रुकुम पूर्वको सिस्ने गाउँपालिकाकी २३ वर्षीया कार्यालय सहयोगी कोठामा मृत फेला

राजधानी– रुकुम पूर्वको सिस्ने गाउँपालिकामा कार्यरत एक कार्यालय सहयोगी आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्।
सिस्ने गाउँपालिका–६, खोपिचार घर भएकी २३ वर्षीया कोइली शाही शनिबार बिहान सिस्ने–५ स्थित डेरामा झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन।
जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी उमाशंकर प्रशाद यादवका अनुसार शाही गाउँपालिका कार्यालयमा कार्यालय सहयोगीको रूपमा कार्यरत थिइन्।
डीएसपी यादवका अनुसार मृतक शाहीले शनिबार बिहान महिला साथीहरूसँग घुम्न जाने योजना बनाएकी थिइन्। तर, फोन सम्पर्क गर्न खोज्दा नउठेपछि चिनजानका व्यक्तिहरूलाई खबर गरेर कोठा जाँच्न आग्रह गरिएको थियो।
स्थानीयले कोठामा बोलाउँदा पनि कुनै प्रतिक्रिया नआएपछि प्रहरीलाई खबर गरियो। त्यसपछि प्रहरीले ढोका फोरेर हेर्दा शाही झुण्डिएको अवस्थामा भेटिएकी हुन। उनको मृत्युको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।