कुवेतमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या ११ पुग्यो, ४० जना उपचाररत

राजधानी— खाडी मुलुक कुवेतमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या ११ पुगेको छ। कुवेतस्थित नेपाली दूतावासका अनुसार पछिल्ला चार दिनमै ११ जना नेपाली श्रमिकको ज्यान गएको हो। बरामी अवस्थाका ४० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
कुवेतको साल्मिया क्षेत्रमा रहेका नेपाली, भारतीयलगायत विभिन्न मुलुकका श्रमिकहरूले उक्त मदिरा सेवन गरेको पाइएको छ। कुवेतको स्वास्थ्य मन्त्रालयले मिथानोलयुक्त मदिरा सेवनका कारण विभिन्न मुलुकका २३ श्रमिकको मृत्यु भएको र १ सय ६० जना बिरामी परेको जनाएको छ। मिथानोल औद्योगिक रसायन हो तर यसलाई अवैध रूपमा मदिरामा प्रयोग गरिएको थियो।
मन्त्रालयले पीडित सबै एसियाली मुलुकका श्रमिक रहेको जनाएको छ। अघिल्लो शनिबारदेखि एकपछि अर्को श्रमिक बिरामी पर्न थालेपछि अस्पतालमा भर्ना हुनेहरूको संख्या बढ्दै गएको र अहिले ३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। ५१ जनालाई आपत्कालीन मृगौला डायलसिस गरिएको छ। केही आकस्मिक रूपमा अन्धोपनको सिकार भएको पनि जनाइएको छ।
घटनापछि कुवेतको लागूऔषध नियन्त्रण केन्द्र, प्रहरी र सुरक्षा निकाय सक्रिय भएका छन्। विषाक्त मदिरा कहाँबाट आपूर्ति भयो भन्नेबारे अनुसन्धान भइरहेको कुवेत सरकारले जनाएको छ। नेपाली दूतावासका श्रम सहचारी गिरिप्रसाद आचार्यले अस्पतालमा उपचारका लागि पुग्ने नेपालीहरूको संख्या बढ्दै गएको छ।
कुवेतमा करिब १ लाख ६० हजार नेपाली श्रमिक कार्यरत छन्। तर, मदिरा सेवन तथा बिक्री वितरणमा कडा प्रतिबन्ध रहेकाले अवैध कारोबारमा संलग्न हुनेहरू पक्राउ र जेल सजाय भोग्दै आएका छन्।