विपिन जोशीको सन २०२३ को अन्त्य तिरै हत्या भएको पुष्टि

काठमाडौँ— हमासबाट बन्धक बनाइएका कञ्चनपुरका नेपाली युवा विपिन जोशी करिब दुई वर्षअघि नै मारिएको पुष्टि एको छ। इजरायली सैनिक अस्पतालमा गरिएको डीएनए परीक्षणले उनको मृत्यु सन् २०२३ को अन्त्यतिर भएको पुष्टि गरेको हो।
गत अक्टोबर ७, २०२३ मा इजरायलको किबुत्ज क्षेत्रमा हमासले गरेको आक्रमणमा १० जना नेपाली विद्यार्थी मारिएका थिए। त्यही क्रममा जोशीलाई हमासका लडाकुहरूले बन्धक बनाएर लगेका थिए। त्यसयता उनका परिवार र सम्बन्धित निकायलाई उनको अवस्था ज्ञात थिएन।
युद्धविराम पछि विपिनको शव हस्तान्तरण गरिएको छ। त्यसपछि अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (आईसीआरसी)ले सैनिक अस्पतालमा डीएनए परीक्षण गरी मृतकको पहिचान गरेको थियो। इजरायली दूतावासका स्रोतअनुसार, ‘हमासले हस्तान्तरण गरेको शव विपिन जोशीकै भएको डीएनए परीक्षणबाट पुष्टि भयो। उनको मृत्यु प्राकृतिक नभई हत्या नै भएको रिपोर्ट छ।’
विपिनको मृत्युको औपचारिक जानकारी नेपालका लागि इजरायली दूतावासले अहिलेसम्म सार्वजनिक गरेको छैन। परराष्ट्र मन्त्रालयका अधिकारीहरू पनि रिपोर्टको आधिकारिक सूचना पाएका छैनन्। स्रोतका अनुसार, प्रधानमन्त्री सुशीला कार्कीलाई औपचारिक जानकारी भएपछि रिपोर्ट सार्वजनिक गर्ने तयारी भइरहेको छ।
विपिन जोशी ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल पुगेका विद्यार्थी थिए। गाजाको सीमाप्रान्त एउटा कृषि फर्ममा कार्यरत उनका १७ जना सहकर्मीमध्ये १० जनाको हमासको आक्रमणमा मृत्यु भएको थियो। अन्य दुई जना सुरक्षित फर्किएका थिए। विपिनसँगै काम गरेका विद्यार्थीहरूका अनुसार उनले हमासले प्रहार गरेको ग्रिनेड फालेर उनिहरुलाई बचाएका थिए।
गत वर्ष नोभेम्बरमा इजरायली सेनाले फेला पारेको भिडिओमा जोशीलाई गाजास्थित अस्पतालभित्र लगिँदै गरेको देखाइएको थियो। त्यसपछि हमासले सार्वजनिक गरेको भिडिओमा उनले आफ्नो परिचय दिएका थिए। यसले परिवारलाई विपिन अझै जीवित रहेको आशा दिएको थियो।
हालै गरिएको डीएनए परीक्षणले विपिनको मृत्युलाई पुष्टि गरेको छ। आईडीएफले प्रारम्भिक चरणमै संकेत गरेको थियो कि विपिनको बन्धक अवस्थामा नै हत्या भएको हुन सक्छ। राष्ट्रिय विधिविज्ञान केन्द्रले पनि मृत्युको परिस्थितिबारे अध्ययन पूरा गरेर अन्तिम निष्कर्ष निकाल्ने तयारीमा छ।
परिवार, साथी र पूर्वराजदूत हनान गोदरले विपिनको युवा, ऊर्जावान् र क्षमतावान् व्यक्तित्वको स्मरण गर्दै उनलाई श्रद्धाञ्जलि व्यक्त गरेका छन्। गोदरले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्, ‘विपिन हामीमाझ छैनन्, आशाको दुई वर्ष अब समाप्त भएको छ। ऊ आफ्नो परिवार, समुदाय र देशका लागि केही राम्रो गर्न चाहन्थ्यो।’
यो घटनाले नेपाली विद्यार्थीहरूको सुरक्षा, विदेशमा अध्ययन तथा कार्यरत अवस्थामा जोखिम, र अन्तर्राष्ट्रिय राजनीतिक अस्थिरताको संवेदनशील पक्षलाई उजागर गरेको छ। विपिनको मृत्युले परिवार र समुदायमा शोक मात्र होइन, भविष्यमा विदेशमा अध्ययन तथा कार्यरत विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न नीतिगत आवश्यकतालाई पनि जोड दिएको छ।