अध्यक्ष ओलीसँग टसल परिरहेका बेला उपाध्यक्ष विष्णु पौडेल पक्राउ, यस्तो छ कारण

काठमाडौँ— नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल पक्राउ परेका छन्। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा उनलाई पक्राउ गरिएको छ। गृह मन्त्रालय तथा सुरक्षा स्रोतहरूका अनुसार सोमबार सुर्खेतमा पार्टी कार्यक्रममा सहभागी भइरहेका बेला उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको हो।

प्रहरी स्रोतका अनुसार पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुरोधमा पक्राउ गरिएको हो। उनीमाथि गरिएको भनिएको सेयर कारोबार तथा केही सम्पत्तिको स्रोतबारे उठेका प्रश्नहरूलाई केन्द्रमा राखेर अनुसन्धान भइरहेको बताइएको छ। पक्राउपछि उनलाई सुर्खेतस्थित जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। आवश्यक प्रक्रिया पूरा गरी हवाई वा स्थलमार्गबाट काठमाडौँ ल्याउने तयारी भइरहेको सुरक्षा स्रोतले जनाएको छ।

पौडेल पार्टीको कार्यक्रमका लागि सुर्खेत पुगेका थिए। कार्यक्रमस्थलबाटै नियन्त्रणमा लिइएको खबर बाहिरिएसँगै एमाले वृत्तमा घटनाले व्यापक चर्चा पाएको छ। यद्यपि, अनुसन्धान निकायले औपचारिक रूपमा विस्तृत विवरण सार्वजनिक गरिसकेको छैन। पौडेलको पक्राउ केवल कानुनी विषयमा मात्र सीमित नभई एमालेभित्र पछिल्ला दिनमा तीव्र बनेको संगठनात्मक बहसका कारण पनि चर्चामा छ। पछिल्ला केही सातायता एमालेभित्र पार्टी पुनर्गठन, पुनर्संरचना र संगठनात्मक सुधारको विषय प्रमुख बहसको केन्द्रमा छ।

केही दिनअघि सम्पन्न पार्टी सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा कार्यशालामा अध्यक्ष केपी शर्मा ओलीले अहिले पार्टीलाई पुनर्गठनभन्दा एकताको आवश्यकता रहेको बताएका थिए। उनले समीक्षा र आत्ममूल्यांकन आवश्यक भए पनि आत्मभत्र्सना गर्ने प्रकारको बहस उचित नहुने धारणा राखेका थिए।

तर, त्यही मञ्चबाट उपाध्यक्ष पौडेलले पार्टी पुनर्गठन आवश्यक रहेको स्पष्ट संकेत दिएका थिए। त्यसको भोलिपल्ट कार्यशाला समापन गर्दै महासचिव शंकर पोखरेलले पनि पार्टी जीवनलाई पुनर्गठन र पुनव्र्यवस्थित गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।

पार्टीभित्रको यो बहसमा पौडेल र पोखरेल एउटै धारमा देखिएका थिए। चुनावी परिणामपछि पार्टी संगठन, जनसम्बन्ध र कार्यशैलीबारे व्यापक समीक्षा आवश्यक रहेको उनीहरूको धारणा रहँदै आएको छ। एमालेका केही नेताहरूका अनुसार निर्वाचनपछिको राजनीतिक सन्देशलाई आत्मसात नगरी पार्टीलाई पुनः जनतामाझ प्रभावकारी बनाउन कठिन हुने निष्कर्ष पार्टीभित्र बलियो बन्दै गएको छ।

एमालेको आठौं सचिवालय बैठकले समेत पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन गर्न पूर्वउपाध्यक्ष रामबहादुर थापा ‘बादल’को नेतृत्वमा १५ सदस्यीय कार्यदल गठन गरिसकेको छ। उक्त कार्यदललाई एक महिनाभित्र सुझाव प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।

कार्यशालाका क्रममा प्रदेशगत समूह छलफलमा सहभागी अधिकांश नेताहरूले पनि संगठन पुनर्गठन, जनतासँगको सम्बन्ध पुनस्र्थापना तथा पार्टीलाई नयाँ ढंगले पुनर्जीवित गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।

लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले पार्टी आन्दोलनलाई पुनर्गठन र पुनव्र्यवस्थित नगरी जनताको बीचमा प्रभावकारी रूपमा जान नसकिने धारणा राखेका थिए। मधेश प्रदेश अध्यक्ष चण्डेश्वर मण्डलले पनि पछिल्ला निर्वाचनमा पार्टीले भोगेको क्षतिको समीक्षा गर्दै नेतृत्वका केही अभिव्यक्तिले मधेशको भावनामा चोट पुगेको टिप्पणी गरेका थिए।

मधेश प्रदेशको प्रस्तुतीकरणमा अध्यक्ष ओलीको चुनावी अभियानताका व्यक्त अभिव्यक्ति तथा सचिव महेश बस्नेतसँग जोडिएका केही विवादास्पद टिप्पणीले पार्टीलाई चुनावी रूपमा असर पुर्‍याएको निष्कर्षसमेत प्रस्तुत गरिएको बताइएको छ।

यही पृष्ठभूमिमा पुनर्गठनको बहस चर्किरहेका बेला उपाध्यक्ष पौडेल पक्राउ परेका हुन्। पौडेल एमालेभित्र संगठन निर्माण, आर्थिक नीति र सरकार सञ्चालनका अनुभवका कारण प्रभावशाली नेताका रूपमा चिनिन्छन्। उनी पटक–पटक अर्थमन्त्री भइसकेका छन् भने पार्टीको नीति निर्माण तहमा समेत लामो समयदेखि सक्रिय रहँदै आएका छन्।

सम्पत्ति शुद्धीकरण अनुसन्धानको विषयले अब कुन रूप लिन्छ, आरोपको आधार के हो र अनुसन्धान कहाँ पुग्छ भन्ने कुरा आगामी दिनमा स्पष्ट हुनेछ। तर पार्टी पुनर्गठनको बहस उत्कर्षमा पुगेका बेला एमालेका एक प्रभावशाली उपाध्यक्षको पक्राउले पार्टीभित्रको राजनीतिक तरंगलाई अझ तीव्र बनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट