मोरङमा पिकअप गाडीको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु

विराटनगर — मोरङको बूढीगंगा गाउँपालिका–४ पशुपति टोलमा पिकअप गाडीको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु भएको छ।
शुक्रबार दिउँसो दक्षिणबाट उत्तरतर्फ गइरहेको प्र १–०२–०२ च ४६६५ नम्बरको पिकअप गाडीले सडक पार गर्दै गरेका सबहरी पौडेलका छोरा शम्भु पौडेललाई ठक्कर दिएको मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालले जानकारी दिए।
ठक्करपछि गम्भीर घाइते भएका बालकलाई तत्काल विराट शिक्षण अस्पताल लगिएको थियो। तर अस्पताल पुगेलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
दुर्घटनामा संलग्न पिकअप गाडीका चालक, सुनसरीको दुहबी नगरपालिका–११ का २७ वर्षीय दीपनारायण ऋषिदेवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया