संसद भवनमा ड्रोन खसालेको आरोपमा कलेजका प्रधानाध्यापक र विद्यार्थीसहित ५ जना पक्राउ

राजधानी— नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा ड्रोन खसालेको घटनामा संलग्न भएको आरोपमा प्रहरीले टेकस्पायर कलेजका प्राध्यापकसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ।

असार २४ गते बिहान संघीय संसद भवन परिसरमा खसेको ड्रोनका सम्वन्धमा अनुसन्धानपछि प्रहरीले सुवर्णमार्गस्थित टेकस्पायर कलेजका प्रधानाध्यापकसहित विद्यार्थीलाई नियन्त्रणमा लिएको हो।

प्रहरी अनुशन्धानमा विद्यार्थीहरूले परीक्षणका क्रममा ड्रोन उडाएको पुष्टि भएको छ। प्रहरीले घटनाबारे अनुसन्धान गर्दै प्राध्यापक विजयबाबु रेग्मी, र विद्यार्थीहरू सुजलकाजी श्रेष्ठ, समन महर्जन, अफ्ताव रेजा, र समिप खतिवडालाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार ब्याचलर अफ साइन्स इन आईटी (बीएससी आइटी) पढिरहेका विद्यार्थीहरूले आफैंले निर्माण गरेको ड्रोनको थ्रस्ट टेस्ट गर्ने क्रममा जीपीएस सिग्नल विच्छेद हुँदा ड्रोन संसद भवन परिसरमा खसेको हो।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिल बोहराले पक्राउको पुष्टि गर्दै, परीक्षणका क्रममा अप्रत्याशित रूपमा ड्रोन संसद परिसरमा पुगेको र उपकरणहरू खरिद गर्दा लिइएका बिल, फोटो र भिडियो प्रमाणहरू समेत प्राप्त भएको जानकारी दिए।

यसअघि उक्त विषयलाई नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रतिनिधिसभामा उठाउँदै संसद भवनजस्तो संवेदनशील क्षेत्रमा ड्रोन खसेको घटनालाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका थिए। उनले भनेका थिए, ‘ड्रोनबाट आतंकवादी गतिविधि, निगरानी वा सूचनाको गम्भीर दुरुपयोग हुनसक्छ, यसकारण संसद परिसरमा खस्नु सामान्य होइन।’

यद्यपि प्रारम्भिक अनुसन्धान अनुसार, यो घटना नियोजित नभई प्राविधिक परीक्षणकै क्रममा भएको दुर्घटना हो। तर, संसद जस्तो निषेधित र सुरक्षा–संवेदनशील क्षेत्र भएको स्थानमा अनुमति बिना ड्रोन उडाइनु आफैंमा कानुनी र सुरक्षा चुनौतीको विषय बनेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट