जेन–जी आन्दोलनभित्र ‘कालो ज्याकेटको रहस्य’: टीओबीमार्फत फ्री तिब्बतको घुसपैठ

काठमाडौँ— भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको धुवाँ मेटिँदै गर्दा, त्यसको पछाडिका पात्र र उद्देश्यबारे नयाँ बहस शुरु भएको छ। आन्दोलनका बेला ‘कालो टिसर्ट र ज्याकेट’मा देखिएको टीओबी नामक समूहको उपस्थिति अहिले राजनीतिक भन्दा पनि भूराजनीतिक प्रश्नको विषय बनेको छ।

‘टिबेटन ओरिजिनल ब्लड’ लेखिएको प्रतीक र ड्रागन अंकित लोगोले यो आन्दोलन केवल आन्तरिक असन्तुष्टि होइन, कुनै गहिरो योजना वा प्रभावको हिस्सा त थिएन भन्ने शंका बलियो बनाएको छ। जेन–जी आन्दोलनलाई सडकबाट सिंहदरबारसम्म पु¥याउने भीडमा रोयल एन्फिल्डको साइलेन्सर पड्काउँदै, हातमा कालो झण्डा बोकेर अघि बढेको टीओबीकै संलग्नता थियो।

त्यो अक्षरको अर्थ के हो भन्नेबारे त्यतिबेला कोही निश्चित थिएन। तर आन्दोलन सकिएको महिनादिनपछि, यही अक्षर पछाडि लुकेको नाम ‘टिबेटन ओरिजिनल ब्लड’ भनेर उजागर भएपछि देशभरि नयाँ बहस सुरु भएको छ। आन्दोलनमा ती युवाहरूको उपस्थितिले प्रहरी मात्र होइन, सर्वसाधारणलाई पनि अचम्ममा पारेको थियो। उनीहरू आक्रामक शैलीमा नारा लगाउँदै सडकमा उत्रिएका थिए। समूहका अगुवा देखिएका तेन्जिन दावा लामाले अपशब्द प्रयोग गर्दै ‘चौकी जले जलोस, बाल मतलव छैन। चौकी जान तयार छु। तर, मलाई मेरो देश फिर्ता चाहियो।’ भन्दै नारा लगाएका थिए।

लगत्तै हातमा पेस्तोल देखिएको उनको भिडियो र फोटो सामाजिक सञ्जालमा भाइरल बनेपछि यो समूहमाथि अझै बढी प्रश्न उठ्यो। तेन्जिन बौद्ध क्षेत्रमै रहेको टीओबी ट्याटु स्टुडियोका सञ्चालक र कलाकार हुन्। उनले आफूलाई ‘टीओबी’ समूहको संस्थापक बताउँछन्। प्रहरी अनुसन्धानमा उनले टीओबीको अर्थ ‘द ओरिजिनल ब्रदर्स’ भएको दाबी गरे। तर, उनले टिवेटन ओरिजिनल ब्लड’ लेखिएको ज्याकेट किन लगाए भन्ने प्रश्नको उत्तर आएको छैन। अर्कोतर्फ, त्यही नाममा सन् २०१२ मा खुलेको एउटा फेसबुक ग्रुप भेटिएको छ— जसको नाम हो ‘द टिबेटन ओरिजिनल ब्लड’। त्यो ग्रुपमा ‘स्वतन्त्र तिब्बतका समर्थकहरूबीच विचार साट्ने मञ्च’ भनेर उल्लेख छ।

त्यसैले, प्रहरीसहित धेरै अनुसन्धानकर्ताहरूलाई शंका लागेको छ— के आन्दोलनमा देखिएको टीओबी समूह त्यही पुरानो फ्री तिब्बत समर्थक नेटवर्कको विस्तार हो ?

तेन्जिन दावाले भने यो सबैलाई संयोग मात्रै ठहर गरेका छन्। उनी भन्छन्, ‘हामी युवा, बाइकप्रेमी र सामाजिक सचेत नागरिक हौं। भ्रष्टाचार र बेथितिको विरोध गर्न सडकमा निस्केका हौं, कुनै विदेशी एजेन्डा बोकेका होइनौं।’ उनको दाबीका अनुसार टीओबी दुई वर्षदेखि सक्रिय एउटा स्वतःस्फूर्त युवा समूह हो, जसमा विभिन्न जात–धर्मका नेपाली युवाहरू छन्।

तर, आन्दोलनकै क्रममा समूहले लगाएको टिबेटन ओरिजिनल ब्लड लेखिएको ज्याकेट, त्यसमा ड्रागनको चित्र, बौद्ध क्षेत्रमा केन्द्रीकरण र फ्री तिब्बतसँग सम्बन्धित चिनारीहरूबारे उठेका प्रश्न सहजै टार्न सकिने देखिँदैनन्।

त्यसमाथि, समूहका सल्लाहकार सुरेन्द्र गुरुङ (हाकिम) ले पनि ‘टिबेटन ओरिजिनल ब्लड लेखिएको टिसर्ट सडकमा निस्कनु गल्ती भएको’ स्वीकार गरेका छन्। जेन–जी आन्दोलनपछि सार्वजनिक अनुसन्धानले देखाएको अर्को पक्ष यो हो — टिबेटन ओरिजिनल ब्लड नाममा सन् २०१२ मा फेसबुकमा बनेको ग्रुप अहिले निष्क्रिय भए पनि अझै पनि करिब १५ सय सदस्य छन्। ग्रुपको डिस्क्रिप्सनमा स्पष्ट लेखिएको छ ‘यो तिब्बतीहरू र स्वतन्त्र तिब्बतका समर्थकहरूबीच विचार साटासाट गर्ने फोरम हो।’

अर्कोतर्फ, टीओबी ब्लड नामको टिकटक अकाउन्ट पनि भेटिएको छ, जसमा जेन–जी आन्दोलनका फुटेजहरू राखिएका छन्। यी समानताले धेरैलाई यो समूह सडक प्रदर्शनमा विदेशी एजेन्डाको घुसपैठ हो कि भन्ने प्रश्न गर्न बाध्य बनाएको छ।

अर्कोतर्फ, जेन–जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई तिब्बती धर्मगुरु दलाई लामा र उनका सभामुख खेन्पो सोनाम तेन्फेलले बधाई दिएका थिए। नेपालका कुनै पनि प्रधानमन्त्रीलाई निर्वासित तिब्बत सरकारतर्फबाट पहिलोपटक यस्तो बधाई आएको हो — यही नै विवादको अर्को बिन्दु बनेको छ।

त्यसपछि, ‘हामी नेपाल’ नामक संस्थालाई ‘स्टुडेन्ट्स फर ए फ्री तिब्बत’ ले आफ्नो आधिकारिक शुभेच्छुक संस्था भनेको खुलासा भयो। त्यो संस्था जेन–जीका प्रतिनिधि सुदन गुरुङसँग जोडिएको छ। यता, नयाँ मन्त्री बन्ने चर्चा भएकी टासी ल्हान्जोम पनि फ्री तिब्बत अभियानसँग जोडिएर विवादमा परेकी छन्। यी घटनाक्रमहरूलाई धेरैले अमेरिकी–तिब्बत राजनीतिक प्रभावसँग जोडेर हेरेका छन्।

के यो ‘आन्दोलनको वैचारिक हाइज्याक’ थियो ?
सामाजिक सञ्जालमा फैलिएको चर्चाले देखाउँछ — जेन–जी आन्दोलन अब दुई तहमा व्याख्या भइरहेको छ। पहिलो, नागरिक असन्तुष्टि र भ्रष्टाचारविरुद्धको स्वतःस्फूर्त जनआन्दोलन। दोस्रो, त्यस आन्दोलनलाई उपयोग गरेर फ्री तिब्बत वा विदेशी प्रभाव प्रवेश गराउने प्रयत्न।

दुवै व्याख्यामा कुनै निष्कर्षमा पुग्नुअघि ठोस प्रमाण आवश्यक छ। तर, आन्दोलनमा देखिएको सांकेतिक भाषा, व्यक्तिहरूको पहिचान र पछिल्ला कूटनीतिक संकेतले प्रश्नचिह्न भने बाक्लिँदै गएका छन्।

जेन–जी आन्दोलनले नेपालमा युवाहरूको असन्तुष्टि र राजनीतिक अस्थिरताबारे स्पष्ट सन्देश दिएको छ। तर, त्यस आन्दोलनमा टीओबी जस्तो रहस्यमय समूहको उपस्थिति र त्यसले ल्याएको ‘विदेशी एजेन्डा’को शंका, नेपालको राष्ट्रिय स्वाधीनता र कूटनीतिक सन्तुलनमा ठुलो प्रश्न बनेको छ।

तिब्बत मुद्दाको संवेदनशीलता
नेपालको दृष्टिमा ‘तिब्बत’ मात्र भौगोलिक विषय होइन, यो विदेश नीति र राष्ट्रिय हितसँग प्रत्यक्ष जोडिएको संवेदनशील मुद्दा हो। नेपालले सन् १९५० यता ‘एक चीन नीति’ स्वीकार गर्दै आएको छ, जसले तिब्बतलाई चीनको भूभागका रूपमा मान्यता दिन्छ। यही कारणले नेपालमा ‘स्वतन्त्र तिब्बत’ नामक कुनै पनि अभियान वा प्रदर्शन कानुनतः प्रतिबन्धित छ।

चीन नेपालको प्रमुख आर्थिक साझेदार भएकाले पनि काठमाडौँका सरकारहरूले सधैं तिब्बती राजनीतिक गतिविधिप्रति शून्य सहिष्णुता देखाउँदै आएका छन्। त्यसैले, जेन–जी आन्दोलनमा ‘टिबेटन ओरिजिनल ब्लड’ नामको उपस्थिति देखिनु कूटनीतिक दृष्टिले पनि संवेदनशील बनेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट