सिरहामा जातीय विभेदका कारण ‘जग्गा कब्जा’ को आरोप लगाएर डोम परिवारमाथि निर्घात कुटपिट

लहान — सिरहाको सुखीपुर नगरपालिका–१०, विश्वकर्मा चोकमा बसोबास गर्ने डोम समुदायकी ५० वर्षीया सुमित्रा मल्लिक र उनको परिवारमाथि बुधबार जातकै कारण निर्घात कुटपिट भएको छ। सुमित्रा स्थानीय क्लिनिकमा उपचाररत छिन्।

सुमित्राका ज्वाइँ संजय मल्लिक सामान्य घाइते भएका छन्। डोम परिवारका अनुसार, घर अगाडिको झाडी सफा गर्न खोज्दा ‘जग्गा कब्जा गर्न खोजेको’ आरोप लगाउँदै छिमेकीहरूले उनीहरूलाई कुटपिट गरेका हुन।

सहदेव महतो, सुकदेव महतो, नागेन्द्र महतो, दुखरन महतो, रिना महतो, श्यामसुन्दर महतोलगायतले कुटपिट गर्दा सुमित्रा गम्भीर घाइते भएकी छन् भने ज्वाइँ संजय प्राथमिक उपचारपछि घर फर्केका छन्।

डोम परिवार १५ वर्षअघि गोलबजार नगरपालिका–१३ दुर्गापुरबाट गागन खोला किनारको सार्वजनिक जग्गामा बस्न आएका थिए। गणपति मल्लिकका अनुसार, उनीहरु त्यहाँ आएपछि आसपास घरहरू बढ्न थाले। तर, पछिल्लो समय छिमेकीहरूले सात–आठ वर्षदेखि लगातार धम्की, अपमान र दुव्र्यवहार गर्दै आएका छन्।

‘हामीलाई एकाबिहानै डोमको मुख हेरेर दिन बिग्रियो भनेर गाली गर्छन्, कहिले देउता बिग्रियो भनेर गाली गर्छन्, कहिले यिनीहरू गन्हाउँछन् भनेर अपमान गर्छन्,’– गणपति भन्छन्।

चार वर्षअघि आफनो खोरमा भएका १८ वटा सुँगुर मारिदिएको उनी सम्झन्छन्। घरमा कोही नभएका बेला विष खुवाएर सुँगुर मारिएको उनको आशंका छ। तर, कुरा गर्दा झगडा होला र झन समस्यामा परिएला भनेर उनले त्यो विषयलाई अगाडि बढाएनन्।

यति मात्रै होईन, विगत एक÷डेढ वर्ष देखि उनीहरुलाई छेउमै रहेको ट्युवेलबाट पानी पिउन रोक लगाएको छ। केही समय त आफुहरुले खोलाको पानी खाएर जिवन धानेको गणपति बताउँछन्।

सुखीपुर नगरपालिका–१० का वडाध्यक्ष देवनारायण यादवले पनि डोम परिवारमाथि पटक–पटक ज्यादति हुँदै आएको पुष्टि गर्दै भने, ‘डोम परिवारको घरतिर कहिले फोहोर पानी बगाइदिने, कहिले दुव्र्यवहार गर्ने काम भएको छ। यो एकदम गलत कार्य हो।’

छिमेकी दुखरन महतोले भने आरोप असत्य भएको दाबी गर्दै, सडकको जग्गा आफूहरूको निजी जग्गा भएको र डोम परिवारले कब्जा गरेको बताए।

यस विषयमा पीडित परिवारले बुधबार नै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन्। सिरहा प्रहरी प्रमुख एसपी अनन्तराम शर्माले भने, ‘उजुरी आएपछि घटनाबारे बुझ्ने काम भइरहेको छ। पुरानो विवाद देखिन्छ, हामी अनुसन्धान गर्दैछौँ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट