सीके राउतसँगको असफल भिडन्तपछि मधेशका मुख्यमन्त्रीको राजिनामा, भन्छन्– आफ्नै दलले इज्जत लुट्यो

जनकपुर— मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट राजिनामा दिएका छन्। प्रदेश सभाबाट आजै विस्वासको मत लिने तयारी गरेका उनले कतैबाट पनि समर्थन नजुट्ने अवस्था देखेपछि राजिनामाको अन्तिम विकल्प रोजेका हुन।

आफ्नै पार्टी जनमतले प्रपञ्च रचेको र सरकारमा सहभागी दलहरूले बचन फेरेको आरोप उनले लगाएका छन्। ‘म सत्ता र पदका लागि होइन, जनताका लागि काम गर्न चाहन्छु। जनताको हित र संविधानको रक्षाका लागि यहाँ उभिएको छु,’ उनले भने, ‘वर्तमान परिस्थितिमा मार्ग प्रशस्त गर्दै म मुख्यमन्त्रीको पदबाट राजीनामा गर्दछु।’

मुख्यमन्त्रीको पदबाट राजीनामा दिन तयार भए पनि पार्टीले आफूलाई बदनाम गराउन प्रपञ्चमाथि प्रपञ्च रचेको पनि उनको आरोप थियो। आफु यसअघि नै राजिनामा दिन तयार रहे पनि सरकारमा सहभागी र प्रतिपक्ष दलका सांसदले नै राजीनामा दिने अवस्था नरहेको भन्दै रोकेकाले आफू अडानमा बसेको उनको दावी छ। ‘अहिले तपाईंको राजीनामाले संघीयतामाथि खतरा आउन सक्छ। तपाईं राजीनामा नदिनुस्, नभए सबै जिम्मा तपाईंले लिनु पर्छ भनेका थिए। यस्तो भन्ने दलहरूले नै पछि बोली फेरे। म त छातीमा हात राखेर उक्त कुरा आत्ममन्थन गर्न आग्रह पनि गर्दछु।’– उनले भने।

जेनजीको आन्दोलन उत्कर्षमा पुगेपछि दबाब र जनप्रेमी देखिन सिंहले गत भदौ २४ गते फेसवुक मार्फत ‘राजीनामा दिने घोषणा’ गरेका थिए। त्यसपछि प्रदेश सरकारमा उथलपुथल सुरु भएको थियो। सोही विवाद अहिले राजनीतिक आत्मरक्षाको तहमा पुगेको हो। सिंह २५ जेठ २०८२ मा एमाले–माओवादीसहित ६ दलको समर्थनमा मुख्यमन्त्री बनेका थिए। त्यो बेला उनी जनमत पार्टीका अध्यक्ष सीके राउतका सबैभन्दा नजिकका, राजनीतिक रूपमा प्रिय र भरोसिला नेता थिए। राउतले संसदीय दलका तत्कालीन नेता महेश यादवलाई छोडेर सिंहलाई मुख्यमन्त्रीका लागि अघि सारेका थिए।

तर, जानकारहरु भने यसलाई फरक तरिकाले ब्याख्या गर्छन। मधेशमा यादव समुदाय मुखरित छ। राजनीतिमा उनिहरु अलि वढि हावी छन्। यो अवस्थाको (यादवको दबदबा) अन्त्य गर्नुपर्छ भन्ने मानसिक्ताबाट प्रेरित भएर त्यस वेला राउतले सिंहलाई च्यापेका थिए। तर, समयसँगै दुई बीचको विश्वास शंका र विभाजनको तहमा पुगेको विश्लेषकहरु वताउँछन्।

‘यो कुनै विचार, वाद र सिद्धान्तको सम्वन्ध थिएन। पद र स्वार्थसँग जोडिएको सम्वन्ध हो। सिंह आफैं रातारात अर्को दल छोडेर सांसद वन्न जनमतमा आएका हुन’ विश्लेषकहरु भन्छन्–‘विचार र शिद्धान्त विहिन सम्वन्ध ब्यक्तिको स्वार्थ वाझिएपछि अन्त्य हुनु स्वभाविक हो।’

केन्द्र सरकारमा सत्ता समीकरण फेरिएपछि मधेसमा पनि राजनीतिक असन्तुलन सुरु भयो। जेन–जी आन्दोलनपछि देशभरि बनेको राजनीतिक ध्रुवीकरणको असर जनमत पार्टीभित्र समेत पर्‍यो। पार्टी अध्यक्ष सीके राउतले सिंहलाई ‘राजीनामा गर्न’ निर्देशन दिए। सिंहले पनि तत्काल सामाजिक सञ्जालमार्फत राजीनामा दिने घोषणा गरे। तर, उनले औपचारिक रुपमा लिखित राजिनामा भने दिएनन्।

त्यसपछि परिस्थितिले अनौठो मोड लियो। सिंहको भनाइअनुसार, उनले भदौ २४ मा राजीनामा पत्र लेखेर प्रदेश प्रमुखलाई पठाउन तयार पारे पनि त्यो बुझाउन सकेनन्। बरु उनी पार्टीमै विद्रोह गर्ने तयारीमा पुगे। सोही विद्रोह विश्वासको मत लिने अवस्थासम्म आयो। तर, अंक गणितले साथ नदिएपछि उनी राजिनामा दिन वाध्य भएको कतिपय प्रदेश सभा सदस्यहरु वताउँछन्।

यद्यपी, उनको आफनै गुनासो छ। आफुले राजीनामा दिने तयारी गरेपनि पार्टीभित्रैबाट आफु विरुद्ध षडयन्त्र भएको उनी वताउँछन्। जनमतका संसदीय दलका नेता महेश यादवले बिना बैठक, बिना छलफल, २४ घण्टाभित्र राजीनामा दिनुपर्ने पत्र काटेपछि यो अवस्था आएको उनको गुनासो छ। सिंह भन्छन् — ‘दलको नेताले बैठक नै नबसी, मलाई कुनै जानकारी नदिई समर्थन फिर्ता गर्ने निर्णय गरे। यसरी मेरो चरित्रहत्या गरिएको छ।’ उनी थप्छन्, ‘राजीनामा बुझाउने तयारीमै हुँदा पार्टीले ‘हटाइसक्यों’ भन्दै सामाजिक सञ्जालमा पत्र सार्वजनिक गरियो। यसरी मेरो इज्जत लुटियो।’

यही घटनाले सिंह र राउतबीचको सम्बन्ध एकदमै बिगार्‍यो। राउतले सिंहलाई भेट्नै अस्वीकार गरे। ‘पहिले राजीनामा बुझाएर मात्रै आउनुस्’ भन्ने सन्देशपछि प्रतिकारको बाटो रोजेको सिंह वताउँछन्। उनी भन्छन्, ‘पार्टीले मलाई बुझ्न खोजेन, बोल्न दिएन।’

सभामुख रामचन्द्र मण्डलले उनलाई विश्वासको मत नलिएको हुनाले प्रदेश प्रमुखसमक्ष लिखित राजीनामा दिन निर्देशन दिएका छन्। नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम प्रदेशसभा कार्यसञ्चालन नियमावली २०७५ को नियम १४३ को उपनियम (४) बमोजिम राजीनामाको घोषणा गरेकाले अब विश्वासको मतको प्रक्रियामा जानु नपर्ने सभामुखले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट