सिरहामा छोराछोरीबीचको विवादमा बाबुआमाले मच्चाए रक्तपातः पूर्ववडाध्यक्षसहित चार पक्राउ

लहान— सिरहाको मिर्चैया नगरपालिका–३ स्थित छड्की टोलमा आइतबार राति सामान्य झगडाले भयावह रुप लिएको छ। छोराछोरीबीचको विवादमा बुबाआमा मिसिएर काटकाट गरेपछि गाउँ नै तनाबग्रस्त बनेको छ।

झडपमा धारिलो हतियार लागेर ४ जना गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार, राति करिब पौने ८ बजे मिर्चैया–३ का ६० वर्षीय शिवनन्दन यादव, उनकी श्रीमती ५७ वर्षीया दुर्गी देवी यादव, ४२ वर्षीय छोरा जमाहिर यादव र ३७ वर्षीया बुहारी रिता यादवमाथि आक्रमण भएको हो। उनीहरूको घरमा पुगेको करिब १५–२० जनाको समूहले खुकुरी, रड र भाटा जस्ता धारिला वस्तु प्रयोग गरी हमला गरेको बताइएको छ।

घटनामा गम्भीर घाइते भएकी रितालाई जनकपुरस्थित अस्पतालमा उपचारका लागि पठाइएको छ भने बाँकी तीन जनाको मिर्चैयामै उपचार भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका इन्स्पेक्टर सन्तोष बुढाथोकीले जनाएका छन्। उनका अनुसार पीडितहरूको शरीरका विभिन्न भागमा काटिएको र निलडाम परेको पाइएको छ।

आक्रमणमा संलग्न रहेको आरोपमा प्रहरीले मिर्चैया–३ का पूर्ववडाध्यक्ष हरिकुशियैत यादव, किशोर धुर्झार यादव, अशोक यादव र जगदीश धुर्झार यादवलाई नियन्त्रणमा लिएको छ। ती सबै नजिकैको सिसबोनी गाउँका बासिन्दा हुन्।

घटनापूर्व दुई पक्षका किशोरबीच विवाद र सामान्य धक्का–मुक्की भएको थिए। त्यसपछि दुवै पक्षका अभिभावकहरू घटनास्थलमा पुगेपछि विवाद चर्कँदै गएर हिंसात्मक रुप लिएको प्रारम्भिक विवरण प्रहरीले दिएको छ।

घटनामा प्रयोग भएका धारिलो हतियार आक्रमणमा संलग्न अरू व्यक्तिहरूको खोजी भइरहेको मिर्चैया प्रहरीले जनाएको छ। स्थानीय बासिन्दाले गाउँमा यति सानो विवादका कारण रगत बग्नु दुःखद भएको बताएका छन्। उनीहरूले प्रहरीलाई निष्पक्ष छानबिन र कडा कानूनी कारबाही गर्न आग्रह गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट