पुराना फेसबुक स्टाटसले बालेन विवादमाः ‘रगतको खोलो बगाउने’ र ‘टेरेरिष्ट बन्न मन लागेको’ विषयमा ब्यापक बहस

काठमाडौँ — भावी प्रधानमन्त्रीका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजनीतिमा होमिएका काठमाडौँ महानगरपालिकाका पूर्वमेयर बालेन्द्र साह (बालेन) फेसवुकका पुराना पोष्टका कारण विवादमा तानिएका छन्। चुनावी राजनीति चर्किंदै जाँदा उनका अभिव्यक्ति विवादित बनेका हुन।

साहका पुराना फेसबुक स्टाटसहरू भाइरल भएपछि उनको राजनीतिक छविमाथि गम्भीर बहस सुरु भएको छ। करिब एक दशकअघि सामाजिक सञ्जालमा लेखिएका अभिव्यक्तिहरू अहिले पुनः सार्वजनिक हुँदै व्यापक चर्चा र विवादको विषय बनेका हुन्।

सन् २०१२ देखि सामाजिक सञ्जालमा सक्रिय रहेको उनको ‘बालेन’ नामक पेज र ‘बालेन शाह’ नामको फेसबुक प्रोफाइल लामो समयदेखि चर्चामा रहँदै आएको छ। तीमध्ये सन् २०१७ अप्रिल २१ मा लेखिएको एउटा स्टाटस अहिले विशेष रूपमा विवादको केन्द्रमा पुगेको छ, जसमा उनले ‘जब मनको प्यास मेटिँदैन, रगतको खोला बगाउनुपर्छ’ भन्ने आशय व्यक्त गरेका थिए।

त्यसभन्दा दुई वर्षअघिको अर्को स्टाटसमा उनले नेपाल प्रहरीप्रति आक्रोश प्रकट गर्दै ‘नेपालका पुलिसको आचरण देखेर टेरेरिष्ट बन्न मन लागिरहेको छ’ भन्ने टिप्पणी गरेका थिए, जुन कुरा उनकोे फेसवुकको स्कृनसर्टहरुबाट पुष्टि हुन्छ।

यस्ता अभिव्यक्तिहरू सार्वजनिक भएपछि उनका समर्थक र आलोचकबीच तीव्र बहस चर्किएको छ। समर्थकहरूले उक्त सामग्री असान्दर्भिक रूपमा उछालिएको हुनसक्ने तर्क गरेका छन् भने आलोचकहरूले भने प्रोफाइलको इतिहास, पुराना अन्तरक्रिया र सार्वजनिक गतिविधिका आधारमा ती पोस्टहरू वास्तविक हुनसक्ने दाबी गरिरहेका छन्।

विशेषगरी सामाजिक सञ्जालमा बालेन्द्रका सहयोगी र समर्थक भिक्टर पौडेलले उक्त प्रोफाइलमा निरन्तर प्रतिक्रिया जनाउँदै आएको देखिएको भन्दै कतिपयले यो आइडी नक्कली हुन कठिन हुने तर्क गरेका छन्। भिक्टर ‘रुटिन अफ नेपाल बन्द’ नामक लोकप्रिय फेसबुक पेजका सञ्चालकका रूपमा चिनिन्छन्, जसले लामो समयदेखि बालेन्द्रसँग सम्बन्धित गतिविधिहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै आएको आरोप–प्रत्यारोपबीच चर्चा हुँदै आएको छ।

विवाद यतिमै सीमित छैन। केही समयअघि सामाजिक सञ्जालमै लेखिएको अर्को स्टाटस पनि व्यापक विवादमा परेको थियो, जसमा छिमेकी मुलुकहरू र प्रमुख राजनीतिक दलप्रति कडा र अश्लील शब्द प्रयोग गरिएको थियो। ब्यापक आलोचनापछि उक्त पोस्ट केही समयमै हटाइएको थियो।

त्यस्तै, काठमाडौँ महानगरको नेतृत्वमा रहँदा सार्वजनिक बिदाको दिन महानगरको गाडी ट्राफिक प्रहरीले जाँच गरेको विषयलाई लिएर उनले सामाजिक सञ्जालमा ‘भोलिदेखि महानगरपालिकाको गाडी रोकियो भने सिंहदरबार जलाइदिन्छु’ भन्ने चेतावनी दिएको पोस्टले पनि देशव्यापी बहस निम्त्याएको थियो।

उक्त अभिव्यक्तिलाई लिएर तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा राजनीतिक तहमा छलफलसमेत भएको थियो। यता पछिल्लो राजनीतिक समीकरणले भने अर्को रोचक मोड लिएको छ। केही महिनाअघि विभिन्न राजनीतिक दल र नेताहरूमाथि तीव्र आलोचना गर्ने अभिव्यक्ति दिएका उनी पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका छन्।

पार्टीभित्रैबाट उनलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारिएको छ। तर, सामाजिक सञ्जालमा भाइरल भएका पुराना पोस्टहरूले उनको राजनीतिक व्यक्तित्व र सार्वजनिक छविबारे नयाँ प्रश्नहरू खडा गरेका छन्।

यसबीच निर्वाचनको मौन अवधि सुरु भइसकेको अवस्थामा पुराना विषयहरू बाहिर ल्याइएको भन्दै कतिपयले यसलाई राजनीतिक उद्देश्यले उछालिएको आरोप लगाएका छन्। तर, सार्वजनिक जीवनमा प्रवेश गरेको व्यक्तिको अतीत र अभिव्यक्तिमाथि नागरिकले प्रश्न उठाउनु स्वाभाविक प्रक्रिया भएको तर्क पनि उतिकै बलियो रूपमा उठिरहेको छ।

विश्लेषकहरूका अनुसार सामाजिक सञ्जालमा व्यक्त गरिएका विचारहरू अहिलेका राजनीतिक दाबी र जिम्मेवारीसँग मेल खान्छन् कि खाँदैनन् भन्ने प्रश्न उठ्नु लोकतान्त्रिक समाजको स्वाभाविक अभ्यास हो।

त्यसैले अहिले उठेका प्रश्नहरूबारे स्वयं बालेन्द्रले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने माग पनि बढ्दै गएको छ। यदि ती पोस्टहरू नक्कली वा गलत सन्दर्भमा प्रयोग गरिएको हो भने सम्बन्धित निकायमार्फत छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनु आवश्यक रहेको मत पनि व्यक्त भइरहेको छ।

नगर प्रमुखको जिम्मेवारी सम्हालिसकेको र राष्ट्रिय नेतृत्वको दाबी गर्ने व्यक्तिबारे उठेका शंका–आशंकाहरूलाई स्पष्ट पार्नु राजनीतिक पारदर्शिता र सार्वजनिक उत्तरदायित्वका लागि महत्वपूर्ण मानिन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट