जेन–जी आन्दोलनको आडमा महाराजगञ्जमा असई रायको निर्मम हत्या गरी लाशमाथि पिसाब गरेर हिडेका २ जना पक्राउ

काठमाडौँ– २४ भदौको जेन–जी आन्दोलनको क्रममा काठमाडौँ महाराजगञ्ज वृत्तका असई मिलन रायको कुटीकुटी हत्या गरेको घटनामा सिन्धुपाल्चोकका होम पौडेल र उदयपुरका टीकाराम विकलाई पक्राउ गरिएको छ। हत्या अत्यन्त क्रूर ढंगले भएको र हत्या पश्चात मृत शरीरमा पिसाब पनि गरिएको प्रहरीले जनाएको छ।
२४ भदौ, मध्याह्न असई राय न्युरो अस्पताल पुगेका थिए। त्यहाँ एक व्यक्तिको मृत्यु भएको खबर आएपछि उनी मुचुल्का कार्य पूरा गरेर कार्यालय फर्किएका थिए। भीडले सरकारी भवन र प्रहरी कार्यालयमा तोडफोड र आगजनी गर्न थालेको थियो। त्यसै क्रममा उनलाई काका केशव रायले फोन पनि गरेका थिए। ‘मैले २ बजेतिर छोरा मिलनलाई फोन गरेको थिएँ। उसले भन्दै थियो– म सुरक्षित छु। सटरभित्र बसेको छु। त्यसको केहीबेरमा ऊ मरेको खबर पाएँ। उसलाई सडकमा घिसारेर, लात्तीले हानेर मारेको फोटो भिडियोमा देखिन्छ।’– उनले भने।
आन्दोलन भड्किँदै गएपछि हिरासतमा रहेका थुनुवालाई छाडिएको थियो। सो घटनापछि असई राय निशानामा परेका थिए। कार्यालयको ग्राउन्ड फ्लोर बाहिर कुर्सीमा बसेका रायमाथि जेन–जी आन्दोलनको भीडले आक्रमण गरेको थियो। प्रहरी वृत्त महाराजगन्ज काठमाडौंमा आगो लगाउने र प्रहरीलाई कुटपिट गर्ने समूहले उनलाई मारेको भन्दै काका केशवले जाहेरी दरखास्त पनि हालेका छन्।
हत्या आरोपमा पक्राउ परेका सिन्धुपाल्चोक निवासी ६२ वर्षीय होम पौडेल माओवादी युद्धकालीन पीडित थिए। युद्धको क्रममा दाहिने आँखा गुमाएका पौडेलले प्रहरी देख्नासाथ रिस उठ्ने भएकाले आक्रमण गरेको बताएका छन्। उनले भनेका छन्, ‘माओवादी भन्दै प्रहरीले बन्दुकको नालले हिर्काए। मेरो दाहिने आँखा फुट्यो, अहिले पनि त्यो आँखा देख्दिनँ।’
पौडेल २०६२ सालमा वैदेशिक रोजगारीका लागि मलेसिया गएर ०६५ सालमा फर्किएका थिए। हाल धुम्बाराहीमा आफ्नो भतिजोको किराना पसलमा काम गर्दै आएका थिए।
दोस्रो पक्राउ ब्यक्ति उदयपुरका २८ वर्षीय टीकाराम विक हुन। उनी नयाँबसपार्क बस काउन्टरमा काम गर्ने व्यक्ति हुन्। उनले अघिल्लो दिन विद्यार्थी मारिएको खबर सुनेर आक्रोशित भएर आन्दोलनमा सहभागी भएको र असई रायमाथि आक्रमण गरी घाइते बनाएर हिँडेको बताएका छन्।
पक्राउको अनुसन्धानले दुबै अभियुक्तको मोबाइल लोकेसनले घटनास्थलमा उनीहरू उपस्थित रहेको देखाएको छ। पौडेल १२ः४६ देखि १३ः५५ बजेसम्म धुम्बाराही–बुढानीलकण्ठ क्षेत्रमा देखिएका थिए। विक १२ः४६ बजे त्यही क्षेत्रमा देखिएका थिए भने १३ः००–१५ः०० नारायणगोपाल चोक, १७ः००–२१ः०० प्रगति टोल, नारायणगोपाल, धुम्बाराही र १८ः००–२१ः३७ बाँसबारी क्षेत्रमा देखिएका थिए।
हत्या अत्यन्त क्रूर ढंगले भएको थियो। पौडेलले रायको टाउकोमा काठको लौरोले प्रहार गरेका थिए र अनुहार क्षतविक्षिप्त भएको थियो। मृत शरीरमा पिसाब गरिएको थियो। हत्या गरिसकेपछि पनि भीड रोकिएको थिएन।
प्रहरी अनुसन्धानका आधारमा काठमाडौं जिल्ला अदालतमा दुबैविरुद्ध कर्तव्य ज्यान र आपराधिक उपद्रवको मुद्दा दर्ता गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले भने, ‘राय हत्यामा यी दुई जनाको मुख्य भूमिका देखिएको छ। अन्य व्यक्तिहरूको संलग्नता हुनसक्ने देखिएको छ।’
असई मिलन राय २०७४ सालमा प्रहरीमा भर्ती भएका थिए। प्रारम्भिक दरबन्दी इलाका प्रहरी कार्यालय रामेछापमा थियो। हाल उनी महाराजगञ्ज वृत्तमा कार्यरत थिए। २०८० सालको फागुन २१ गते मंगला श्रेष्ठसँग विवाह गरेका रायको श्रीमती हाल जापानमा वर्किङ भिसामा गएकी थिइन्। ३१ असोजमा प्रहरी प्रधान कार्यालयमा आयोजित प्रहरी दिवसमा रायलाई अमर शहीदको रूपमा सम्मान गरिएको थियो।
सिन्धुली, दुधौली–८, खोरभञ्ज्याङ घर भएका रायले डेढ वर्षमै बुबा गुमाए। ब्लड क्यान्सरका कारण बुबा बितेपछि आमाको रेखदेखमा हुर्किएका उनी एसएलसी गाउँबाटै उत्तीर्ण गरी काठमाडौं आए। यहाँ प्लस–टु पास गरेपछि प्रहरीमा भर्ना भएका थिए।
यस घटनाले जेन–जी आन्दोलनको आडमा सरकारी सुरक्षा बलमाथि भएको हिंसाको गंभीरता देखाएको छ। युद्धकालीन पीडित र साधारण नागरिकको हिंसात्मक सहभागिता, भीड नियन्त्रणको चुनौती र सार्वजनिक सुरक्षा माथि रहेको जोखिम यस घटनाले स्पष्ट पारेको छ।
लोकप्रिय
ताजा अपडेट

जेन–जीको आडमा अख्तियार प्रमुखहरुलाई राजिनामा दिन दबाब दिने समूहको नेतृत्व सुमना श्रेष्ठले गरेको खुलासा
