महाराजगञ्जमा प्रदर्शनकारीले नै गोली चलाएको भिडियो सार्वजनिक, ‘शान्तिपूर्ण आन्दोलन’ को दाबीमाथि प्रश्न

काठमाडौँ — सामाजिक सञ्जालमा अहिले ‘जेन–जी आन्दोलनका क्रममा खिचिएको’ भनिएको एउटा भीडीओ बहसको विषय बनेको छ। भीडीओमा प्रदर्शनकारीले नै गोली हानेको देखिन्छ। यसले ‘शान्तिपूर्ण’ र ‘स्वतःस्फूर्त’ भनिएको आन्दोलन प्रति गम्भीर प्रश्न उठेको छ।
भ्रष्टाचार अन्त्य र सुशासन स्थापनाको नाममा गत भदौ २३ गते सुरु भएको प्रदर्शन हिंसात्मक बनेर १९ जनाको ज्यान गएको घटनापछि यो भिडियोले नयाँ मोड ल्याएको छ। सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोमा टाउकोमा हेल्मेट र मुखमा मास्क लगाएका व्यक्तिले प्रहरी वृत्त महाराजगञ्ज अगाडि स्वचालित मेशिनगनले गोली चलाइरहेको देखिन्छ।
भिडियोमा देखिएको मेशिनगन प्रहरी वृत्तमा भएको आगजनीपछि लुटिएको बताइएको छ। यसअघि प्रदर्शनकारीले देशभर सरकारी निकाय, प्रहरी चौकी, र कार्यालयमा आगो लगाएका थिए। तर यो भिडियोले आन्दोलनका नाममा योजनाबद्ध सशस्त्र गतिविधि पनि भएको प्रमाण प्रस्तुत गरेको टिप्पणीहरू सामाजिक सञ्जालमा फैलिएका छन्।
भिडियो सार्वजनिक भएपछि ती व्यक्तिको पहिचान र पक्राउको माग बढेको छ। भिडियो पोस्ट गर्ने शरोजकुमार रेग्मीले लेखेका छन्, ‘महाराजगञ्ज प्रहरी वृत्त अगाडि यसरी स्वचालित मेशिनगन फायर गर्ने व्यक्ति को हो ? कानुनी दायरामा ल्याउनुस् गृहमन्त्रीज्यू।’ उनले थप लेखेका छन्, ‘सत्य तथ्य बाहिर ल्याउन किन बन्देज लगाइँदैछ ?’
सो भिडियोमाथि सर्वसाधारण र राजनीतिक व्यक्तिहरूबीच चर्को बहस चलेको छ। केहीले यसलाई ‘आन्दोलनमा घुसपैठ गरेका आतंककारीहरू’को काम भनेका छन् भने केहीले सरकारकै असक्षम भन्दै नेतृत्वलाई दोष दिएका छन्।
सामाजिक सञ्जाल प्रयोगकर्ता खिमेन्द्र भाविरामले लेखेका छन्, ‘यो आतंककारी घटना रहेछ, यसलाई जेन–जी आन्दोलन नभनी आतंककारी विद्रोह भन्नुपर्छ।’ अमृत ओलीले भने प्रश्न गरेका छन्, ‘बालेनको गृहमन्त्रीले के गर्छन् अब ? ती सुटरलाई कारबाही हुन्छ कि हुँदैन ?’
यता रविन्स चाम्सले लेखेका छन्, ‘यो आतंककारीको पहिचान गरी तुरुन्त कारबाही गरियोस्।’ त्यस्तै पुष्कर शर्म जमरकट्टेलले भने, ‘राज्यसत्ता कमजोर देखाउन घुसपैठ गरेका व्यक्तिहरूले यस्तो फायरिङ गरेका हुन्, गोलीबाट मारिएका मध्ये धेरैजना यिनकै हातबाट मारिएका हुन्, प्रहरीको गोलीले होइन।’
भिडियो भाइरल भएसँगै जेन–जी आन्दोलनको स्वरूप र उद्देश्यबारे नयाँ प्रश्न उठेका छन— के त्यो वास्तवमै भ्रष्टाचारविरोधी जनआन्दोलन थियो, वा राजनीतिक प्रतिशोध र अराजकताको योजनाबद्ध प्रयोग ?
गृहमन्त्री ओमप्रकाश अर्याल नेतृत्वको गृह मन्त्रालयले अहिलेसम्म यसबारे औपचारिक प्रतिक्रिया दिएको छैन। तर आलोचकहरूका अनुसार, यदि भिडियो प्रमाणिक ठहरियो भने यसले आन्दोलनको राजनीतिक व्याख्या नै उल्ट्याउनेछ।
देशभित्रको शान्ति–सुरक्षा अवस्था अझै सामान्य हुन नसकेको बेला यस्तो दृश्य सार्वजनिक हुनु, प्रहरीमाथिको आक्रमण मात्र होइन, कानुनी शासन र राज्य संयन्त्रमाथिको सीधा चुनौतीका रूपमा हेरिएको छ।
@sheershakhabarnews.com महाराजगञ्जमा प्रदर्शनकारीले चलाएको भनिएको भिडिओले बहस