राजविराज–काठमाडौँ हवाई भाडा ८ हजार २१०

काठमाडौँ — नेपाल नागरिक उड्डयन प्राधिकरणले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै आन्तरिक उडानको अधिकतम हवाई भाडादर सार्वजनिक गरेको छ।
प्राधिकरणले सार्वजनिक गरेको सूचीअनुसार राजविराज–काठमाडौँ मार्गमा अधिकतम भाडा ८ हजार २१० रुपैयाँ तोकिएको छ भने सबैभन्दा महँगो काठमाडौँ–धनगढी उडानको भाडा १७ हजार ५७९ रुपैयाँ निर्धारण गरिएको छ। त्यस्तै, सबैभन्दा सस्तो भाडा काठमाडौँ–सिमरा मार्गमा ३ हजार ९७८ रुपैयाँ तोकिएको छ।
पर्वको समयमा टिकटको अत्यधिक माग हुने, सहज रूपमा उपलब्ध नहुने र बढी मूल्यमा बिक्री हुन सक्ने आशंकालाई न्यूनीकरण गर्न प्राधिकरणले यो दर सार्वजनिक गरेको हो। यसअघिका वर्षमा आन्तरिक उडानमा कालोबजारी र टिकट अभावसम्बन्धी गुनासो बढेपछि यसपटक प्राधिकरणले तोकिएको भन्दा बढी भाडा असुल गर्ने कम्पनीलाई कारबाही गर्ने चेतावनीसमेत दिएको छ।
प्राधिकरणका अनुसार नेपाल सरकारबाट स्वीकृत दरभन्दा बढी रकम यात्रुबाट लिन पाइँदैन। यात्रुले पनि तोकिएको दरबारे जानकारी लिएर मात्रै टिकट किन्न आग्रह गरिएको छ।
विभिन्न मार्गका अधिकतम हवाई भाडा यसप्रकार छन्:
काठमाडौँ–विराटनगर: ९ हजार ७८५ रुपैयाँ
काठमाडौँ–भरतपुर: ४ हजार ६४३ रुपैयाँ
काठमाडौँ–भद्रपुर: १२ हजार ११२ रुपैयाँ
काठमाडौँ–जनकपुर: ५ हजार ४७० रुपैयाँ
काठमाडौँ–पोखरा: ६ हजार ६३५ रुपैयाँ
काठमाडौँ–नेपालगञ्ज: १३ हजार १०३ रुपैयाँ
काठमाडौँ–धनगढी: १७ हजार ५७९ रुपैयाँ
काठमाडौँ–सिमरा: ३ हजार ९७८ रुपैयाँ
काठमाडौँ–भैरहवा: ८ हजार ४६१ रुपैयाँ
काठमाडौँ–राजविराज: ८ हजार २१० रुपैयाँ
काठमाडौँ–सुर्खेत: ९ हजार ३० रुपैयाँ
काठमाडौँ–तुम्लिङटार: ७ हजार ६३० रुपैयाँ
प्राधिकरणले यात्रुलाई सजग रहन आग्रह गर्दै तोकिएको दरभन्दा बढी रकम असुल गर्ने वायु सेवा कम्पनी वा एजेन्टविरुद्ध तत्काल उजुरी दिन पनि अनुरोध गरेको छ।