आकाशमै डाइभर्ट भएको जहाजले पोखरामा भड्कायो आन्दोलन, के चिन भाग्दै थिए ओली ?

पोखरा– देशभर जेनजी आन्दोलनले उग्र रूप लिँदै गएर ध्वंसात्मक गतिविधि भइरहेका बेला मंगलबार दिउँसो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा एक अनौठो अफवाह फैलियो—निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली चीन भाग्न लागेका छन्।
भदौ २३ गते सोमबार सरकारी दमनमा परी १९ जनाको ज्यान गएपछि मंगलबार बिहानैदेखि जेनजी आन्दोलन अझ आक्रामक भएको थियो। राजधानीसहित विभिन्न ठाउँमा सरकारी संरचना, नेतासँग जोडिएका व्यापारिक प्रतिष्ठानहरूमा आगजनी भइरहेका बेला काठमाडौंको आकाश कालो धुवाँले ढाकिएको थियो। त्यही अवस्थामा ल्हासाबाट ६५ जना यात्रु बोकेर आएको हिमालय एयरलाइन्सको जहाज दिउँसो १२ः३५ मा काठमाडौं अवतरण हुनुपर्नेमा आपतकालीन रूपमा पोखरा डाइभर्ट भयो।
जहाज पोखरा अवतरण गर्नेबित्तिकै ‘ओली राजीनामा दिएर पोखरामा छन् र यही बाटो चीन भाग्न लागेका छन्’ भन्ने हल्ला फैलियो। भारतका कतिपय सञ्चारमाध्यमले त ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएर दुबई हुँदै चीन भाग्न लागेको दाबी गर्दै समाचारसमेत छापे।
यो अफवाहले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र आसपासको सुरक्षा संयन्त्रमा तनाव चुलियो। केही युवाहरू विमानस्थलसम्म पुगेर ‘प्रधानमन्त्री ओलीलाई कहाँ लुकाइएको हो?’ भन्दै चिच्याए। विमानस्थलमा आगो लगाउने योजना समेत भएको एक उच्च अधिकारीले बताए।
‘चीनले बनाइदिएको विमानस्थलबाट नेताहरू भाग्दैछन् भन्दै केही युवाले तोडफोड र आगजनी गर्ने तयारी गरेका थिए, तर सुरक्षा निकायले संयमता अपनाएपछि ठूलो क्षति हुन पाएन,’– सुरक्षा स्रोतले भन्यो।
त्रिभुवन विमानस्थलका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार, ‘काठमाडौंको स्थिति खराब भएकाले एयरपोर्ट बन्द थियो। त्यसैले जहाजलाई पोखरा डाइभर्ट गरिएको हो। प्रधानमन्त्रीसँग कुनै सम्बन्ध थिएन।’ दिउँसो १ः३७ मा पोखरा अवतरण गरेको जहाजका यात्रुलाई पाँच वटा होटलमा राखिएको र पछि त्रिभुवन विमानस्थल खुलेपछि काठमाडौं ल्याइएको थियो।
ओलीसँग जोडिएको निराधार हल्लाले यात्रुहरूको नामावलीसम्म सार्वजनिक गर्नुपरेको पोखरा विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए। तर, ओलीले राजीनामा दिएपछि उनको सुरक्षा नेपाली सेनाले गरिरहेको छ। ओली सेनाको सुरक्षामा छन्। तर उनी कहाँ छन् भन्नेबारे आधिकारिक जानकारी सार्वजनिक नगरिएकाले विभिन्न अफवाह थप फैलिएको छ।