बालेन्द्रले किसानलाई फोहोरी भन्दै कविता लेखेपछि हर्क साम्पाङको प्रतिक्रियाः फोहोर होइन, माटोको मान हो

काठमाडौँ— नेपालका दुई चर्चित मेयर काठमाडौँका बालेन्द्र साह र धरानका हर्क साम्पाङ राई फेसबुकमै विवादमा उत्रिएका छन्। यसपटक विवादको बीउ बालेन्द्रले लेखेको एउटा कविता बनेको छ, जसमा उनले ‘किसानझैँ फोहोर’ भन्ने रूपक प्रयोग गरेका थिए।

धरानका मेयर हर्क साम्पाङले त्यसै कविता प्रति प्रतिक्रिया दिँदै लेखे — ‘किसान झैँ फोहोर लेख्नुभन्दा बरु हर्क साम्पाङ झैँ फोहोर लेख्नु नि! माटोलाई फोहोर ठान्नेहरू विरुद्ध हामी आएका छौँ माटोको टीका लगाएर देश बचाउन!’

उनको यस प्रतिक्रियासँगै दुई मेयरबीचको मत भिन्नता पुनः सतहमा आएको छ। बालेन्द्रले सामाजिक सञ्जालमा लेखेका थिए— ‘सत्यको कुनै एउटा पहिचान हुँदैन। मिथ्याजस्तो ठूलो अभिमान हुँदैन। जलझैँ शीतल, फूलझैँ कोमल, सुन न पित्तल, किसानझैँ फोहर।’

यो कविताको अन्तिम पङ्क्ति ‘किसानझैँ फोहर’ ले धेरैको ध्यान खिच्यो। केहीले यसलाई प्रतीकात्मक अर्थमा लिए— ‘माटोसँग नजिक मानिस शुद्ध छ, तर समाजले फोहर ठान्छ।’ सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताले बालेनको कवितालाई ‘कलात्मक तर असावधानीपूर्ण’ भनेका छन्। एक प्रयोगकर्ताले लेखे— ‘कविता राम्रो हो, तर ‘किसानझैँ फोहर’ भन्ने शब्दले गाउँघरका परिश्रमी किसानको अपमान भयो।’

तर, धेरैले यसलाई किसानलाई तुच्छ देखाउने प्रयासका रूपमा व्याख्या गरे। बालेनको कविताप्रति हर्क साम्पाङले तीव्र असहमति जनाउँदै आफ्नो शैलीमा जवाफ दिएका छन्। उनले लेखेका छन् — ‘माटोलाई फोहर ठान्नेहरू विरुद्ध हामी आएका छौँ। माटोको टीका लगाएर देश बचाउन!’ उनको पोस्टसँगै हर्कका समर्थकहरूले सामाजिक सञ्जालमा ‘#माटोकोटीका’ र ‘#किसानकोमान’ जस्ता ह्यासट्याग ट्रेन्ड गर्न थालेका छन्।

एक सामाजिक सञ्जाल प्रयोगकर्ताले हर्कको बचाउमा लेखेका छन्। ‘देश किसानको पसिनाले चलेको हो। माटो र किसानलाई अपमान गर्नेलाई जवाफ दिन हर्क उठ्नु स्वाभाविक हो।’ तर बालेनका समर्थकहरूले भने यो विवादलाई ‘शब्दको गलत व्याख्या’ भनेका छन्। उनीहरूका अनुसार बालेनले ‘किसानझैँ फोहर’ भन्नुको अर्थ ‘साधारण तर सत्य र प्राकृतिक’ भन्ने हो।

साम्पाङले आफैं पनि किसान, ढुंगामाटो, र पानीजस्ता प्राकृतिक तत्वहरूलाई ‘देशको आत्मा’ मान्दै आएका छन्। उनले पछिल्ला दिनमा ‘धरानलाई हरियो बनाउने’ अभियानमा सहरभर वृक्षरोपण र जैविक उत्पादन प्रवद्र्धनका कार्य अघि बढाएका छन्।

अर्कोतर्फ, बालेन्द्र र हर्कबीच विवाद भएको यो पहिलो पटक होईन। खास गरी जेनजी आन्दोलनपछि उनिहरुको बीचमा स्पष्ट विभाजन देखिएको छ। हर्कले बालेन्द्रलाई विदेशीको इसारामा चलेको भुराजनीतिक गोटी भन्दै आलोचना गर्दै आएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट