जलेको पैसामाथि सम्पत्ति शुद्धिकरणको नजरः देउवा–खड्का–प्रचण्डका घर अनुसन्धान दायरामा

काठमाडौँ — जेन–जी आन्दोलनका क्रममा आगजनीमा परेका नेताहरुका घरमा जलेको अवस्थामा भेटिएका भनिएका रकमले देशको राजनीतिक वृत्तमा ठूलो तरंग ल्याएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवा, निवर्तमान उर्जा मन्त्री दीपक खड्का र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सम्म सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको नजर पुगेको छ।

असोज ५ गते विभागको टोली बुढानीलकण्ठस्थित देउवा र खड्काको घर पुगेर मुचुल्का उठाउँदै जलेका नोटका टुक्रा र खरानी संकलन गरेको छ। विभागका एक अधिकारीका अनुसार फरेन्सिक परीक्षणपछि नोट सक्कली ठहरिए नेताहरु सीधै सम्पत्ति शुद्धिकरणको मुद्दामा तानिनेछन्।

आगजनीपछि सामाजिक सञ्जालमा देउवा निवासमा ‘सुरुङ खनेर पैसा लुकाइएको’ र ‘ठुलो परिमाणमा नेपाली तथा विदेशी मुद्रा जलेको’ भन्दै भिडियो र तस्बिरहरू भाइरल भए। यस्तै दृश्य खड्काको घरसँग पनि देखियो। यद्यपि देउवाको सचिवालयले २ असोजमा विज्ञप्ति जारी गर्दै यी दृश्यलाई कपोकल्पित, अतिरञ्जित र दूषित मनसायसहितको भ्रामक प्रचार भन्दै अस्वीकृत गरेको छ।

२४ भदौमा भएको आगजनीपछि तीन दिनभित्रै प्रहरीद्वारा बाहिरका व्यक्तिको प्रवेश रोकिनु र डेढ सातापछि मात्रै विभाग सक्रिय हुनु शंका पैदा गर्ने विषय बनेको छ। यसबीचमा महत्वपूर्ण प्रमाण मेटिने सम्भावनाबारे प्रश्न उठिरहेका छन्।

विभागका अधिकारीहरूका अनुसार सुरुवाती ‘स्क्रिनिङ’पछि नमुना संकलन गर्ने निर्णय भएको हो। अब ती नोट र खरानीलाई फरेन्सिक परीक्षणका लागि पठाइनेछ।

बुढानीलकण्ठपछि सम्पत्ति शुद्धिकरण विभागको टोली प्रचण्डको खुमलटारस्थित घरमा पुग्ने तयारीमा छ। दाहालको घरसमेत आगजनीमा परेपछि अहिले प्रहरी कडाइका साथ खटाइएको छ। विभागले त्यहाँबाट पनि नमुना संकलन गर्ने गरी तयारी पूरा गरेको अधिकारीहरूले जनाएका छन्।

राजनीतिक नेतृत्वलाई नै लक्षित गरी उठेको यो मुद्दाले सत्ता र विपक्षी दुवैलाई दबाबमा पारेको छ। एकातिर जलेको नोटलाई ‘भ्रामक प्रचार’ भन्दै खण्डन भइरहेको छ भने अर्कोतर्फ राज्यका प्रमुख अनुसन्धान निकायहरूले त्यसलाई गम्भीरतापूर्वक लिएर नमूना संकलन र अनुसन्धान अघि बढाएका छन्।

अब फरेन्सिक परीक्षणले ती खरानी र टुक्रा साँच्चिकै नोट हुन् वा होइन भन्ने निर्णायक प्रमाण दिनेछ। तर हालसम्मको घटनाक्रमले राजनीतिक विश्वासनीयता, सम्पत्ति आर्जनको स्रोत र जनतामाझको नैतिकताको प्रश्नलाई थप पेचिलो बनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट