आफनो बचाउ गर्दै गंगा दाहालले दिईन प्रचण्डको सचिवालयबाट राजिनामा, गुची ब्याग साथीले दिएको

काठमाडौँ— पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालले पछिल्ला विवाद र मिडिया आलोचनाबीच पार्टी सचिवालयको जिम्मेवारीबाट राजीनामा दिएकी छन्।

उनले सामाजिक सञ्जाल फेसवुकमार्फत सार्वजनिक गरेको लामो सन्देशमा आफूविरुद्धको ‘भ्रामक समाचार र योजनाबद्ध प्रहार’ प्रति आक्रोश पोख्दै आफूलाई ‘बलिको बाख्रा बनाइएको’ आरोप लगाएकी छन्।

गंगाको सन्देशले केही महत्वपूर्ण पक्ष उजागर गरेको छ— पहिलो, माओवादीभित्रको पारिवारिक संरचना र शक्तिसन्तुलन, दोस्रो, पार्टी र नेतृत्वलाई बचाउन आफूलाई ‘निष्कपट सहयोगी’का रूपमा प्रस्तुत गर्ने प्रयास, र तेस्रो, मिडिया तथा जनमतप्रति असहिष्णु दृष्टिकोण।

उनले लेखेकी छन्, ‘भाइ प्रकाशको निधनपछि पार्टीको निर्णय अनुसार म बुबाको सचिवालयमा बसेँ। मम्मी बिरामी हुनुभएकोले हेरचाह पनि गरिरहेँ। म आफ्नो लागि होइन, पार्टीका लागि काम गरिरहेकी हुँ।’ तर सन्देशभरि गंगाले आफूविरुद्ध भएको ‘बेपर्वाह प्रचार’प्रति बढी आक्रोश देखाएकी छन्। ‘लाखको ब्याग र घडीको कुरा झूट हो। साथीले जन्मदिनमा दिएको उपहार थियो, त्यो पनि जलिसक्यो,’ उनको भनाइ छ।

तर, यहाँ प्रश्न उठ्छ—पार्टीमा भूमिकाको मापदण्ड ‘समर्पण’ हो कि ‘वंशज’रु गंगाको सन्देशले पनि अप्रत्यक्ष रूपमा स्वीकार गर्छ— माओवादी केन्द्रमा नेतृत्व वितरण अझै पनि पारिवारिक घेराभित्रै सीमित छ। उनले राजीनामा दिए पनि त्यो कुनै वैचारिक आत्ममूल्यांकन होइन, सार्वजनिक दबाब र बढ्दो आलोचनाको परिणाम हो।

उनले लेखेकी छन्, ‘मलाई देखाएर बुबा र पार्टीमाथि प्रहार भइरहेको छ।’ यो वाक्य नै सन्देशको केन्द्रबिन्दु हो— जहाँ उनले आफूलाई ‘सहायक पात्र’ होइन, ‘ढाल’को रूपमा चित्रण गरेकी छन्। तर, पार्टीको शीर्ष नेतृत्वमा बसेका व्यक्तिहरूका सन्तानले यस्ता भूमिकामा पुग्दा सार्वजनिक प्रश्न उठ्नु स्वाभाविक हो।

माओवादी आन्दोलनले पारिवारिक राजनीति अस्वीकार गर्दै राजसंस्था अन्त्य र गणतन्त्रको आवाज उठाएको थियो। तर आज त्यही पार्टीका संयोजकका छोरी, बुहारी, छोरा, नातिनी सबै राज्यको स्रोत उडाउनेमा कलंकित छन्। गंगाको राजीनामा सन्देशले त्यही विरोधाभासलाई पुनः सतहमा ल्याएको छ।

अन्त्यमा उनले लेखेकी छन्, ‘सचिवालयबाट हटे पनि म पार्टीमा आजीवन क्रियाशील रहन्छु।’ यो वाक्यले प्रष्ट पार्छ— उनले भूमिकाबाट मात्र हात झिकेकी छन्, शक्ति र प्रभावबाट होइन। माओवादीभित्र गंगाको उपस्थिति ‘राजीनामा’ पछि पनि रहिरहने निश्चित छ।

गंगाको सन्देशले सहानुभूति र पीडाको स्वर बोक्छ, तर त्यसले माओवादीको राजनीतिक संस्कृतिबारे उठाइएका गम्भीर प्रश्नहरू मेटाउँदैन। पारिवारिक राजनीति, जिम्मेवारी बाँडफाँट र सार्वजनिक उत्तरदायित्वका विषयमा यो विवादले माओवादी नेतृत्व फेरि एकपटक जनस्तरमा ‘विश्वसनीयता संकट’ भित्र परेको पुष्टि गर्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट