विवाह गरेर भागेको जोडी खोज्दै पुगेको प्रहरीले मध्यरातमा युवकका मामालाई कुटेर टाउको फुटायो

चितवन — प्रेम विवाह गरी घरबाट भागेका युवायुवती खोज्दै पुगेको प्रहरीले मध्यरातमा चितवनको माडी नगरपालिका–२ का कालुराम मर्दनियाको घरभित्रै पसेर कुटपिट गरेको घट्नाले स्थानीयवासी आक्रोशित भएका छन्। घट्नाले तनावग्रस्त अवस्था निम्त्याएको छ। थारु समुदायले यसलाई ‘अनावश्यक प्रहरी हस्तक्षेप र ज्यादतीको घटना’ भन्दै कडा आपत्ति जनाएको छ।

असोज २२ गते राति इलाका प्रहरी कार्यालय माडीको टोली कालुरामको घरमा जबरजस्ती प्रवेश गरेर कुटपिट गरेको आरोप लागेको हो। घटनामा कालुराम घाइते भएका छन् भने उनको घरभित्र श्रीमतीसमेत कुटिएको थारु कल्याणकारीणी सभाले जनाएको छ।

सभाका सभापति शुक्रमिया महतोले आइतबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘रातको समयमा बिना अनुमति घरभित्र पस्ने, स्थानीयलाई लछारपछार गर्ने र परिवारका सदस्यमाथि हातपात गर्नु प्रहरीको नाङ्गो ज्यादती हो।’ उनले कुटपिटमा संलग्न प्रहरीमाथि कारबाहीको माग गरेका छन्।

घटना प्रेम विवाहसँग जोडिएको खुलेको छ। सोही दिन कालिका नगरपालिका घर भएका २६ वर्षीय युवक र भरतपुरकी २२ वर्षीया युवती प्रेम विवाह गरेर माडी पुगेका थिए। कालुराम नाताले युवकका मामा हुन। यता, युवतीकी आमाले छोरी बेपत्ता भएको उजुरी दिँदै प्रहरीलाई माडी पठाएकी थिइन्।

सुरुवाती चरणमा दुई जना प्रहरी मात्र गएकोमा, युवती नभएको थाहा पाएपछि थप प्रहरी बोलाएर घरभित्र पसेर कालुरामलाई नियन्त्रणमा लिइएको र कुटपिट गरिएको स्थानीयको आरोप छ। अहिले सार्वजनिक भिडियोमा सादा पोशाकका प्रहरीले कालुरामलाई अस्पताल लैजाँदै गर्दा समेत प्रहार गरिरहेको दृश्य देखिन्छ। कालुरामको टाउकोमा चोट लागेको जनाइएको छ।

प्रहरी प्रमुख एसपी गोविन्द पुरीले घटना भएको स्वीकार गर्दै भने, ‘मध्यरातमा प्रहरीबाट केही कमजोरी भएको हो।’ थारु कल्याणकारीणी सभाले भने यो केवल ‘कमजोरी’ नभई ‘राज्यसत्ता प्रयोगको गलत उदाहरण’ भएको दाबी गरेको छ। सभाका अनुसार, प्रहरीले घरभित्र पसेर कुटपिट गर्नु कानुनको दुरुपयोग हो।

भोलिपल्ट बिहान युवतीले प्रहरीसमक्ष बयान दिँदै ‘आफू प्रेम विवाह गरेर आएको’ बताइन्। त्यसपछि प्रहरीले जोडीलाई कागजी प्रक्रिया पूरा गरी छोडिदियो। तर, यसबीचमा अर्को विवाद उठ्यो — प्रहरीको सुनको सिक्री हराएको भन्दै कालुरामलाई २ लाख २२ हजार तिर्नुपर्ने भनिएको थारु समुदायको दाबी छ।

माडीका मेयर ताराकुमारी काजी महतोले भनिन्, ‘यो विषयमा संवादको अभावका कारण तनाव सिर्जना भएको हो। प्रहरी र समुदायबीचको अविश्वास घटाउन छलफल आवश्यक छ।’ मानवअधिकारकर्मीहरूले पनि यस घटनालाई ‘प्रहरी शक्तिको दुरुपयोग र व्यक्तिगत स्वतन्त्रतामाथिको हस्तक्षेप’ का रूपमा व्याख्या गरेका छन्।

मध्यरातको प्रहरी कार्यवाही, घरभित्रको कुटपिट र प्रेम विवाह जस्तो व्यक्तिगत मामिलामा अनावश्यक संलग्नताले राज्य संयन्त्रको व्यवहारमाथि गम्भीर प्रश्न उठाएको छ — प्रहरी समाजको सुरक्षाकर्मी नै हो ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट