सप्तरीमा दलित युवकको घाँटी रेटी हत्या, अभियुक्त युवती पक्राउ

राजविराज — सप्तरीको डाक्नेश्वरी नगरपालिका–८ का दलित युवक ३२ वर्षीय राजकुमार खंगको शव घाँटी विभत्स हत्या भएको छ। बिहीबार बिहान राजगढ गाउँपालिका–४ पिप्रास्थित सार्वजनिक पोखरीको डिलमा रेटिएको अवस्थामा उनको शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी जितेन्द्रकुमार बस्नेतका अनुसार खंगको घाँटी र छातीमा धारिलो हतियार प्रहार गरिएको थियो। उनी बुधबार बेलुका घरबाट निस्किएका थिए।

घटनाबारे सूचना प्राप्त भएपछि बिहीबार बिहान करिब ८ बजे प्रहरी टोलीले घटनास्थल पुगेर सूक्ष्म अनुसन्धान सुरु गरेको हो। अनुसन्धानमा मधेश प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।

अनुसन्धानको क्रममा मृतकसँग नजिकको सम्बन्ध रहेकी डाक्नेश्वरी नगरपालिका–९ की २१ वर्षीया तुलसी देवी सरदारलाई विहिबार राती करिव १० बजे सुनसरी प्रहरीको सहयोगमा इनरुवा नगरपालिका–९ बबियाबाट पक्राउ गरिएको छ।

प्रहरीका अनुसार पक्राउ परेकी तुलसीको साथबाट मृतकले प्रयोग गर्ने मोबाइल सेट बरामद भएको छ। उनकै बयानका आधारमा हत्यामा प्रयोग भएको चक्कु समेत घटनास्थल नजिकैको पोखरीमा फेला परेको छ।

घटनाबारे थप अनुसन्धान गर्न सप्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद लिइएको डीएसपी बस्नेतले बताए। मृतकको शव पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा राखिएको छ।

यसअघि वैशाख २ गते सप्तरीकै सुरुङ्गा नगरपालिका–७ मा २० वर्षीया पुजा कुमारी रामको शव शंकास्पद अवस्थामा भेटिएको थियो। त्यो घटनामा पनि ‘हत्या पुष्टि’ भए पनि हालसम्म हत्यारा पत्ता लाग्न सकेको छैन। प्रहरीले उक्त घटनामा पनि सीआईबीको सहयोगमा अनुसन्धान भइरहेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट