कुवेतमा विशाक्त मदिराले डम्बरको मृत्यु, खबर सुनेर श्रीमती तीन दिनमै बितिन् : तीन छोरी अनाथ

विराटनगर— धन कमाउन रोजगारी खोज्दै कुवेत गएका धनकुटाको महालक्ष्मी नगरपालिका–१ कटहरे सिप्रिङका डम्बरबहादुर मगरको विशाक्त मदिरा सेवनका कारण गत ४ भदौमा मृत्यु भयो। त्यो खबरले आहत बनेकी उनकी श्रीमती विद्या मगरले तीन दिन भित्रै प्राण त्यागिन, पति वियोगको पीडाले भदौ ७ गते उनको निधन भयो।

विद्याको त्यही दिन अन्त्यष्ठि गरियो भने डम्बरबहादुरको शव कुवेतबाट नेपाल ल्याउन १४ दिन लाग्यो। भदौ १८ गते डम्बरबहादुरको शव महालक्ष्मी–४ दमारस्थित अरुण नदी किनारमा ल्याइयो। बिहानैदेखि घाटमा ठूलो संख्यामा मलामी जम्मा भए। करिब दुई सयभन्दा बढी मानिस उपस्थित थिए, जुन संख्या त्यहाँका अन्त्येष्टिमा विरलै देखिन्छ।

शव ल्याइएपछि रुवाबासी चल्यो, नरुने कोही थिएन। महालक्ष्मी नगरपालिकाका रोजगार संयोजक गौरव कार्की भन्छन्, ‘कसैका आँखा ओभाना थिएनन्।’ दुई छोरीहरू १६ वर्षीया विपना र १५ वर्षीया सञ्जुले बाबुलाई दागबत्ती दिए। डम्बरबहादुर र विद्याका तीन छोरी छन—१६ वर्षीया विपना, १५ वर्षीया सञ्जु र २ वर्षीया सम्युक्ता।

जेठी र माइली छोरी धनकुटा सदरमुकामस्थित गोकुण्डेश्वर बालमन्दिरमा कक्षा १२ र ११ मा अध्ययनरत छन्। कान्छी सम्युक्ता आमासँगै गाउँमै हुर्किँदै थिइन्। तर, आमा–बाबु दुवै गुमाएपछि उनीहरू अहिले हजुरआमासँग घरमा बसिरहेका छन्।

यो पीडा यतिमा मात्रै सिमित छैन। तीन महिनाअघि मात्रै डम्बरबहादुरका बुवा हरिबहादुर मगरको पनि निधन भएको थियो। ६८ वर्षकी डम्बरकी आमा मसिनीमाया मगरलाई छोटो समयमा श्रीमान्, छोरा र बुहारी गुमाउनुपर्दा जीवनभरको पीडा थपिएको छ। वृद्धा अवस्थामा रहेकी उनले अहिले तीन नातिनीको अभिभावकत्व काँधमा बोकेकी छिन्।

जेठान गणेशबहादुरका अनुसार डम्बरबहादुरले जग्गा किन्दा ऋण लिएका थिए। छोरीहरूको पढाइ खर्च जुटाउन र ऋण तिर्न दोस्रो पटक विदेश गएका थिए। यसअघि उनले १० वर्ष साउदी र कतारमा बिताएका थिए। एक वर्ष घरमै बसेर पुनः २०८० सालमा विदेशिएका थिए। तर, सपना अधुरै रह्यो—विदेशमै ज्यान गयो।

बुवा–आमा दुवै गुमाएपछि छोरीहरूको भविष्य अन्धकार बनेको छ। भरणपोषण र पढाइमा समस्या भएपछि स्थानीयहरूले सामाजिक सञ्जालमार्फत सहयोग संकलन अभियान सुरु गरेका छन्। पन्ध्र वर्षीया माइली छोरी मञ्जु मगरको नाममा बैंक खाता खोलिएको छ। अहिले विभिन्न संघ–संस्था र व्यक्तिबाट सहयोग आउन थालेको जनाईएको छ।

महालक्ष्मी नगरपालिकाले छोरीहरूको पढाइ खर्च व्यहोर्ने घोषणा गरेको छ। तर, दैनिक जीवनयापन, हेरचाह र भविष्य सुरक्षित बनाउन थप सहयोग आवश्यक रहेको आफन्तहरूले बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट