विराटनगरको बाल सुधार गृहमा सुर्ती सेवन गरको जाँच गर्न गएका प्रहरी हबल्दारले कुटाई खाए

विराटनगर– मोरङको विराटनगरस्थित बाल सुधार गृहमा बुधबार केही बालबालिकाले सुर्ती सेवन गरेको आशंकामा जाँच गर्न पुगेका प्रहरी र बालबालिकाबीच झडप भएको छ। झडपका क्रममा एक वरिष्ठ हवलदार घाइते भएका छन्।
घाइतेलाई तत्काल उपचारका लागि कोशी अस्पताल लगिएको छ। सुधारगृह प्रमुख गायत्रीप्रसाद ढकालका अनुसार, प्रहरीले जाँच सुरु गर्दा केही बालबालिकाले विरोध जनाएपछि सुरु भएको विवाद झडपमा परिणत भएको हो। घटनापछि सुधार गृहमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
सुरक्षा अवस्था नियन्त्रणमा राख्न चारवटै सुरक्षा निकायका प्रमुख घटनास्थल पुगेका छन्। सुधार गृह प्रशासनले १८ वर्ष नाघेका केही युवाहरूले वातावरण बिगारेको आरोप लगाएको छ। ५० जनाको क्षमत रहेकोसुधार गृहमा हाल १२ देखि ३२ वर्ष उमेर समूहका २४९ जना छन्।
अत्याधिक चापका कारण व्यवस्थापनमा थप चुनौती सिर्जना भएको कर्मचारीहरु बताउँछन्। झडपको क्रममा केही बालबालिका भागेको अनुमान गरिएको छ। तर, मोरङका सीडीओ इन्द्रदेव यादवले सबै २४९ बालबालिका सुधार गृहमा उपस्थित रहेको पुष्टि गरेका छन्।
प्रहरीले घटनाको विस्तृत अनुसन्धान गर्दै थप कारबाही अघि बढाइरहेको जनाएको छ।