संविधान–संघीयता विरोधीसँग पार्टीका केही व्यक्ति मिलेपछि राजीनामा नदिने निर्णयमा पुगेँः मुख्यमन्त्री सिंह

जनकपुर — मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संविधान र संघीयता जोगाउन आफूले तत्काल राजीनामा नदिने स्पष्ट पारेका छन्।

संविधान दिवसको अवसरमा शुक्रबार प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले भने, ‘जेन–जी आन्दोलन पश्चात मुलुक संवेदनशील अवस्थामा पुगेको छ। यस्तो बेला संविधान र संघीयता विरोधी तत्वहरूले आन्दोलनमा घुसपैठ गरी आक्रमण गर्न खोजेका छन्। त्यसैले मैले पद नत्याग्ने निर्णय गरेको छु।’

आन्दोलनको सुरुवाती चरणमा आफूले सामाजिक सञ्जालमार्फत राजीनामा दिने घोषणा गरेपनि पार्टीभित्रैका केही व्यक्तिहरू संविधान र संघीयता विरोधीसँग मिलेको थाहा पाएपछि राजीनामा नदिने मनसाय बनाएको उनले बताए।

‘मधेस प्रदेश संघीयताको जननी हो। यस्तो विसम परिस्थितिमा म भागे भने इतिहासमा भगौडा मुख्यमन्त्रीको रूपमा चिनिनुपर्ने हुन्छ,’ उनले भने। सिंहले अब विश्वासको मत लिएर अघि बढ्ने तयारी गरेको बताए। ‘मलाई लाग्छ, अहिलेको अवस्थामा सरकार परिवर्तनको आवश्यकता छैन,’– उनले भने।

कार्यक्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र संघीयता बचाउन खेलेको भूमिकाको प्रशंसा गर्दै भविष्यमा जनताले आफ्नो कामको पनि त्यस्तै मूल्यांकन गर्ने विश्वास व्यक्त गरे।

सिंहलाई पार्टीले तीन दिने स्पष्टीकरण मागेको छ। मुख्यमन्त्री सिंहले भने, ‘केही व्यक्तिको उक्साहटमा पार्टीले स्पष्टीकरण सोध्यो। तर सत्य थाहा पाएपछि पार्टी नै मेरो अडानसँग सहमत हुनेछ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट