जेन–जी आन्दोलनः घरमा श्रीमती र छोरी पर्खिरहे, लहानका विजय प्रहरीको गोली लागेर सडकमै ढले

लहान— सिरहाको लहान नगरपालिका–१५ स्थित सिंगो ढोढना गाउँ अहिले शोकमा छ। काठमाडौंमा जेन–जी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका २७ वर्षीय विजय चौधरी यही गाउँका हरिप्रसाद चौधरीका कान्छा छोरा थिए।
विजय आफ्नी पत्नी र चार वर्षकी छोरीसहित ६ वर्षदेखि काठमाडौंस्थित पेप्सीकोलामा भाडामा बस्दै आएका थिए। सात वर्षअघि बिहे गरेका विजयले १२ कक्षासम्म शिक्षा प्राप्त गरेका थिए र काठमाडौंमा हाउसवायरिङको काम गर्दै आएका थिए।
मंगलबार साँझ काम सकेर उनी आफ्नो डेरातर्फ फर्किँदै थिए, तर नयाँ बानेश्वरमा भइरहेको जेन–जी आन्दोलनको भीड देखेपछि त्यहाँ रोकिए। सोही क्रममा गोली लागेर घाइते भएका विजयलाई सिभिल अस्पताल पु¥याइयो। तर, अस्पतालमा उनलाई मृत घोषणा गरिएको परिवारले जानकारी पाएको छ।
परिवारले घटनाको थप विवरण पाउन सकेको छैन। हरिप्रसादले भने, ‘मेरो छोरो कसरी घाइते भयो, कसले अस्पताल पु¥यायो, हामीलाई अहिलेसम्म थाहा छैन। घटना थाहा पाएपछि हामी काठमाडौं आएका छौं, तर छोराको मुख हेर्न पनि पाएका छैनौं।’
सामान्य आर्थिक अवस्थाका विजयको गाउँको घरमा उनका बुबा, आमा, दाजु र भाउजुसहित परिवार बस्दै आएका थिए। विजयको अकस्मात मृत्युले परिवारलाई विक्षिप्त बनाएको छ। उनकी आमा र पत्नी घरिघरि मुर्छा पर्न थालेको हरिप्रसादले बताए। ‘मैले त जसोतसो आफूलाई सम्हालेको छु, तर विजयकी आमा र बुहारी घरिघरि मुर्छा परिरहेका छन्।’
‘घटना भएको दिन बुहारी र नातिनी बजार जान उनलाई पर्खेर बसेका थिए, तर उनी सदाका लागि गयो’–हरिप्रसाद भक्कानिए।
विजयको मृत्युले छरछिमेकका मानिसहरूले शोकमा छन्। उनलाई मिलनसार र जिम्मेवार युवकका रूपमा सम्झन्छन्।