‘मासुभात’ भनेर एमाले कार्यकर्तालाई ट्रोल गर्ने रास्वपाको महाधिवेशनमा दैनिक ८ क्विन्टल मासु

राजविराज– ‘प्रतिक्षा गर मेरी मायालु, समयले मानिसलाई कहाँ कहाँ पुर्‍याउँछ…। कहिले हसाउँछ, कहिले रुवाउँछ… आँसु र हाँसोको संगम पनि गराउँछ…।’ वरिष्ठ गायक दीपक खरेलको स्वरमा सजिएको यो गीत केवल मर्मस्पर्शी रचना मात्रै होइन, समय, परिस्थिति र मानव जीवनको उतार–चढावलाई समेट्ने एउटा प्रतीकात्मक अभिव्यक्ति हो।

तर अहिले नेपाली राजनीतिमा यही गीतको भाव र व्यंग्यात्मक प्रतिध्वनि रास्वपाको ‘मासुभात’ विम्ब र वर्तमान अभ्याससँग जोडिएर चर्चामा आएको छ। फागुन २१ को प्रतिनिधि सभा निर्वाचनअघि झापाको क्षेत्र नं. ५ मा एमाले र रास्वपा कार्यकर्ताबीच भएको झडपको सुरुवात यही ‘मासुभात’ शब्दका कारण भएको थियो।

रास्वपा कार्यकर्ताले एमालेका समर्थकलाई ‘मासुभात खाने समूह’ भन्दै व्यंग्य गरेपछि सुरु भएको विवाद झडपमा परिणत भएको थियो। कार्यकर्ता मात्रै होईन, रास्वपाका सभापति रवि लामिछाने समेतले विभिन्न सार्वजनिक सभाबाट परम्परागत दलहरूलाई लक्षित गर्दै ‘मासुभातमा मतदाता किन्ने राजनीति’ भन्ने आरोप निरन्तर लगाउँदै आएका थिए।

फागुन ९ गते चितवन–२ मा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनेका थिए— ‘ए बाबा! मासुभातको पैसा, बाँड्न गएको पैसा उसको भए त सम्पत्ति घट्न पथ्र्यो नि। बढेको छ, हाम्रै पैसा हो, खाइदिने नि!’ उनको यो अभिव्यक्तिले समर्थकबाट हुटिङसमेत पाएको थियो। उनले थप भनेका थिए— ‘हाम्रो अस्पताल राम्रो नबनाएर ठगेको पैसा खाइदिनुस्, स्कुल नबनाएर लुटेको पैसा खाइदिनुस्, तर भोट घण्टीमा हालिदिनुस्।’

त्यतिबेला ‘मासुभात’ शब्द केवल राजनीतिक व्यंग्य मात्र थिएन, प्रतिस्पर्धी दलप्रति लक्षित एक गहिरो आलोचनात्मक विम्ब बनेको थियो। यही ‘मासुभात’ शब्दलाई रास्वपाले राजनीतिक आलोचना र व्यंग्यको सबैभन्दा शक्तिशाली औजार बनाएको थियो। तर कहिलेकाहीँ आफैले बनाएको विम्बले उसैलाई घेर्छ। रास्वपाको हकमा अहिले त्यही भइरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आज आफ्नै पहिलो महाधिवेशनको केन्द्रमा त्यही विम्बसँग आमनेसामने देखिन्छ।

चितवनमा आइतबारबाट सुरु भएको महाधिवेशनमा करिब चार हजार प्रतिनिधि सहभागी छन्। महाधिवेशन स्थलमै बिहान ७ बजेदेखि ब्रेकफास्ट, त्यसपछि बिहानको खानामा खसीको मासुभात, दिउँसो हल्का खाजा र बेलुकाको खाना सादा तर व्यवस्थित मेनु लागू गरिएको छ।

आयोजकका अनुसार दैनिक करिब ८ क्विन्टल खसीको मासु महाधिवेशनका लागि प्रयोग गरिएको छ। खानाको जिम्मा नारायणगढस्थित दियालो फुडल्याण्डलाई दिइएको छ। मेनु केवल मासुभातमा सीमित छैन। पनिर, च्याउ, मौसमी तरकारी, जिरा राइस, दाल, अचार, सलाद र दहीसहित करिब १० भन्दा बढी परिकार समेटिएका छन्।

बिहानदेखि बेलुकासम्मको यो व्यवस्थित खानपानलाई पार्टीले ‘स्ट्यान्डर्ड डेलिगेट्स क्याटरिङ’ भनेर व्याख्या गरे पनि राजनीतिक आलोचकहरूले यसलाई विगतका भाषण र विम्बसँग तुलना गर्न थालेका छन्। वर्षौँदेखि रास्वपाले परम्परागत दलहरूलाई ‘मासुभात’ भन्दै आलोचना गर्दै आएको थियो। चुनावी अभियानदेखि सार्वजनिक भाषणसम्म यो शब्द भ्रष्टाचार, मतदाता प्रभाव र पुरानो राजनीतिक संस्कृतिको प्रतीकका रूपमा प्रयोग गरिएको थियो।

समर्थकहरूले अन्य दलका कार्यकर्ता र मतदातालाई ‘झोले’ र ‘मासुभातका उपभोक्ता’ भन्दै ट्रोल गर्ने प्रवृत्ति थियो। तर अहिले आफ्नै महाधिवेशनमा त्यही ‘मासुभात’ प्रमुख परिकारका रूपमा देखिनु आफैंमा राजनीतिक व्यंग्य बनेको छ। आलोचकहरूका अनुसार, जसलाई विगतमा राजनीतिक विकृतिको प्रतीक भनिएको थियो, आज त्यही अभ्यास संगठनात्मक व्यवस्थापनका रूपमा संस्थागत देखिनु नै प्रश्नयोग्य विषय हो।

निर्वाचन अभियानदेखि महाधिवेशनसम्म आइपुग्दा ‘मासुभात’ अब केवल खाना होइन, राजनीतिक भाष्य बनेको छ— रास्वपाका लागि। यता, कसैका लागि व्यंग्य, कसैका लागि व्यवस्थापन, र धेरैका लागि असहज तुलना।

तर चितवनको महाधिवेशन हलमा प्लेटहरू भरिँदै गर्दा बाहिर भने एउटै प्रश्न सुनिन थालेको छ— ‘मासुभात’ केवल भोजनको रछ कि राजनैतीक दोहोरो चरित्र ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट