विराटनगरमा जिउँदो भाइलाई मरेको प्रमाणित गरेर करोडौंको सम्पत्ति हडप्ने दाजुको किर्ते खेल

विराटनगर- विराटनगरमा एक व्यक्तिले आफ्नै भाइलाई मरेको प्रमाणित गराएर आमा–बुबाको नामको जग्गा कब्जा गरी बिक्रीसमेत गरेको सनसनीपूर्ण घटना सार्वजनिक भएको छ।

विराटनगर महानगरपालिका–११ का केदारबहादुर बस्नेत जिउँदै थिए, तर उनका दाजु भरतबहादुर बस्नेतले उनी मरेको सर्जमिन गरेर करोडौंको सम्पत्ति आफ्नो नाममा दर्ता गराएका छन्। यो सनसनीपूर्ण घटना महिनौंपछि बाहिर आएको हो।

केदारको स्थायी बसोबास काठमाडौंमा छ। तर, विराटनगर महानगरपालिका–२ नम्बर वडाबाट भरतबहादुरले २०५८ सालमै भाइको मृत्यु भएको कागज बनाएका थिए। सो सर्जमिन तत्कालीन वडाध्यक्ष कुमार पोखरेलले प्रमाणीकरण गरेका थिए।

भरतले यही कागजका आधारमा आफ्नी आमा मायादेवीको नाममा रहेको सुनसरीको हाँसपोसा गाविस–८ को ३ कठ्ठा ८ धुर जग्गा आफ्नो नाममा ल्याए। त्यसपछि पाँच वर्षपछि उक्त जग्गा डेढ कट्ठा मोही हक छुट्याएर बाँकी डेढ कट्ठा ७२ लाख रुपैयाँमा बिक्री गरिदिए।

केदारले यो कुरा थाहा नपाई आफ्नै दाजुको विश्वासमा थिए। उनले भने, ‘मलाई त केही थाहा थिएन, सुनसरीको जग्गा बिक्री भएपछि मात्रै सोधखोज गर्दा २०५८ सालमै मरेको कागज बनाएको कुरा थाहा भयो।’– उनले भने।

उनका बुबा पहलमान बस्नेतका तीन श्रीमती थिए। मायादेवी जेठी श्रीमती हुन्। मायादेवीको मृत्यु २०४५ सालमा भएको थियो। त्यसपछि जग्गा केदारकी कान्छी आमा उमादेवीतिरका परिवारले रेखदेख गर्ने सहमति थियो। तर, माइली आमाका छोराले जालसाजी गर्दै भाइलाई मृतक बनाएर सम्पत्ति कब्जा गरेको केदारको आरोप छ।

२०७५ असोज १७ गते विराटनगर– २ कार्यालयले केदारको मृत्यु भइसकेको भन्दै सर्जमिन मुचुल्का तयार ग¥यो। दुई दिनपछि मालपोत कार्यालय सुनसरी इनरुवामा सिफारिस भयो। त्यसैका आधारमा कित्ता नम्बर १५६ र १५७ जग्गा भरतबहादुरको नाममा दर्ता गरियो। त्यसपछि उनले जग्गा बिक्री गरेका हुन्।

भरतबहादुरले आफ्ना पक्षमा आमाको रेखदेख आफैंले गरेको र भाइले पहिल्यै अंश लिइसकेको कागज देखाएका छन्। तर केदारले ती कागजलाई नक्कली भएको वताएका छन्।

वडाध्यक्ष पोखरेलले यसबारे कुनै टिप्पणी गर्न मानेनन्। उनले आफू कार्यक्रममै व्यस्त रहेको भन्दै पत्रकारको प्रश्नलाई पन्छाए।

केदारले मोरङ जिल्ला अदालतमा दाजु भरतबहादुरसहित १० जनाविरुद्ध किर्ते कागज बनाएर सम्पत्ति कब्जा र बिक्री गरेको आरोपमा मुद्दा दायर गरेका छन्। मुद्दा अहिले विचाराधीन छ।

यो घटनाले स्थानीय तहका प्रतिनिधि र कर्मचारीको मिलेमतोमा जिउँदो व्यक्तिलाई मृतक बनाएर कसरी करोडौंको सम्पत्ति हडप्नेसम्मका कागज तयार हुन्छन भन्ने देखाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट