सरकारी गाडी दुरुपयोग गरेको आरोपमा मधेश प्रदेशका पूर्व सभामुखका ज्वाइँ पक्राउ
जनकपुर– सरकारी गाडीमा निजी नम्बर प्लेट प्रयोग गरी दुरुपयापेग गरेको आरोपमा मधेश प्रदेश सभाका पूर्व सभामुख तथा धनुषा–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र मण्डलका ज्वाइँ रमेश मण्डललाई पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी रुगम बहादुर कुँवरका अनुसार मौन अवधिमा सशस्त्र प्रहरीले सञ्चालन गरेको विशेष चेकजाँचका क्रममा मिथिला बिहारी नगरपालिका–पुरन्दाहा क्षेत्रबाट शंकास्पद अवस्थामा रहेको स्कारपियो गाडी रोकेर जाँच गरिएको थियो। प्रारम्भिक जाँचमै सरकारी प्रयोजनका लागि उपलब्ध गराइएको गाडीमा निजी नम्बर प्लेट प्रयोग गरिएको पाइएको प्रहरीले जनाएको छ। त्यसपछि गाडी र चालकलाई नियन्त्रणमा लिएर थप कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको हो।
सशस्त्र प्रहरी बल नेपाल, मधेस प्रदेशका डीआइजी कृष्ण ढकालले पनि स्कारपियो गाडी र चालकलाई नियन्त्रणमा लिइएको पुष्टि गरेका छन्। सुरक्षा स्रोतका अनुसार उक्त गाडी पूर्व सभामुखको हैसियतमा प्राप्त सरकारी सवारीसाधन भएको प्रारम्भिक तथ्य खुलेको छ, जसमा निजी नम्बर प्लेट प्रयोग गरिएको देखिएको छ।
बागमती–प्र–०१ ००३२ च ७८९४ नम्बरको गाडीमा नक्कली नम्बर लेखेर चलाइएको आशंका गरिएको छ। प्रहरी स्रोतले दिएको जानकारी अनुसार निर्वाचनको मौन अवधिमा मतदाता प्रभावित पार्ने उद्देश्यले गाडी प्रयोग गरिएको हुनसक्ने प्रारम्भिक अनुमानसमेत गरिएको छ। यही आशंकाका आधारमा सुरक्षा निकायले गम्भीरतापूर्वक घटनाको अनुसन्धान अघि बढाएको बताइएको छ।
घटनापछि गाडी र चालकलाई नियन्त्रणमा लिएर आवश्यक प्रक्रिया अघि बढाइएको छ भने रमेश मण्डललाई प्रारम्भिक सोधपुछपछि छाडिएको एसपी कुँवरले जानकारी दिएका छन्। तथापि, घटनाको पृष्ठभूमि, गाडीको प्रयोग र नम्बर प्लेट परिवर्तनसँग सम्बन्धित सम्भावित कानुनी पक्षबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
निर्वाचनको मौन अवधिमा सरकारी स्रोतको प्रयोग, नम्बर प्लेट परिवर्तनजस्ता आरोप सार्वजनिक भएसँगै धनुषाको राजनीतिक वातावरण झन् संवेदनशील बनेको छ।
