६ वर्षीया निशा तामाङको सामूहिक बलात्कारपछि हत्या भएको घट्ना सार्वजनिक भएको छ।
बलात्कार र हत्या आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने मृतककै गाउँका आफन्त नाता पर्नेसमेत छन्।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी रामेश्वर कार्कीका अनुसार घटना १० असारमा भएको हो। भोटेकोसी गाउँपालिका–५ मार्मिङका २१ वर्षीय निमा तेन्जिङ तामाङ, २२ वर्षीय वाङनिमा तामाङ, ३२ वर्षीय नामग्याल शेर्पा, २० वर्षीय दावा तामाङ र २२ वर्षीय लाक्पा पासाङ तामाङलाई पक्राउ गरिएको उनले वताए।
निशालाई घरबाट जंगलमा लगेर पाँच जनाको समूहले बलात्कार पछि हत्या गरेको पाइएको कार्कीको भनाई छ। निशाको शव ११ असारमा घरदेखि करिव ४ सय मिटर पर जंगलमा नाङ्गो अवस्थामा फेला परेको थियो।
मृतकको शव त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पोस्टमार्टम गरिएको छ। आरोपीहरू विरुद्ध सिन्धुपाल्चोक जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान थालिएको एसपी कार्कीले जानकारी दिए।